• १२ कात्तिक २०८२, बुधबार

मौसमी फ्लुका बिरामी बढे

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक १२ गते । अस्पतालहरूमा मौसमी फ्लुका बिरामीको सङ्ख्या बढ्न थालेको छ । वीर अस्पताल, भक्तपुर अस्पताल, सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन अस्पताल, त्रिवि शिक्षण अस्पताल, कान्ति बाल अस्पताललगायतका अस्पतालमा रुघाखोकी, ज्वरो, दम, टाउको दुख्ने समस्या लिएर पुग्नेको सङ्ख्या बढ्दो छ । 

सरुवा रोग अस्पतालका वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले मौसमी फ्लुका बिरामी बढेको बताउनुभयो । उहाँले रुघाखोकी, ज्वरोलगायतका समस्या लिएर आउने बिरामीको सङ्ख्या बढेको जानकारी दिँदै पछिल्ला दिनमा बिरामी मौसमी फ्लुको समस्या लिएर आउने गरेको बताउनुभयो । 

जाडो मौसममा बालबालिका र वृद्धा उच्च जोखिममा रहेको भन्दै उहाँले बालबालिका, वृद्धवृद्धा र गर्भवती महिलाले जाडोयाममा विशेष ख्याल गर्नुपर्नेमा जोड दिनुभयो । 

वीर अस्पतालमा पनि उच्च ज्वरो, रुघाखोकीलगायतका समस्या लिएर आउनेको सङ्ख्या बढेको छ । दैनिक एक हजार पाँच सयदेखि दुई हजारसम्म नयाँ बिरामी आउने वीरमा ५०/६० जना मौसमी फ्लुका बिरामी आउने गरेका छन् । अस्पतालका निर्देशक डा. दिलीप शर्माले अस्पतालमा मौसमी फ्लुका बिरामीको सङ्ख्या बढ्न थालेको जानकारी गराउनुभयो । 

यस्तै भक्तपुर अस्पतालमा पनि मौसमी प्लुका बिरामीको सङ्ख्या बढ्न थालेको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. सुरेन्द्र भट्टले केही दिनयता मौसमी प्लुका बिरामी बढ्न थालेको जानकारी गराउनुभयो । 

कान्ति बाल अस्पतालमा मौसमी रुघाखोकी, ज्वरोलगायतका समस्याले बिरामीको सङ्ख्या बढेको छ । कान्ति अस्पतालमा दैनिक छ सयको हाराहारीमा बिरामी ओपिडीमा आउने गर्छन् भने १५० बिरामी आकस्मिक कक्षमा आउने गरेका छन् । 

सरुवा रोग विशेषज्ञ डा. पुनका अनुसार मौसमी फ्लु (रुघाखोकी) एक किसिमको फ्लु हो । फ्लु इन्फ्लुएन्जा भाइरस हो । नेपालमा मौसम परिवर्तनसँगै मौसमी फ्लु देखिने गरेको छ । फ्लुका कारणले अस्पताल आए पनि जटिल अवस्था भने छैन । वृद्धवृद्धा र बालबालिका भने मौसमी फ्लुदेखि अति नै सतर्क रहनु पर्छ । रुघाखोकीलाई सामान्य रूपमा लिइन्छ । पुनले मौसमी फ्लुमा अचानक ज्वरो आउने, घाँटी दुख्ने, जिउ÷शरीर दुख्ने, निरन्तर खोकी लाग्ने हुन्छ । कसैलाई निमोनियासम्म हुन सक्छ । 

डा. पुनले मौसमी फ्लु हुनेबित्तिकै आत्तिनुपर्ने अवस्था नरहेको बताउनुभयो । उहाँले झोलिलो खानेकुरा खाने, स्वास्थ्यकर्मीको सुझाव  लिने, केही दिन घरमा आराम गरेर बस्नुपर्ने बताउनुभयो ।