• ९ मंसिर २०८१, आइतबार

जननायक बिपी कोइरालाको ११० औं जन्मजयन्ती

पदभन्दा माथि उठेका राजनेता बिपी कोइराला

blog

जननायक बिपी कोइराला

काठमाडौं, भदौ २४ गते । नेपाली राजनीतिमा बिपी कोइराला र नेपाली साहित्यमा विश्वेश्वरप्रसाद कोइरालाका नामबाट सुपरिचित बिपी कोइराला नेपाली समाजमा जनप्रिय जननेताको रुपमा परिचित छन्। 

नेपाली साहित्यमा झण्डै एक दर्जन कृति पस्किएका बिपी एउटा सदाबहार राजनीतिक यात्री बने। प्रजातान्त्रिक समाजवादलाई आदर्श बनाएका बिपी आफू प्रधानमन्त्री हुँदा योजना आयोगमा किसानले हलो जोतेको तस्बिर राखेर योजना बनाउन निर्देशन दिने उदारवादी र आदर्श राजनीतिज्ञ हुन् ।  

जहानियाँ राणा शासनविरुद्धको क्रान्तिका एक नायक बिपी नेपाली कांग्रेसका संस्थापक एवम् प्रथम जननिर्वाचित प्रधानमन्त्री हुन्। राजनीतिलाई मूल्य र आदर्शको परिधिमा राख्नने  बिपीको जीवन पञ्चायतविरुद्ध लड्दा कठोर कारावास र सङ्घर्षमै बित्यो।

बिपीको जीवनगाथा नै सङ्घर्षमय छ। जन्मदेखि मृत्युससम्म शान्तिको सास फेर्न पाएको अवस्था छैन। क्यान्सरजस्तो घातक रोगसँग सङ्घर्ष गर्दागर्दै बिपीले राजनीतिक सङ्घर्षलाई कायम नै राखे।

बिपीले धेरै दुःख भोग्नुपर्‍यो, अभावै अभावको जीवन जिउनु पर्‍यो, कठोरभन्दा कठोर बन्दी जीवन बिताउनु पर्‍यो, ज्यानलाई हत्केलामा राखेर राणाकालमै आमरण अनशन बस्नुभयो। पञ्चायती व्यवस्थामा बिपीले मृत्युलाई अगाडि राखेर राजनीतिक यात्रा गर्नुपर्यो।

बिपीका पिता कृष्णप्रसाद कोइराला सिन्धुली जिल्लाको दुम्जाको राम्रै खानदानी परिवारका हुन्। त्यो परिवार बसाइँ सरेर विराटनगर पुग्यो। मोरङमा कृष्णप्रसादले भन्सारको ठेक्का सञ्चालन गर्न थाले। कृष्णप्रसादकी कान्छी श्रीमती दिव्या कोइरालाको जेठा सन्तानको रुपमा विश्वेश्ररप्रसाद कोइरालाको जन्म वि.सं.१९७१ भदौ २४ मा भएको हो । बिपीको जन्म भारतको बनारसमा भएको थियो। 

यता बिपी जन्मेको चार वर्षपछि पिता कृष्णप्रसादको परिवारमाथि राणाहरुले भीषण कारबाही थाले । हुकुमी शासन गर्दै आएका राणाको कोपभाजनमा परी कोइराला परिवार भारतमा निर्वासित हुनुपरेको थियो। बिपीलाई स्कुल भर्ना गर्न कृष्णप्रसादले बहिनी नलिनी र सानी आमाको कानको मुन्द्रा बेच्नुपरेको थियो। 

निर्वासित भएपछि कोइराला परिवार बनारस, कलकत्ता, बम्बई तथा जयनगरमा सर्दै पुग्दा दुःख पनि पछ्याउँदै जान्थ्यो। बिपीका पिता कृष्णप्रसाद विसं १९९९ मा राणाको विरोध गरेको भन्दै जेलमा परे। उपचारको प्रबन्ध नहुँदा २००१ मा जेलमै निधन भयो। पिताजीको जेलमै निधन भएपछि बीपीमा पारिवारिक बोझ बढ्यो।

बिपीको साहित्यमा सानै उमेरदेखि रुचि  थियो। १५–१६ वर्षकै उमेरमा हिन्दी भाषाको पत्रिकामा उनका कथा छापिन थाले। २० वर्षको उमेरमा ‘शारदा’ पत्रिका नेपाली भाषामा ‘चन्द्रवदन’ कथा छापियो। त्यही समयमा भारतीय राजनीतिमा महात्मा गान्धीको उदय भयो। बनारसमै शहीद भगत सिंह र चन्द्र शेखर आजादजस्ता युवाको राजनीतिक गतिविधि बढ्यो। जसले बिपीलाई पनि समाजवादी गतिविधिमा जोडिन प्रेरित गर्‍यो। 

वि.सं १९८७ मा बिपी गिरफ्तारीमा परे तर अङ्ग्रेजहरुले छाडे। महात्मा गान्धी र जवाहरलाल नेहरु बनारस आएका बेला मातृकाप्रसाद र बिपीलाई सँगै राखेर अभिनन्दन गरेपछि बिपीको राजनीतिप्रतिको जागरुकता अझ बढ्यो। राजनीतिमा लागेकै कारण बिपी विहारकै जेलमा पटकपटक पर्दै छुट्दै राजनीतिक सङ्घर्षमा होमिए ।

