ढोका खुला थियो । भित्र कोठामा आकर्षक व्यक्तित्वको एक पुरुष उभिएर हातमा जादुमयी टर्चलाइट लिई मान्छेहरूको प्रतीक्षामा थियो । उसले सुमधुर आवाजमा बोलायो, “नम्बर एक भित्र
आउनूस् !” उसले बोलाउनासाथ एउटा लुरेलुरे मान्छे अलि अलि सङ्कोच मान्दै भित्र पस्यो । त्यसपछि तुरुन्तै त्यस पुरुषले बोल्यो, खोइ छातीदेखि माथिको भाग प्रस्ट देखाएर मेरो अघि उभिनूस् !” त्यो सुन्नासाथ नम्बर एकले तनक्क जिउ तन्काएर उसको अगाडि उभियो । उसले जादुमयी लामो टर्च बालेर छातीदेखि शिरसम्म गौर गरेर हेर्दै बोल्यो, “तपाईंको चित्त त राम्रै रहेछ, फेरि किन यस्ते भो ! हँ... आँखा लोभी मन पापी भएछ । तपाइँंको आँखाले हेर्नुपर्ने नपर्ने सबै हेरेछ । यो चित्तको पानाभरि आँखाले मात्र धेरै ठाउँमा दस्तखत गरेको भेटिन्छ । सानैदेखि अर्काको पाकेको फलफूल हेरेर चोर्न जानु भएछ । सोह्र वर्ष लाग्न नपाउँदै तरुनीको गाला र देखिने जति नाङ्गो छाला तन्की तन्की हेर्नु भएछ । यो व्रmम त तपाईंको असी वर्ष हुँदासम्म पनि गएनछ । प्राण शरीरबाट छुटेपछि मात्र रोकिएछ । ओहो, यो आँखा धेरै अघि नै बन्द गरिदिनुपर्ने रहेछ । अलि अगाडि नै यसो गरेको भए तपाईंको चित्तमा अगाडि नै सुधार आउने थियो । ल फेरि पृथ्वीमा जानुस्, अन्धो भएर जन्मनुहुनेछ । चित्त सुध्रिएपछि मात्र यहाँ आउनुहुनेछ ।”
उसको कुरा सुनेपछि नम्बर एकले भन्यो, “यहाँ आउनलाई चित्त सुधार गर्नुभन्दा बरु आउँदिनँ आँखा चाहिँ देख्ने बनाइदिनु न प्रभु !” “तपाईंको चित्त धेरै नै मैलिसकेछ । मत्र्यलोकमा तिथि चाडपर्वमा भगवान् किन सम्झिएको
त ? बिरामी हुँदा, बाटोमा हिँड्दा लडेको बेला प्रभुलाई किन
सम्झिएको ? तपाईंले भगवान् सम्झनुभयो, अब सुधार्ने काम भगवान्ले नै गर्नुहुन्छ ।” यति भन्दै उसले नम्बर एकको छातीमा हातले धकेलेर पछाडि हुत्याइदियो । पछाडिको ढोका खुलेर नम्बर एक अन्तरिक्षको बाटो हुँदै पृथ्वीतिर खस्यो । त्यहाँ खस्दै गर्दा ऊ डरले चिच्याएको प्रस्ट सुनिन्थ्यो ।
उसले फेरि सुमधुर आवाजमा नम्बर दुईलाई भित्र बोलायो । मोटो न मोटो मान्छे थरथर काँप्दै भित्र पस्यो । उसको आदेशबमोजिम नम्बर दुईले पनि तनक्क छाती तन्काएर अगाडि बस्यो । छातीदेखि शिरसम्म जादुमयी टर्च बाल्दै उसले भन्यो, “तपाईंको चित्तमा मुखको कैफियत धेरै देखिन्छ । खानुसम्म खानुभएछ । होटेलमा गएर भात खानुभयो भने साहु नै तर्सिने गरी खानुभाको रहेछ । पाँच जनालाई पुग्ने खाना तपाईं एक्लैले खाइदिँदा किन नतर्सियोस् विचरा । तपाईंलाई मोक्षको बाटो देखाउनलाई मुख सुधार्नुपर्ने देखियो । खानासाथ अमन हुने गरायो भने तपाईं सुध्रनुहुन्छ । लौ जानुस् !” यति भन्दै उसको काँधमा समाएर पछाडि ढोकातिर धकेल्यो । नम्बर दुई पनि अन्तरिक्षको बाटो हुँदै पृथ्वीमा खस्दा आत्तिएर रोएको प्रस्टै सुनिन्थ्यो ।
उसै गरी उसले नम्बर तीनलाई बोलायो । तीन नम्बरमा कालीकाली, सेतै कपाल फुलेकी महिला रहिछन् । ती पुरुषले उनलाई अघिल्लालाई जस्तै छातीदेखि माथिको भाग देखाउन अनुरोध ग¥यो । सुन्नासाथ उनले भनिन्, “क्या हो, पुरुष भएर आइमाईको छाती हेर्छु भन्न लाज लाग्दैन ?”
