• १९ फागुन २०८०, शनिबार

राराको डिलमा

blog

बिहान झ्याल खोली हेर्दा चङ्खेली, रिनिमच्छ्य र छायानाथ हिमालहरू बादलको पर्दा पन्छाएर हामीतिर हेर्दै थिए । 

“ल ल हिमाल हेर्न आऊ ।” मैले सिर्जनालाई भनेँ । 

“आहा !” हिमाल हेर्दै उनले भनिन् ।  

मेरो जन्म नै माछापुच्छेँको आँगनमा भएको हो । त्यसैले होला हिमाल देख्यो कि मन उफ्रिहाल्छ । मौसम सफा हुँदा म भैरहवाबाट पनि माछापुच्छेँलाई देख्न सक्छु । 

हामी बसेको होटेल गमगढीको मुनलाइट । हामी अर्थात् रुद्र ज्ञवाली, रमेश समर्थन, सीता काफ्ले, तिलक लामिछाने, लक्ष्मी पाण्डे, सिर्जना लामिछाने र म । सुर्खेतबाट बिहान ४ नबज्दै हिँडेर हामी राति १० बजेतिर गमगढी पुगेका थियौँ । बिहानको उज्यालोमा गमगढी गमक्क परेको देखियो । यहीँबाट हिमाल हेरियो । मुगु कर्णाली नागबेली परेर बगेको देखियो । होटेलका प्रोपराटर कमल बुढासँग आत्मीयता साटेर हामी बिदा भयौँ । गमगढीलाई पछाडि छाड्यौँ । 

हामी रारा पुग्न आतुर थियौँ । आँखालाई कानले सुनेको संसार हेर्न हतार थियो । राराका बारेमा सुनेका छौँ । पढेका छौँ र तस्बिर तथा भिडियोमा देखेका पनि छौँ । त्यसले मनको भोक मरेन, झन् जगायो । र त हामी हानिएर आएका छौँ, रारालाई प्रत्यक्ष हेर्न देख्न । 

कालोपत्रे नगरिएको गमगढी–नाग्म सडक नाप्दै हाम्रो जिप उँभो लाग्यो । सडकबाट गमगढीको सेरोफेरोका ससाना बस्ती, खेतका फाँट र झुसिला टारीटुकुराहरू देखिए । चङ्खेली, रिनिमच्छ्य र छायानाथ हिमशृङ्खलाहरू मुस्कुराउँदै थिए । कवि मन भावुक हुँदै थिए । बाटोभन्दा माथि सानो कुचुक्क परेको ताल्चा विमानस्थल देखियो । यो विश्वका खतरायुक्त दस वटा विमानस्थलमध्येमा पर्छ रे । अहिले त यो पिच भइसकेको रहेछ । यसलाई दाहिने पारेर हाम्रो स्कर्पियो जिप पश्चिमतर्फ उकालो लाग्यो । हामी गमगढी–नाग्म सडक छाडेर रारा राष्ट्रिय निकुञ्जतिर मोडियौँ । केही माथि सल्लेरी पुगेपछि गाडी रोकियो । यहाँ चेकपोस्ट रहेछ । यहाँ गाडी, गाडीचालक र यात्रुहरूको विवरण टिपिँदो रहेछ । यहाँबाट अनुमति लिएर मात्र अगाडि बढ्न पाइँदो रहेछ । सल्लेरीले सुसाएर हामीलाई गीत सुनाइरहेको थियो । 

चेकपोस्ट पार गरेपछि हाम्रो गाडी निकुञ्जको घुमाउरो बाटो हुँदै एउटा फराकिलो उँचा चौरमा पुग्यो । पश्चिमतिर यस्तो ठाउँलाई पाटनभन्दा रहेछन् । पाटनभरि गाई, बाख्रा र घोडाहरू चरिरहेका थिए । यहाँदेखि उता कुनै पनि सवारीसाधन जाँदा रहेनछन् । चारैतिर घना जङ्गल । बिचमा फराकिलो फाँट । फाँटबाट परपर अग्ला पहाड र बादलमुनि हिमाल मुसुक्क हाँसेको देखियो । 

