• १२ कात्तिक २०८२, बुधबार

दुर्व्यसनबाट सजग रहन नाटक

blog

लागुऔषध दुर्व्यसनविरुद्ध जनचेतनामूलक नाटक प्रदर्शन गर्दै सुरवीर पण्डित (दारी बा) लगायत अन्य कलाकार । तस्बिर : चाँदनी आचार्य

घोडाघोडी समाचारदाता

घोडाघोडी, कात्तिक १२ गते । लागुऔषध दुर्व्यसन समाजमा बढ्दै गएपछि कैलालीको सुखडमा राष्ट्रिय कलाकारद्वारा जनचेतनामूलक नाटक प्रस्तुत गरिएको छ । कलाकार सौगात ओझाद्वारा परिकल्पनामा ‘सङ्गतको फल’ नामक नाटक सार्वजनिक स्थलमा प्रदर्शन गरिएको हो । सुखडबजारको हेलिप्याड चौरमा प्रदर्शन गरिएको नाटकको मुख्य भूमिकामा सुरवीर पण्डित (दारी बा), सौगात ओझा र अछामी रेखा रहनुभएको छ ।

लागुऔषध दुव्र्यसनले पारिवारिक कलह, स्वास्थ्यमा असर, सम्पत्तिको हानि, समाजमा आपराधिक कार्य बढाउँदै गएको नाटकमा देखाइएको थियो । लागुऔषध दुव्र्यसनमा साना बालबालिकादेखि युवा, वयस्कसमेत फस्दै गएकाले यसतर्फ साथीसङ्गतबाट देखासिकी नगर्न सचेत बन्न नाटकले सन्देश दिएको छ । 

घोडाघोडी स्थायी ठेगाना भएका हास्य कलाकार दीपेन्द्र ओलीको विशेष पहलमा नाटकको आयोजना गरिएको हो  । नाटकमा टेक बिसी, कृष्ण जोशी, सुरेन्द्र सङ्गम, विक्रम चौधरी, दुर्गा पाण्डे, प्रकाश न्यौपाने, मुना अर्याललगायत कलाकारको समेत भूमिका रहेको थियो । उडान फिल्म प्रोडक्सन कैलालीको आयोजना तथा घोडाघोडी नगरपालिकाको मुख्य प्रवर्धनमा उक्त नाटक प्रदर्शन गरिएको हो ।

नाटकसँगै साङ्गीतिक कार्यक्रमलाई सफल बनाउन विभिन्न सामुदायिक तथा निजी विद्यालय, व्यापारीसमेतले आर्थिक सहयोग गरेका थिए । अम्बिका आचार्यको सभाअध्यक्षतामा भएको नाटक प्रदर्शन कार्यक्रममा राष्ट्रिय दलित आयोगका सदस्य मीना सोव, घोडाघोडी नगरपालिकाका नगरप्रमुख खडकबहादुर रावतको उपस्थिति रहेको थियो । 

नगरप्रमुख खडकबहादुर रावतले घोडाघोडीमा मात्र नभएर देशभर लागुऔषध दुव्र्यसन बढ्दै गएको अवस्थामा राष्ट्रिय कलाकारद्वारा मञ्चन गरिएको जनचेतनामूलक नाटक प्रदर्शनले सचेतना फैलाउने बताउनुभयो । लागुऔषध दुव्र्यसनले परिवार, समाज र राष्ट्रलाई नै आघात परेको अवस्थामा जनचेतनामूलक नाटकले सचेतना फैलाउनेमा विश्वास व्यक्त गर्नुभयो ।

आयोगका सदस्य मीनादेवी सोवले राष्ट्रिय कलाकारले प्रदर्शन गरेको नाटकले समाजलाई ऐना देखाउने काम गरेको बताउनुभयो । उहाँले लागुऔषध दुव्र्यसनमा कोही पनि नफस्न परिवार, व्यक्ति स्वयम् सजग भई राम्रो साथसङ्गत गर्नुपर्ने बताउनुभयो । आफू हास्य कलाकार भएर विभिन्न ठाउँमा कार्यक्रम गर्दै गर्दा आफ्नो ठाउँका लागि केही गरौँ भन्ने सोच मनमा आइरहेको बताउने दीपेन्द्र ओलीले राष्ट्रिय नाम चलेका कलाकार बोलाएर आफ्नो ठाउँमा जनचेतनामूलक कार्यक्रम सफल रूपमा सम्पन्न गर्न पाउँदा निकै खुसी लागेको बताउनुभयो ।