तिनको कुरा सुनेर ऊ आश्चर्य चकित भयो । सोध्यो, “के को लाज ? किन लाज ?”
“कस्तो बेसरम रहेछ ! अर्काकी पत्नीको निजी अङ्ग हेर्न लाज हुँदैन ?”
त्यतिबेला जादुमयी टर्चले पिलिक्क छातीदेखि माथिसम्म बालेर भित्रको चित्त पढिसकेको थियो । महिला च्याँठिए पनि पहिले झैँ सुमधुर आवाजमा ऊ बोल्यो, “तपाईंको जिब्रो असाध्यै चल्ने रहेछ । कसैलाई मान्छे नै नगन्ने बानी रहेछ । च्वास्स बोलेर धेरैको मन घ्वाच्च घोच्नु भारहेछ । रिसको झोकमा पतिलाई धोका दिएर कति आनन्द लिनुभएछ । कुकुर झैँ घण्टौँसम्म यौन व्रिmया गर्ने चाहना अझै झरिलो रहेछ ।”
बिचमै कुरा काटेर महिला बोलिन्, “आइमाईलाई हेर्न आइमाई नै बस्नुपर्नेमा किन लोग्नेमान्छे बसेको ? जे पायो त्यही भन्ने रहेछ । आइमाईको पीडा बुझ्न आइमाई नै हुनु पर्छ ।”
उसले कुनै जवाफ दिएन । बस् निर्णय सुनायो, “तपाईंलाई अब मान्छे हुन एक जन्म कुकुरनीको जन्म लिनुपर्ने भयो । लौ जानुस् !” ढाडमा समातेर पछाडि हुत्याइदियो । ती महिला “नाई !” भन्दै आधा रिस, आधा डर मिश्रित भावमा रुन्चे स्वर गरेर चिच्याउँदै पृथ्वीतर्फ झरिन् । पालो नम्बर चार भनेर उसको आवाज आयो । एउटी कुप्री वृद्धा ल्याङल्याङ गर्दै भित्र गइन् । उसै गरी छातीदेखि माथिको भाग देखाउन अनुरोध ग¥यो । त्यसै गरी टर्च बालेर हेरेपछि भन्यो, “ओहो, तपाईंको चित्तभरि कानकै मात्र कैफियत रहेछ । अर्काको चियोचर्चा, अरूले गरेको कुरा कान थापेर सुन्न कति सकेको ? तपाईंको कानको जाली फुटाइदिएर पनि हुँदैन । आजकाल मान्छेले एयरफोन बनाइसके । ल अब, एक जन्म कन्सुत्लो बन्नुपर्ने भो । धेरै सुनेपछि आफैँ अघाउनु हुनेछ । ल जानुस् !” भन्दै हुत्यायो । वृद्धाको नराम्रो गरी चिच्याउँदै झरेको आवाज राम्रोसँग सुनियो ।
“पालो नम्बर पाँच !” उसले बोलाउनासाथ चुच्चो नाक भएको एक मझौला कदको पुरुष गयो । “यता फर्किनुस् !” ऊतिर स्पष्ट देखिएपछि त्यही जादुमयी टर्च बालेर हेरेर बोल्योे, “ओहो ! यो नाकले त गर्नुसम्म गरेछ । तपाईंलाई मान्छे कम कुकुर धेरै बनाएछ । संसारका मुग्ध पार्ने फूलफल नसुँघेर बागमती र टुकुचाको गन्ध पो सुँग्धै हिँड्या रहेछ । मदिरा धोक्नुसम्म धोकेर यौनकर्मी महिला कहाँ पाइन्छ भनी खोजीखोजी गएर तिनको सात दिनसम्म ननुहाएको यौनाङ्ग यही नाकले सुँघेको रहेछ । लौ अब यही नाकले गर्दा तपाईंले भुस्याहा कुकुरको जन्म लिनुपर्ने भो । अब जानुस्, आनन्द लिनुस् !” उसलाई पनि पिठ्युँबाट धकेलेर खसालिदिए । ऊ रुँदै तल झ¥यो ।