“घोडा ! घोडा !!” हामी गाडीबाट ओर्लनेबित्तिकै घोडा डो-याउँदै केही घोडावालाले हामीलाई घेर्न आइपुगे । “बुवा, आमा, दाजु, भाउजू । घोडा चढ्नुहोस् । हिँड्दा गारो    हुन्छ ।” एक सहयात्रीले भने, “अहिले पख्नुस्, हामी सल्लाह गर्दै छौँ ।” सायद तिलकजी भन्दै हुनुहुन्थ्यो । घोडावालाहरू हामीलाई घोडा चढ्न दबाब दिँदै थिए । हाम्रै भनाइले आशावादी बनेको देखेंँ । मैले भनेँ, “आस नगर्नुस् । हामी जन्मेदेखि नै उकाली–ओराली गरेका मान्छे  हौँ । यति हिँड्न हामीलाई कुनै कठिनाइ छैन ।” मेरो प्रस्ट भनाइले साथीहरूले घोडा चढ्ने लोभ र घोडावालाहरूले आशा गर्न छाडिदिए । 

हामी आआफ्ना हल्काफुल्का झोला बोकेर अघि बढ्यौँ । गाडी सल्लेरी फक्र्यो । निकुञ्ज भएकाले यहाँ रोक्न पाइँदो रहेनछ । बाटो जङ्गलभित्र पस्यो । हामी गफिँदै तरपायेँ–तरपायेँ ओरालो झ¥यौँ । रमेश समर्थन र रुद्रजी अघिअघि । हामी पछिपछि ।

आधा घण्टा झर्दा नझर्दै रुखका आँखीझ्यालबाट राराको विशालता देखिन थाल्यो । खुट्टाको गेयर बढ्यो । गति बढ्यो । हाम्रा अनुहारमा हर्षको बिजुली चम्क्यो । हामी हानिएर विशाल चौरमा पुग्यौँ । घोडा, बाख्रा र गाईका बथानहरू चौरभरि छरिएका थिए । तर हाम्रो मन आँखालाई राराको छेउटुप्पो खोज्न अराउँदै थियो । यताबाट जाँदाजाँदै भेटिने रारा छेउको ठुलो चौरलाई मिलिचौर भनिँदो रहेछ । मिलिचौर काटेर हामी तालछेउ पुग्यौँ । यहाँ पनि घोडावालाहरू घोडाबाट पारि पु-याइदिन खोज्दै थिए । हाम्रो मन डुङ्गाबाट ताललाई स्पर्श गर्न चाहन्थ्यो । हाम्रो मन छिटोभन्दा छिटो रारा छुन आतुर थियो, पारि पुग्न होइन । त्यसैले हामी डुङ्गामा चढ्यौँँ । डुङ्गा पारि हुटुतर्फ सोझियो । 

रारामा रबरका सुरक्षित डुङ्गा रहेछन् । हामी सात जना र अर्को टोलीका चार जना गरी एघार जना यात्रु लिएर पारि हुटुतर्फ जान तयार भए, डुङ्गाचालक भाइ । मेरो मन उत्फुल्ल भयो । सबै यात्रु सुखद, रोमाञ्चक अनुभूति गर्दै थिए । यो अनुहार र भावभङ्गिमाबाट प्रस्ट हुन्थ्यो । 

आहा रारा ! बहुरङ्गी रारापानी ! छेउमा बेरङ्गी कञ्चन पानी । अलिक पर निलो अनि निलो पानी । डुङ्गा अघि बढ्दै गयो । त्यसपछि गाढा निलो अनि गाढा निलो पानी । अनि हामीलाई लाग्यो, हामी पानीमाथि होइन, सानोमा लेखेको निलो मसीको तालमा छौँँ । झुकेर हातमा पानी लिएँ । वस्तुतः त्यो त्यही कञ्चन पानी नै रहेछ । चैत–वैशाखमा पाखाभरि लालीगुराँस फुल्दा रातो, आकाशमा सेतो बादल लाग्दा सेतोसेतो र कालो बादल मडारिँदा राराको पानी पनि कालोकालो देखिँदो रहेछ । अहो ! राराले दिनभर रूप फेरिरहँदो रहेछ । कत्ति भ्याएको !

