• २२ असार २०८१, शनिबार

खाद्यान्न आयात गर्न भारतसँग पत्राचार

blog

काठमाडौँ, साउन ३० गते ।  सरकारले भारतबाट साढे छ लाख टन खाद्यान्न (चामल, धान र चिनी) आयात गर्न लागेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा आपूर्ति व्यवस्था सहज बनाउन छ लाख ५० हजार टन खाद्यान्न आयात गर्न लागेको हो । 

भारतले चामल निर्यातमा प्रतिबन्ध लगाएपछि बजारमा हुन सक्ने अभावलाई ध्यानमा राखेर गरेर आयात गर्न लागिएको हो । मन्त्रालयले एक लाख टन चामल, पाँच लाख टन धान आयात गर्न पत्राचार गरेको जनाएको छ । 

यस्तै ५० हजार टन चिनी आयातका लागि परराष्ट्र मन्त्रालयमार्फत भारत सरकारलाई पत्राचार गरेको जनाएको छ । मन्त्रालयका प्रवक्ता एवं सहसचिव राधिका अर्यालले साढे छ लाख खाद्यान्न आयात गर्न भारत सरकारलाई अनुरोध गरे पनि कति दिने भनेर निर्णय भइनसकेको उहाँले जानकारी दिनुभयो । बजारमा खाद्यान्नको आपूर्ति व्यवस्था सहज बनाउन भारतबाट धान, चामल र चिनी आयात गर्न लागिएको उहाँले जानकारी दिनुभयो । 

भारतले बासमतीबाहेकका चामलको निर्यातलाई साउन ४ बाट लागु हुने गरी रोक लगाएको छ । खाद्यान्नको बढ्दो मूल्यलाई नियन्त्रणको प्रयासस्वरूप भारतले चामल निर्यातमा प्रतिबन्ध घोषणा गरेको हो । स्थानीय उत्पादनले माग धान्न नसक्दा भारतमा ठुलो परिमाणमा चामल र धान आयात हुने गरेको थियो । 

भारतले चामल निर्यातमा रोक लगाएसँगै बजारमा खाद्यान्नको मूल्य बढेको व्यवसायीको भनाइ छ । नेपाल चामल, तेल, दाल उद्योग सङ्घले बजारमा आपूर्ति व्यवस्था सहज बनाउन १० लाख टन धान आयात गर्न मन्त्रालयलाई पत्राचार गरेको थियो ।  सङ्घका अध्यक्ष कुमुदकुमार दुगडले १० लाख टन धान आयात भए बजारमा खाद्यान्न अभाव नहुने जानकारी दिनुभयो । 

चामल आयात गर्नुभन्दा धान आयात गर्दा स्वदेशी धान मिलले काम पाउने उहाँको भनाइ छ । हाल बजारमा खाद्यान्न अभाव नभए पनि सरकारले आयातको व्यवस्था जतिसक्दो छिटो पहल नगरे अभाव भई मूल्य बढ्न सक्ने उहाँको भनाइ छ । नेपालमा आवश्यक धान चामलको करिब २१ प्रतिशत भारतबाट आयात हुने गरेको सङ्घले जनाएको छ । भारतसँगै अन्य देशबाट पनि खाद्यान्न आयात हुने गर्छ । 

भन्सार विभागको तथ्याङ्क अनुसार गएको आर्थिक वर्ष २०७९/८० मा नेपालले विभिन्न देशबाट ५६ अर्ब ६२ करोड ५३ लाख ४७ हजार रुपियाँको खाद्यान्न (धान, चामल, गहुँ, मकै, जौ, कोदो) आयात गरेको छ । आव २०७८/७९ मा ७४ अर्ब २८ करोड ३७ लाख सात हजार रुपियाँको आयात भएको थियो । अघिल्लो वर्षको तुलनामा समग्र खाद्यान्न आयातमा २४ प्रतिशत अर्थात् १८ अर्ब रुपियाँ बराबरको कमी भएको छ । आव २०७९/८० मा १५ अर्ब ९१ करोड २४ लाख १५ हजार रुपियाँको चामल मात्र आयात भएको छ । आव २०७८/७९ मा ३० अर्ब ५८ करोड २९ लाख ५८ हजार रुपियाँको चामल आयात भएको थियो । स्थानीय उत्पादनले माग धान्न नसक्दा, मकै गहुँ, कोदो, जौ विभिन्न देशबाट बर्सेनि ठुलो परिमाणमा आयात हुने गर्छ ।