“पालो नम्बर छ ।” उसको आवाजपछि तेस्रो लिङ्गी जस्तो मान्छे भित्र पस्यो । उसले भन्दै नभनीकन छाती तन्कायो । जादुमयी टर्च बालेर हेर्दै उसले भन्यो, “ओहो ! जुन प्राकृतिक छाला थियो, त्यो मन नपरेर प्लास्टिक सर्जरी गर्नुभएछ । नक्कली छाला देखाएर धन भएको बुद्धि नभएको खोजेर मस्ती गर्नुभएछ । धेरैको घर बर्बाद पार्नुभएको रहेछ । लौ तपाईंले अब छालै फेर्न नमिल्ने गरी गँैडाको जन्म लिनुपर्ने भो । लौ जानुस् !” उसलाई पनि पछाडिबाट धकेलिदियो । ऊ रुँदै तल खस्यो ।
“पालो नम्बर सात !” यति भन्नासाथ एउटा पातलोपातलो लुरे केटा भित्र पस्यो । भित्र जानासाथ उसले जादुमयी टर्च बालेर हेरेर भनिहाल्यो, “तपाईंले मुक्ति पाउन धेरै सङ्घर्ष गर्नुभएको रहेछ । वरिपरि रहेका पापीहरूको सङ्गतले पाप गर्न विवश हुनुभएछ । तपाईं अब एक जन्म मानव बन्नुस्, सबै ठिक हुन्छ । अब मानव जुनीमा मानवले नै तपाईंलाई ध्यान, जप, तप गर्ने वातावरण मिलाइदिने छन् । भला यसको लागि तपाईंको हातखुट्टा नचल्ला तर दिमाग चलेर व्रत, ध्यान जपतप गर्न कुनै असर पर्ने छैन । तपाईंबाट अन्य मानवले पनि अध्यात्मिक लाभ लिने छन् । लौ जानुस् !” भन्दै उसले ती युवकलाई खसाल्यो । युवा निडर भएर तल खस्यो ।
“पालो नम्बर आठ !” यो पालि बडेमानको भुँडी भएको, निधारमा चन्दनको लामो टीका लाएको मान्छे भित्र पस्यो । उसले छातीदेखि शिरसम्म देखाउन अप्ठ्यारो मान्दै थियो । उसै गरी जादुवाला टर्च बालेर हेरेपछि भन्यो, “ओ हो, मूर्तिको पूजा गरेमा पाप लाग्दैन भन्ने कस्तो भ्रम ? दस रुपियाँको माललाई हजार लिएर कति ठगेको ? ओ हो, यस्तो पापीलाई के गरी मुक्तिको बाटोमा ल्याउन सकिन्छ ? लौ अब एक जुनी चिप्लेकिरा बन्नु ! तपाईंलाई खान पहिले ठगिएका ग्राहकहरू चिप्लेकिराको बाघ बनेर आउने छन् । तिनीहरूले खाएर ऋण चुक्ता भएपछि अनि अर्को जन्मलाई विचार गरौँला । लौ जानुस् !” ती मान्छेलाई चाकमा लात हानेर खसाल्यो । आत्तिएर रुँदै ऊ तल झ¥यो ।
“पालो नम्बर नौ !” यस पटक आँखा चखिलो भएको हेर्दै छट्टु जस्तो लाग्ने मान्छे भित्र पस्यो । सकेसम्म छाती नदेखियोस् भनेर उसले पाखुरा अघि सा¥यो । उसले बुझिहाल्यो । हात घुमाएर जादुमयी टर्चले पिलिक्क पारिहाल्यो । भन्यो, “ओ हो ! नेता बनेर सिधासादा जनतालाई बेवकुफ बनाउनुभएको रहेछ ।
भ्रष्टाचार त कति हो
कति ! जङ्गल, जनावर, नदी, सार्वजनिक जग्गा, पुल, पक्की सडक केही बाँकी रहेको छैन रहेछ । यस्तो मान्छेलाई कसरी सुधार्ने ? ओ हो, लौ अब गुहुको किरा भएर तीन सय वर्षसम्म जन्ममरण गरिरहनू । त्यसपछि सोचौँला । ल
