• २० वैशाख २०८१, बिहिबार

संसद् खुलाउन राष्ट्रपति र प्रधानमन्त्री सक्रिय

blog

काठमाडौँ, भदौ ४ गते । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का कारण लामो समयदेखि अवरुद्ध सङ्घीय संसद् सुचारु गराउन विभिन्न तहबाट तीव्र प्रयास भएका छन्। राष्ट्रति रामचन्द्र पौडेलले आइतबार अपराह्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग यसै विषयमा परामर्श गर्नुभएको छ।

यसअघि उहाँले प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग पनि परामर्श गरिसक्नुभएको छ। लामिछानेसँगको भेटपछि राष्ट्रपति पौडेलले मङ्गलबार बिहान सर्वदलीय बैठक आह्वान गर्नुभएको छ। राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेलले रास्वपा सभापति लामिछानेसँग समसामयिक राजनीतिक सन्दर्भमा कुराकानी गर्नुभएको हो।

प्रधानमन्त्री सक्रिय

यसअघि आइतबार नै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय पार्टीका शीर्ष नेतासँग संसद् सुचारु गर्ने विषयमा गम्भीर विमर्श गर्नुभएको थियो। उहाँले सत्ता साझेदार र प्रतिपक्षी दलका शीर्ष नेताहरूसँग संसद् सुचारु गर्न साझा सहमति निर्माण गर्ने विषयमा छलफल गर्नुभएको हो। 

सत्ता साझेदार नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका शीर्ष नेता सहभागी बैठकमा संसद् सुचारु गर्नै पर्ने पक्षमा सबै दल सहमत भएका छन् तर कसरी खुलाउने भन्नेबारे आइतबार निष्कर्ष ननिस्किएपछि बैठक सोमबार पुनः बस्ने तय भएको छ।

हङकङबाट मोटरसाइकल र स्कुटरको ‘ब्रेक सु’ मा भित्र्याइएको सुन साउन ३ गते राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट बाहिरिने क्रममा राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो। सोही विषयमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने मागसहित साउन दोस्रो सातादेखि एमालेले संसद् बैठक सञ्चालन गर्न दिएको छैन।

समझदारी बन्ने विश्वास

प्रधानमन्त्री प्रचण्डले आइतबारको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएर अनुपस्थित हुँदा निर्णायक छलफल हुन नसकेको बताउनुभयो। बैठकपछि गोरखापत्रसँग सङ्क्षिप्त कुराकानी गर्दै उहाँले सोमबार पुनः छलफल गरेर समझदारी बनाउने बताउनुभयो। उहाँले भन्नुभयो, “सदनमा भएका राष्ट्रिय पार्टीबिच राम्रै छलफल भएको छ। प्रमुख प्रतिपक्षी दलका नेता अस्वस्थ भएका कारण आउन सक्नुभएन। सोमबार एक पटक बसेर समझदारी बनाउने भन्ने भएको छ। छलफल सकारात्मक छ। चाँडै निचोड आउँछ।”

सिआइबीले छानबिन गरिरहेको छ : श्रेष्ठ

बैठकमा सहभागी उपप्रधानमन्त्री तथा गृहमन्त्री एवं माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले विमानस्थलबाट राष्ट्रिय अनुसन्धान ब्युरोले बरामद गरेको सुन तस्करी प्रकरणको समग्र अनुसन्धानमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सशक्त ढङ्गले लागेको बताउनुभयो। उहाँले अनुसन्धान ब्युरोले नै अनुसन्धान प्रक्रिया टुङ्ग्याउनुपर्ने प्रस्ट पार्नुभयो। उहाँले भन्नुभयो, “यो सङ्गठित अपराध अन्तर्गतको विषय हो। अभियोजनको समय ६० दिनको हुन्छ। त्यस अर्थमा राष्ट्रिय अनुसन्धानले २० दिन गरिहाल्यो। त्यसपछि हामीसँग ४० दिन बाँकी रह्यो। त्यसमा पाँच दिन जिल्ला सरकारी वकिलको कार्यालयले अभियोजनको सबै प्रक्रिया मिलाउन लगाउँछ। त्यसो गर्दा सिआइबीलाई ३५ दिन बाँकी हुन्छ। त्यसकारण सिआइबीले नै निष्कर्षमा पु-याउँछ।”

उहाँले अब यस प्रकारका घटना नदोहोरियोस्, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अरू भन्सार कार्यालयको सुरक्षा र समग्र व्यवस्थापनको समग्र छलफल गर्ने, साझा रूपमा एउटा निष्कर्षमा पु-याउने छलफल गर्न सकिने प्रस्ट पार्नुभयो।

बैठकमा सहभागी एमाले, रास्वपा र राप्रपाका नेताहरूले अनुसन्धान ब्युरोले जारी राखेको अनुसन्धान प्रक्रिया प्रभावित हुन नहुने बताउनुभयो। एमालेका प्रमुख सचेतक पदम गिरीले सुन तस्करी प्रकरणको अनुसन्धान प्रभावित नहोस् भन्नेमा आफूहरू प्रस्ट रहेको बताउनुभयो। उहाँले राजनीतिक दलका नेता संलग्न रहेको भन्ने विषय उठेको सन्दर्भमा पनि छानबिन हुनुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, “सिआइबीको अनुसन्धान प्रभावित नहुने गरी उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने एमालेको माग हो। छलफल सकारात्मक छ, अर्को बैठकले निष्कर्ष आउने हाम्रो विश्वास हो।”

रास्वपाका सभापति रवि लामिछानेले सदनमा छलफल गर्नुपर्ने धेरै विषय रहेकाले संसद् अवरोध हट्नुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, “सबैको सरोकार सदन खुलेन भन्ने नै हो। गम्भीर ढङ्गले कुराकानी भयो। असहमति अन्त्य गरेर सदन खुल्ने गरी छलफल अघि बढेको छ। समझदारी हुन्छ।”

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले संसद् खुलाउने विषयमा भएको छलफल सहमतिको नजिक पुगेको बताउनुभयो। उहाँका अनुसार संसद् अवरोध नगर्ने, निकास निकाल्ने र मध्यमार्गी बाटोबाट जाने गरी छलफल अघि बढेको छ। उहाँले अनुसन्धान ब्युरोको काम प्रभावित नहुने गरी समझदारी गरेर अघि बढ्न सबै दल सहमत भएको बताउनुभयो।