• १२ कात्तिक २०८२, बुधबार

भाषा, संस्कृतिको प्रवर्धन गर्न अमेरिकामा गुठी

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक १२ गते । अमेरिकाको पेन्सिलभेनियामा रहेका नेपालीले नेप्लिज गुठी (नेपाली गुठी) मार्फत नेपाली चाडपर्व, संस्कार संस्कृति मनाउने र नेपाली भाषाको समेत जगेर्ना गर्दै आएका छन् । 

नेपाली, भाषा, परम्परा, संस्कृति र चाडपर्वको प्रवर्धन गर्ने उद्देश्यले सन् २०१३ मा स्थापना गरिएको  सो गुठीका अध्यक्ष विमल मोक्तानले अमेरिकामा रहेका नेपालीले सामूहिक रूपमा दसैँ, भाइटीका, होलीलगायतका पर्व मनाउँदै एकआपसमा   खुसियाली साट्ने गरेको जानकारी दिनुभयो । उहाँले विभिन्न उद्देश्यले अमेरिका आएका नेपालीले परदेशमा आफ्नो मौलिक संस्कृति मनाउँदा आफ्ना सन्तानलाई नेपाली भाषाका साथै नेपालको संस्कृति, पर्वको महत्व बुझाउँदै आएको बताउनुभयो । 

उहाँले सो गुठी स्थापना गर्नुको उद्देश्यबारे भन्नुभयो, “शिक्षा, रोजगारीका लागि अमेरिका आउँदा आपत् परेका नेपालीलाई हामीले व्यक्तिगत रूपमै सहयोग गर्दै आएका थियौँ, कसैलाई सहयोग चाहिएपछि मन मिल्ने साथीभाइबिच मात्र सम्पर्क गरेर सहयोग गर्न जान्थ्यौँ, एक पटक एक जना नेपाली भाइलाई सहयोग गर्न जाँदा उहाँले संस्थागत सहयोग पाए लिने तर व्यक्तिगत चाहिँ लिन्न भन्दै अप्ठ्यारो माने, त्यसपछि अब नेपाली गुठी खोलौँ भन्ने सल्लाहपछि संस्थागत रूपमै अगाडि बढेका हौँ ।” 

हाल गुठीले अमेरिकाको पेन्सिलभेनियालगायत त्यस वरपर बस्ने नेपालीका बालबालिकालाई नेपाली भाषा सिकाउने, तिज, दसैँ, तिहार, होलीपर्वलगायतमा भेटघाट गर्ने, विभिन्न नेपाली कार्यव्रmमको आयोजना गर्नका लागि स्थान उपलब्ध गराउँदै आएको बताउनुभयो । हाल नेप्लिज गुठीले नेपाली मौलिक घर, ढुङ्गेधारा, चौतारा, फल्चा पाटी, चोकसहितको मिनी नेपाल बनाउने उद्देश्यका साथ काम गरिरहेको छ ।