राराले हाम्रो उमेर स्वाट्टै घटाइदियो । डुङ्गामा चढेपछि रारा, राराको पानी र राराको सेरोफेरोले हरेकमा गीत फुरेको देखियो । प्रणिल तामङको फेवा तालैमा... आदि गीत गुनगुनाउन, भिडियो र टिकटक बनाउन कस्सिए । “फेवा तालैमा... होइन, रारा तालैमा ...भन्नुस् न ।” सायद रुद्रजीको आवाज थियो यो । हाँसो मडारियो रारामा । रारा तालैमा...  गीत अझ जोडले घन्किन थाल्यो । अनि पछि अर्को गीत माझी दाइ मुगुमा रारा तालको...  बोलको गीत घन्क्यो । डुङ्गा एउटा महफिल बन्यो । निलोनिलो पानी, हल्काहल्का छाल, डुङ्गामा नउफ्र होला महाकाल... रुद्र ज्ञवालीले -याप फलाक्नु भयो । रमेश समर्थनले समर्थन जनाउनुभयो । लक्ष्मी, सिर्जना र सीताले पनि गुनगुनाए । हामीले गीत पनि छोप्यौँ, -याप पनि पछ्यायौँ । हामीबाहेक चार जना हाम्रा गीत र -याप सुनेर चकित भए । उमेर खाएका पाका मान्छेहरूको युवा जोसका युवोचित गीत–सङ्गीत सुनेर । 

राराको उत्तर र पूर्वतिर त हिमाल छँदैछन् । दक्षिणपट्टिका चुच्चेमारा लेक (३६६४ मिटर उचाइ) मा अझै पनि हिउँ थुप्रिएकै रहेछ । रारालाई सन् २००७ सेप्टेम्बर २३ मा रामसार क्षेत्रमा सूचीकृत गरिएको रहेछ । 

रारालाई चारैतिरबाट परिव्रmमा गर्न सकिँदो रहेछ । पैदलै पनि र घोडाबाट पनि । बेलाबेलामा रारा म्याराथन दौड प्रतियोगिताको आयोजना पनि हुने गरेको रहेछ । 

करिब ४५ मिनेटमा हामी हुटु उत्रियौँ । राराको सदरमुकाम भनेकै हुटु रहेछ । रारा राष्ट्रिय निकुञ्जको कार्यालय यहीँ । होटेल पनि यहीँ, सुरक्षाकर्मी पनि यहीँ । डुङ्गा घाट पनि यहीँ । डुङ्गा यसै त पूर्ण सुरक्षित छ तथापि केही भइहाले उद्धारका लागि जल एम्बुलेन्सको व्यवस्था रहेछ । 

“हेलिकप्टर खसेको ठाउँ कहाँनेर हो ?” कुनै सहयात्रीको प्रश्न ।

“खसेको होइन, खसालेको ठाउँ ।” एक सहयात्रीको प्रश्न संशोधन ।

“यी यहीँनेर ।” ठ्याक्कै देखे झैँ रुद्र ज्ञवालीको जवाफ । कल्ले पो देख्छ र गहिरो निलो पानीभित्र । 

महादेवले कण्ठमा कालकुट विष अड्काए झैँ राराले पनि आफ्नो गर्भको कुनामा त्यस्ता विकारलाई पनि समाहित गरेकै छ । 

राराको वारिपारि गुराँस, सल्लो, धुपी, देवदारु, चिमाल आदिको घना जङ्गल, छेउछेउमा पैदल र घोडेटो बाटो । बिचमा विशाल ताल । नेपालको सबैभन्दा ठुलो ताल । मैले आँखा खोल्दा पहिलो पटक बेगनास ताल देखेको हुँ । अक्षर चिन्दा फेवा ताल देखेको हुँ । अलिक बुझ्ने हुँदा पोखराका फेदिमैबेरुखा अर्थात् फेवा, दिपाङ, मैदी, बेगनास, रूपा र खास्टे ताल चाल पाएको हुँ । यही व्रmममा सुनेथेँ राराको नाम । तर बल्ल यसको स्पर्श गर्न पाएको छु । हामी सबै नै रारामा पहिलो पटक पुगेका हौँँ । त्यसैले सबै रमाइरहेका छौँँ । आहा रारा !

हाम्रो सम्पत्ति भनेकै प्रकृति हो । रारा कुनै अप्सरा वा युवती होइन । यो त प्रकृतिको अनुपम उपहार हो । हाम्रो साझा सम्पत्ति हो । रारा हाम्रो गौरव हो । रारा हाम्रो सान हो । रारा सौन्दर्यको खानी हो । रारा हाम्रो खुसी हो ।

