रवीन्द्र उप्रेती
बर्दीबास, मङ्सिर ९ गते । महोत्तरी जिल्लामा घटेका अलग–अलग हत्या घटनामा संलग्न भई फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरी कारबाहीको दायरामा ल्याएको छ ।
जिल्ला प्रहरीका अनुसार आफ्नै बुवाको हत्या गरी फरार रहेका महोत्तरी गाउँपालिका–३, मडैका २६ वर्षीय अजयकुमार ठाकुर घटनाको तीन महिनापछि पक्राउ परेका हुन् । प्रहरीको खोजी टोलीले ठाकुरलाई नेपाल–भारत सीमा नजिक जलेश्वर–१२, थरुवाहीबाट गए राति साढे ९ बजेतिर नियन्त्रणमा लिएको हो ।
गत भदौ २४ गते घरायसी विवाद तीव्र बनेपछि आवेशमा आएका अजयले ७० वर्षीय बुवा जोगेन्द्र ठाकुरमाथि घरेलु हतियार प्रहार गरेका थिए । गम्भीर घाइते जोगेन्द्रको सोही दिन अपराह्न ४ बजे उपचारका क्रममा मृत्यु भएपछि अजय फरार भएको प्रहरीले जनाएको छ ।
त्यस्तै, हत्याको अर्को घटनामा संलग्न फरार अभियुक्तलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरीका सूचना अधिकारी तथा डिएसपी शैलेन्द्र भट्टका अनुसार सोमबार साँझ करिब सवा ६ बजे खेतबाट घर फर्कँदै गरेका जलेश्वर नगरपालिका–९, आगेपुरका ६० वर्षीय बेचन राइनमाथि पछाडिबाट धारिलो हतियारले आक्रमण गरिएको थियो । टाउकोमा गम्भीर चोट लागेका राइनलाई तत्काल प्रादेशिक अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।
उक्त आक्रमणमा संलग्न जनकपुरधाम उप–महानगरपालिका–१९, वेङ्गा शिवपुरका करिब २० वर्षीय ‘पप्पु’ भनिने अनिल कुमार मण्डल फरार थिए । तर खोजतलासकै क्रममा सोही रात करिब ७ बजेतिर घटनास्थल नजिक भुकलुथान सडक खण्डमा भाग्दै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको डिएसपी भट्टले जनाउनुभयो ।
पक्राउ परेका दुवै प्रतिवादीलाई आवश्यक कानुनी प्रक्रिया अघि बढाउँदै थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।