सिराज खान
नेपालगन्ज, कात्तिक ३ गते । नेपालगन्जका वरिष्ठ हाडजोर्नी रोग विशेषज्ञ डा. विनोदकुमार थापालाई अग्रज चिकित्सक सम्मानबाट सम्मानित गरिएको छ । दीर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकमको छैठौं वार्षिकोत्सवमा डा. थापालाई अग्रज चिकित्सक सम्मान प्रदान गरिएको हो ।
लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठले डा. थापालाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्दै सम्मानित गर्नुभयो । सो अवसरमा बोल्दै उहाँले पश्चिम नेपालका सयौं हाडजोर्नी रोगका बिरामीको उपचार गर्नुभएका चिकित्सकलाई अग्रज सम्मान प्रदान गर्न पाउँदा खुसी लागेको बताउनुभयो ।
स्वास्थ्य क्षेत्रमा काम गर्ने चिकित्सक लगायतका स्वास्थ्यकर्मीहरूको योगदान समाजमा सबैभन्दा महत्त्वपूर्ण हुने गरेको जनाउँदै उहाँले सोही कारणले समाजले सधैं सम्मानको दृष्टिले हेर्ने गरेको बताउनुभयो ।
वेस्टर्न अस्पताल नेपालगन्जका संस्थापक समेत रहनु भएका डा. थापाले विगत लामो समयदेखि नेपालगन्जस्थित भेरी अस्पतालमा बिरामीको उपचार गर्दै आउनुभएको छ । दीर्घायु हाउस प्रालिले आफ्नो स्थापना दिवसको अवसरमा आयोजना गर्ने विशेष कार्यक्रममा एक जना अग्रज चिकित्सकलाई सम्मान गर्दैआएको जनाएको छ ।