भारत स्वतन्त्र भएसँगै नेपालको जहानीया राणा शाहीको अन्त्य गरी प्रजातान्त्रिक शासन प्रणाली स्थापना गर्न सशस्त्र आन्दोलन सुरु भयो । 

आन्दोलन चर्कंदै जाँदा २००७ साल फागुन ७ गते नेपालमा राणाशाहीले घुँडा टेक्यो। प्रजातन्त्रको उदय भएसँगै बिपी गृहमन्त्री बने। त्यसपछिका सात वर्षसम्म सरकार परिवर्तन भइरहे। चुनावको मितिको घोषणाको माग गर्दै भद्र अवज्ञा आन्दोलन चल्यो। आन्दोलन चर्किएपछि तत्कालीन राजा महेन्द्रले वि.सं. २०१५ फागुन ७ गतेबाट आम निर्वाचन सुरु गराउन बाध्य भए। कुल १०९ स्थानमा भएको प्रत्यक्ष निर्वाचनमा नेपाली कांग्रेसले दुई तिहाइ अर्थात् ७४ स्थानमा विजय हासिल गर्‍यो। 

कांग्रेसको शानदार जीतसँगै बिपी कोइराला नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री बने। राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा बिपी कोइरालाको सरकारको लोकप्रियता बढ्दै थियो । तर तत्कालीन राजा महेन्द्रलाई त्यो सह्य भएन। थापाथलीमा तरुण दलको पहिलो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै गर्दा तत्कालीन शाही सेनाले बिपीसहितका नेतालाई नियन्त्रणमा लियो। देशको निर्वाचित प्रधानमन्त्री र सरकारलाई अपदस्थ गरियो। २०१७ साल पुस १ गते राजा महेन्द्रले बहुदलीय व्यवस्थामाथि धावा बोल्दै निर्वाचित सरकार र संसद बन्दी बनाए । 

त्यसपछि बिपीले आठ वर्षसम्म सुन्दरीजलमा बन्दी जीवन बिताउनुपर्‍यो। जेलमा रहँदा बिपीले साहित्य रचनालाई पनि अगाडि बढाए । ‘जेल जर्नल’ त्यही रहँदा टिपोट गरिएको सामग्रीको उत्कृष्ट ग्रन्थ हो। बन्दी जीवनबाट मुक्त भएपछि बिपी लगायतका नेता भारत निर्वासन रहन बाध्य भए। तर पनि प्रजातन्त्रका लागि सङ्घर्ष गर्ने क्रम भने रोकिएन। 

ज्यानको प्रवाह नगरी राष्ट्रिय मेलमिलापको नीति लिएर बिपी, गणेशमान सिंहसहितका नेता २०३३ साल पुस १६ गते नेपाल फर्कनासाथ त्रिभुवन विमानस्थलबाट नै पक्राउ परे। उनीहरुलाई पुनः सुन्दरीजलमा बन्दी बनाइयो। त्यो बेला बिपीविरुद्ध फाँसीको सजायसहितका आधा दर्जन भन्दाबढी मुद्दा थिए । बन्दी जीवनमै स्वास्थ्यमा गम्भीर समस्या आएपछि घाँटीको शल्यक्रिया गर्ने प्रयोजनका लागि वि.सं. २०३४ जेठ २ गते बिपीलाई रिहाइ गरियो। 

स्वास्थ्यमा समस्या बढ्दै गएपछि उपचारका लागि तत्कालीन राजा वीरेन्द्रले २०३४ सालमा अमेरिका जान अनुमति दिए । ६ महिनापछि स्वदेश फर्कंदा विमानस्थलमा बिपीको स्वागतमा पुगेका प्रजातन्त्रप्रेमीमाथि निर्दलीय शासनका हिमायतीहरूले भौतिक आक्रमण गरेका थिए।  बिपीलाई रोगले च्याप्दै लग्यो। उपचार गर्न कोष स्थापना गरेर चन्दा सङ्कलन गर्ने उहाँका शुभचिन्तकलाई पनि पञ्चायती शासकले गिरफ्तार गरेर दुःख दिएका थिए। 

प्रजातन्त्रको पुनः प्राप्ति र नेपालको हितमा सदैव सक्रिय बिपीले पदका लागि कहिल्यै राजनीति गरेनन्। जनताको सर्वोपरि शासन व्यवस्थाका लागि जीवनभर सङ्घर्ष गरे  । 

कांग्रेसका शीर्ष नेता गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालासहितका नेतालाई प्रजातान्त्रिक आन्दोलनको रथ अगाडि बढाउने जिम्मेवारी दिएर नेपाली राजनीतिका एक उज्ज्वल नक्षत्र बीपीको वि.सं. २०३९ साउन ६ गते आफ्नै निवास चाबहिलमा निधन भयो । 

पञ्चायती व्यवस्थाको क्रूर दमनको परवाह नगरी शवयात्रामा मानव सागर उर्लियो । बिपीको पक्षमा गगनभेदी नारा गुन्जिइरहे  ..। नेपाली कांग्रेसका संस्थापक बिपीले कोरेको मार्गचित्रमा अगाडि बढेको नेपाली कांग्रेस २००७ सालदेखि अहिलेसम्म देशको प्रमुख प्रजातान्त्रिक  शक्तिको रुपमा स्थापित छ । कांग्रेसले बिपीका विचार र सिद्धान्तलाई पार्टीको आदर्श मान्दै आएको छ । 

Author
नारद गौतम

उहाँ गोरखापत्र अनलाइनको डिजिटल प्रमुख–संयोजक हुनुहुन्छ ।