जानु !” यति भन्दै तिनलाई पनि लात्ताले हानेर खसाले । खस्दै गर्दा नाटकीय रुन्चे हाँसो उसले ग¥यो । “पालो नम्बर दस !” यस पटक भलाद्मी खालको मान्छे भित्र पस्यो । उसले टर्चले पिलिक्क पारेर बोल्यो, “यति सफा चित्तलाई कति फोहोर बनाएको ? कर्मचारी भएँ भन्दैमा जीविका गर्नलाई घुसै खानुपर्ने ? अनि घुस खाएको पैसा तह लाउन हुने नहुने सबै खानुपर्ने ? सिधासादालाई दुःख दिएर घुमाउन पर्ने ? ओ हो ! यस्तोलाई कसरी मुक्ति मार्गमा ल्याऊँ ? लौ अब दुई सय वर्षसम्म नालीको कीट भएर बस्नू ! त्यसपछि विचार गरौँला ।” त्यसलाई लात्ताले हानेर खसाल्यो । ऊ खस्दा चिच्याएर रोएको सुनिन्थ्यो । “पालो नम्बर एघार !” यस पटक शान्त प्रकृतिको मानिस भित्र पस्यो । ऊ सचेत भएर उसको सिधा बस्यो । जादुमयी टर्चले हेर्नासाथ उसको शिर श्रद्धाले झुक्यो । भन्यो, “पृथ्वीमा गएर मानव चेतना बढाउनलाई ठुलो भूमिका निर्वाह गर्नुभएको रहेछ । देवताको वास पत्थरले निर्मित मन्दिरभित्र नभएर हाडमासुले बनेको प्राणीको शरीरभित्रै हुन्छ भनेर कैयौँ मान्छेलाई ज्ञान दिनुभएछ । अन्तर्चेतना जागृत गर्नलाई दैनिक ध्यान गर्नु पर्छ भनेर सिकाएर आउनुभएछ । हजुरलाई उच्च लोकको ढोका खुला छ । पाल्नुहोस !” यति भन्दै उसले दुई हातले माथितिर इसारा गर्नासाथ त्यो मानिस रामायणको हनुमान झैँ उडेर माथितिर लाग्यो ।
“पालो नम्बर बाह्र !”
“पालो नम्बर बाह्र !”
पछाडि लाइनमा बसेका कैयौँ मान्छेहरूको भिडबाट आवाज आयो, “ए तपाईंको पालो । कति त्यो प्वालबाट चियाइरा ?” कसैले हप्काए जस्तो लागेपछि म झसङ्ग भएँ । मेरो पो पालो आएको रहेछ । म डराइडराई हात जोडेर भित्र पसेँ । सिधै छाती खोलेँ । उसले जादुमयी टर्च बालेर हेरेपछि भन्यो, “कता जानुभाको ? किन ढिला
भो ?” मैले झुटो बोलँे पनि उसले थाहा पाइहाल्थ्यो । त्यसैले सत्य बताइदिएँ, “हजुर र अरूका व्रिmयाकलाप हेर्दाहेर्दै भुसुक्कै बिर्सिएछु ।”
“पहिला पनि गर्छु गर्छु राम्रो गर्छु । मान्छे बनेर देखाउँछु भनेर पृथ्वी झर्नुभा रहेछ । खोइ त आलस्यलाई जित्नै सक्नु भा रहेन छ । यो तालले त धेरै तल झर्ने हुनु भो तपाईं ।” आत्तिँदै मैले बोलेँ, “होइन, होइन । माफ गर्नुस् ! म असल मान्छे बनेरै फर्कन्छु ।”
“फर्कन्छु ? हँ, उहाँको त अझै छ महिना बाँकी रहेछ । मान्छेले बनाएको हवाई जहाजको ककपिट कमजोर होला तर मैले बनाउको चित्त कमजोर हुनै सक्दैन । यो यमदूतले तराईको रामकुमार ल्याउनुपर्नेमा पहाडको ल्याएछ । दुःख दियो । लौ जानूस्, छ महिनामा सुध्रेर आउनूस् !” उसले मेरो काँधमा समाएर जोडले धकेलिदियो । म आत्तिएर रुँदै तल धेरै तल झरेँ बङ्ग्रयाङ्ग । बिउँझन्छु त म ओछ्यानमै पल्टिरहेको । जिउभरि खलखली पसिना । घडी हेरेँ, रातको साँढे दुई बजेको रहेछ । मुटु ढुकढुक गरेर धड्किरहेको थियो, भर्खरै देखेको भयानक सपनालाई सम्झिएर । मेरा विगतका काला कर्तुतहरू एकएक गरी मनको पर्दामा नाच्न थाले । मैले तुरुन्तै कसम खाएँ, “अब जे गर्छु, विशिष्ट मानवको जस्तो आचरण गर्छु । चित्तलाई अत्यन्तै सफा पार्छु ।”