रेखीराम राना
तानसेन, कात्तिक ४ गते । पाल्पामा वृद्ध महिलाको कुटपिट गरेर हत्या गरिएको छ । जिल्लाको माथागढी–४, देउगीरका ६७ वर्षकी फूलमाया जिसीको कुटपिट गरेर हत्या गरिएको प्रहरीले जनाएको छ ।
गएराति १२ बजेतिर स्थानीय ३७ वर्षका मिनबहादुर विश्वकर्माको कुटपिटबाट जिसीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी होमप्रकाश चौधरीले जानकारी दिनुभयो ।
विश्वकर्माकै कुटपिटबाट फुलमायाको ८२ वर्षीय श्रीमान् प्रेमबहादुर जिसी गम्भीर घाइते हुनुभएको छ । उहाँको तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा उपचारका लागि पठाइएको भए पनि थप उपचारका लागि लुम्बिनी सिटी अस्पताल बुटवलमा रिफर गरिएको छ ।
घटनामा संलग्न विश्वकर्मालाई प्रहरीले उनकै घरबाट नियन्त्रणमा लिएको छ । घरमा लुकेर बसेको अवस्थामा विश्वकर्मालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।