• ७ पुस २०८१, आइतबार

पुरानो चलचित्रको कपी ‘जेलर’

blog

काठमाडौँ, भदौ २ गते । ‘जेलर’ को कथा टाइगर मुथुवेल पाण्डियनको वरिपरि घुमेको छ। चलचित्रका प्रमुख कलाकार रजनीकान्त एक सेवानिवृत्त व्यक्ति हुनुहुन्छ। उहाँले घरपरिवारसँगै आफ्नो समय बिताइरहनुभएको छ। उहाँका छोरा अर्जुन (वसन्त रवि) जो एक प्रहरी सहायक आयुक्त वर्मा (विनायकन) को नेतृत्वमा माफिया गिरोहको खोजी गर्दा बेपत्ता हुन्छन्। यसपछि उहाँका बुवा आफ्नो छोराको खोजीमा निस्कनुहुन्छ। आफ्नो विगतका साथीहरूको सहयोगमा उहाँ अपराधीका अनेकन गतिविधि पत्ता लगाउन सफल हुनहुन्छ। यसपछि कथामा ठुलै ट्विस्ट आउँछ। चलचित्रमा टाइगरले पनि अनुमान गर्न नसकेका घटना हुँदै जान्छ। 

जेलरले पुरानो चलचित्रको विधालाई उत्कृष्ट रूपमा समातेको छ। दर्शकको मनभित्र कस्ता कुराहरू खेलाउन सकिन्छ भन्ने कुरा चलचित्रका निर्देशक नेल्सन दिलीपकुमारले राम्रोसँग बुझ्नुभएको छ। चलचित्रको कथाले दर्शकलाई सुरुदेखि अन्त्यसम्म सहजताका साथ हलमा बस्न बाध्य बनाउँछ। टाइगर मुथुवेल पाण्डियन (रजनीकान्त) को अभिनयले नै दर्शकलाई पूरा अवधिभर हलमा बस्न बाध्य बनाउँछ। चलचित्रमा उनको अभिनय क्षमतामाथि कसैले पनि प्रश्न गर्न सक्दैन। योगी बाबु र जाफर सादिक जस्ता सहयोगी कलाकारको अभिनयले पनि चलचित्रलाई माथि उठाउने काम गरेको छ। अन्य कलाकार मोहनलाल, शिव राजकुमार, ज्याकी श्राफ, तमन्ना भाटिया, राम्या कृष्णन्, सुनिल, विनायकन, बसन्थ रवि, योग बाबुको अभिनय पनि ठिकठाक छ।

चलचित्रमा आलोचना गर्नुपर्ने विषय पनि छन्। चलचित्रको पटकथा कमजोर छ। निर्देशकले रजनीकान्तलाई उत्कृष्ट रूपमा देखाउँछन् तर उनको पटकथामा सार्थकता छैन। निर्देशकले पटकथामा अलिकति ध्यान दिएको भए चलचित्र अझ राम्रो बन्न सक्थ्यो। चलचित्रले मध्यान्तरसम्म दर्शकलाई भावनात्मक रूपमा समात्न सफल बनाउँछ। चलचित्र जुन गतिमा अघि बढ्छ, अन्तरालपछि भने आफ्नो प्रभाव गुमाउन थाल्छ र दर्शकले चलचित्रको कथा पुरानो चलचित्रको कपी हो भन्ने बुझ्छन्। चलचित्रले समकालीन कथा कथन तत्वहरूका साथ पुराना चलचित्र विधालाई सफलतापूर्वक पुनर्जीवित गर्छ। त्यस्तै चलचित्रभित्र देखाइएको हिंसा, यद्यपि विषयगत रूपमा मसाला विधासँग जोडिएको छ। केही दृश्य कम उमेरका वा बढी संवेदनशील दर्शकका लागि उपयुक्त नहुन पनि सक्छन्। 

चलचित्र एक्सन, ड्रामा र हास्यको मिश्रण हो, जसले दर्शकको मन जित्ने निश्चित छ। केही यसको हिंसाबाट सावधान हुन सक्छन्। रमाइलो र मसलाले भरिएको विधासँग परिचितहरूले भने चललचित्रलाई अपेक्षा अनुरूप पाउने छन्।