कञ्चन पानीको सफा ताल रारा समुद्र सतहदेखि २,९७२ मिटर उँचाइमा गजक्क परेर बसेको रहेछ । मुगु जिल्लाको सदरमुकाम गमगढीबाट पैदल हिँडेरै पनि रारा तीन घण्टामा पुग्न सकिँदो रहेछ । घुमाउरो बाटोले गर्दा हामीले गाडीको प्रयोग गर्दा पनि करिब डेढ घण्टा लाग्यो । यसको अधिकतम लम्बाइ ५ र चौडाइ ३.२ किलोमिटर तथा गहिराइ १६८ मिटर रहेछ । यसमा असला प्रजातिका असल माछा हुँदा रहेछन् । यसको वरिपरिको निकुञ्जमा कस्तुरी र रतुवा मृग, डाँफे, कालिज आदि चराचुरुङ्गी पाइँदा रहेछन् । रारा राष्ट्रिय निकुञ्ज १०६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको रहेछ । यस निकुञ्जको मुटु रहेछ रारा । 

रारा तालबाट मुर्मा टप तीन घण्टामा हिँडेरै पुगिँदो रहेछ । समुद्र सतहदेखि ३७२६ मिटरको उँचाइमा रहेको मुर्मा टपबाट राराको पूर्ण आकृति देख्न सकिन्छ रे । यहाँबाट राराको मनोरम दृश्यावली, सैपाल, सिस्ने र कान्जिरोबा हिमाल पनि देख्न हेर्न सकिन्छ रे । 

तर आज २०८० सालको जेठ ५ गते आकाशमा बादल खेलेको हुँदा त्यस्ता दृश्य देख्न पाइने सम्भावना देखिएन । हामीले मुर्मा टपको रहर त्यागिदियौँ । हामी अलिक मास्तिरको भ्युप्वाइन्टसम्म मात्र पुग्यौँ । यो हुटुदेखि पश्चिमतर्फको पाखो वा पाटो हो । २०३३ सालमा यस क्षेत्रलाई रारा राष्ट्रिय निकुञ्ज घोषणा गरेपछि यस पाखोका रारा र छाप्रेका बस्तीलाई बाँकेको गाभरमा लगी बसोबास गराइएको तथ्य वन कार्यालयमा लामो समय बिताएका रुद्र ज्ञवालीले प्रस्ट्याउनु भयो । यहाँ छाप्रुनाथ महादेवको मन्दिर रहेछ अद्यापि । वरिपरि खेतबारीका गराको अवशेष पनि देख्न पाइन्छ । एउटा मचान पनि बनाएको रहेछ यहाँ । 

हामी मचानमा पुग्यौँ । रारालाई मोबाइलमा कैद ग-यौँ । दृश्यावलीको फोटो लियौँ । हामी त साहित्यिक सद्भाव यात्राका लागि हिँडेका । यहीँ बसेर रारालाई कथ्यविषय बनाई रुद्र ज्ञवालीले छन्दोबद्ध कविताको रचना गर्नुभयो । रमेश समर्थन, सीता काफ्ले र तिलक लामिछाने पनि के कम ! कविता लेखेर हामीलाई, रारालाई र पाखापखेरालाई सुनाउनु भयो । 

कविहरूले कविता के सुनाएका थिए, रारामा हलचल सुरु भयो । अघिपछि ११, १२ बजे उठ्ने छाल आज कविता सुनाएपछि अर्थात् दुई बजेबाट मात्र उठ्न सुरु भयो । कविता सुनेर ताली पिटेको हो रारा ! राराले टाउको हल्लाएर हो भने झैँ लाग्छ । चिसो हावा चल्यो बेस्सरी । छाल उठे बेस्सरी । अनि हामी पनि माथिबाट ताल किनारमा झ-यौँ सुस्तरी । हामीले राराको छाल र चाललाई मसिनो गरी हे-यौँ । 

आहा रारा ! जतिखेर हे-यो, जुन रूपमा हे-यो, जुन रङमा हे-यो, रारा उत्तिकै रमणीय, उत्तिकै सुन्दर । त्यसैले होला, यहाँ जोजो आए, सबै रमाए, सबै सम्मोहित भए । पूर्णात् पूर्णमिदम् भने झैंँ जति सौन्दर्यपान गरे पनि यसको सौन्दर्यमा कमी आएको रहेनछ । मलाई लाग्छ कहिल्यै कमी आउने पनि छैन । 

मानवीय कोलाहल र ठेलमठेलबाट मुक्त रहेछ रारा । मानवीय प्रदूषणबाट मुक्त रहेछ रारा । अनुपम सौन्दर्ययुक्त रहेछ रारा । 

चार बजेपछि राराका छाल केही मत्थर देखिन थाले । अब हाम्रो अर्को कार्यव्रmम थियो, अणिमा लघुकथासङ्ग्रहको लोकार्पण । हामी ब्यानर र पुस्तक बोकेर ताल किनारको प्रतीक्षालयमा पुग्यौँ । त्यहीँ ब्यानर टाँस्यौँ । हामी सहयात्री तथा सुरेन्द्र बडुवाल, खङ्ग विश्वकर्मा र भ्रमणका व्रmममा उपस्थित केही महानुभावबाट सामूहिक रूपमा अणिमा लघुकथासङ्ग्रहको लोकार्पण भयो । वास्तवमा यो लोकार्पण भन्दा पनि रारा अर्पण भयो । मैले चाहेकै यही थियो । यो रारालाई अर्पण गरिएको साहित्यिक सलामी हो । 

सीता काफ्ले र तिलक लामिछानेले आआफ्ना कृति सुरेन्द्र बडुवाल र खङ्ग विश्वकर्मालाई उपहारमा दिनुभयो ।

ओलम्पिकको मसाल लिए झैंँ अणिमा र अरू उपहार टप्प टिपेर सुरेन्द्र बडुवाल दुई दिन हिँडेरै बाजुरा पुग्ने गरी हिँंडिहाले । बसबाट जाने हो भने पाँच दिन लाग्छ रे । उनलाई नयाँ साँझ राराको किनारमै टाँगिएका तम्बुमा हामीले राराका काखमा निदाउने सोच बनायौँ । दुई वटा तम्बु हाम्रा लागि छुट्याइए । खाना खाईवरी तम्बुमा पसेर अनलाइन हुँदा अणिमा लोकार्पणको समाचार छापिइसकेछन्, बाँकेबाट कोहलपुर टाइम्समा ‘रारामा अणिमा लघुकथासङ्ग्रह विमोचन’ शीर्षकमा र कामना दैनिकमा ‘प्राडा. कपिल लामिछानेको अणिमा रारामा विमोचन’ शीर्षकमा । 

राराको किनारमा हामीले तम्बु (पाल) मा रात काट्यौँ । राति उठ्दा चौरमा घुमिरहेका स्याल अहिले थिएनन् । रारा भने त्यहीँ मौन थियो । हिजो बेलुकाको उखरमाउलो छाल र चाल थिएन । राराको शान्त, सौम्य र सुन्दर स्वरूपले हाम्रो मनलाई झनै लोभ्यायो । जति लोभ्याए पनि हामी त्यहीँ जिन्दगी बिताउन सक्दैनथ्यौँ क्यारे । 

डाँफे होटेलकी साहुनी समाजदेवी पूर्णादेवी खगोलीले हाम्रा लागि तातो पानीको व्यवस्था गर्नुभएछ । चिसोमा हामीलाई त्यसले खुपै राहत दियो । पाँचै बजे डुङ्गा नचल्ने र तलै सल्लेरीसम्म हिँडेर जाँदा हामीलाई लाग्ने समय र हुने कष्टलाई पूर्णादेवीले पहिलै  बुझ्नुभएछ । वार्डेनलाई फोन गरी हाम्रो गाडीलाई माथि पाटनसम्म आउने व्यवस्था मिलाइदिनुभयो । कति ज्ञानी है, पूर्णादेवी !

हामी हुटुबाट बिदाबादी भई सुरुमा पश्चिमतर्फ लाग्यौँ । राराको निकास निजारमा बनाइएको सानो पुलेसो हेरेर पारि किनारैकिनार मिलिचौरमा पुग्यौँ । हुटु छाडेको एक घण्टा भएछ । बाटाका वरिपरि गुराँस, सल्लो, देवदारु आदिका सानाठुला रुखको सघन जङ्गल पार ग-यौँ । पोथी डाँफेले हामीलाई बाई ! गर्दै थियो । अरू चराचुरुङ्गी मौन थिए । एक ठाउँमा पानीको कलकल धारो झरिरहेको थियो । रारालाई साक्षी राखेर राराकै डिलमा पुनः केही तस्बिर लियौँ । हाम्रा पाइला जङ्गलतर्फ मोडिएपछि व्रmमशः रारा साँघुरिँदै गयो र हाम्रा आँखाबाट ओझेल भयो । आँखाबाट ओझेल परे पनि रारा हाम्रो मनमुटु र स्मृतिमा उत्तिकै ताजा छ र ताजा रहिरहने छ । बाई प्यारो रारा ! 

भैरहवा