• ११ असार २०८१, मङ्गलबार

गोरखापत्रले उठाएका विषयको तार्किक निष्कर्ष

पुरानै स्वरूपमा यज्ञमती र चखुँचाखोला

blog

काठमाडौँ, साउन २७ गते । दुई वटा ह्युमपाइपभित्र सीमित गरिएका यज्ञमती र चखुँचाखोलाको उत्खनन सुरु गरिएको छ । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका र काठमाडौँ महानगरपालिकाभित्र बग्ने यज्ञमती र चखुँचाखोलाको उत्खनन शुक्रबारदेखि सुरु गरिएको हो ।

काठमाडौँ महानगरपालिका र बुढानीलकण्ठ नगरपालिकाबिच तीनबुँदे सहमति भएपछि खोला उत्खनन थालिएको हो । धोबीखोलातर्फबाट चखुँचाखोला खोल्न सुरु गरिएको छ । काठमाडौँ महानगरपालिकाले दुई वटा डोजर प्रयोग गरी खोला उत्खनन सुरु गरेको छ ।

खोलामा बस्ती बसाइएको बारे गोरखापत्रले २०७९ देखि पाँच शृङ्खलामा र फुटकर पनि समाचार प्रकाशन गरेको थियो । ती समाचार प्रभावको तार्किक निष्कर्ष स्वरूप यज्ञमती र चखुँचाखोलाले पुनर्जीवन पाउने भएका छन् । यससँगै कपन क्षेत्रमा हुने डुबान र मानवीय असर कम हुने भएको छ ।

काठमाडौँ महानगरपालिका–७ का वडाध्यक्ष विमलकुमार होडाका अनुसार शुक्रबार साँझसम्ममा झन्डै पाँच सय मिटर खोला खोलिएको छ । उहाँले भन्नुभयो, “काठमाडौँ महानगरतर्फ खुला ठाउँ छ । खोला पुरिएको माटो, बालुवा निकालेर खुला ठाउँमा भर्ने, सम्याउने र खोलालाई साबिककै अवस्थामा फर्काउने गरी काम भइरहेको छ ।” काठमाडौँ महानगरपालिका–६ र बुढानीलकण्ठ नगरपालिका–१०, ११ र १२ को पानीको स्रोत यज्ञमती र चखुँचाखोलालाई ढलमा परिणत गरिएको थियो । जगडोल पार्कको देब्रेतर्फबाट बग्ने यज्ञमती खोला घुमेर कपन आनीगुम्बा हुँदै कपन प्रहरी चौकी, आरम्भचोकमा अर्को खहरेसँग मिल्छ । त्यसपछि चखुँचाखोला सुरु हुन्छ । चखुँचाखोला आरम्भचोक, मिलनचोक हुँदै धोबीखोलामा गएर मिसिन्छ । 

तीनबुँदे सहमति

काठमाडौँ महानगरपालिकाको टोली बिहीबारै खोला खोल्न पुगे पनि बुढानीलकण्ठ नगरपालिकाका जनप्रतिनिधिले असहमतिका कारण रोकिएको थियो । तर शुक्रबार काठमाडौँ महानगरपालिका–६ का अध्यक्ष भुवन लामा, वडा नम्बर–७ का अध्यक्ष विमलकुमार होडा, बुढानीलकण्ठ नगरपालिका–१० का अध्यक्ष नवराज भट्टराई र वडा नं. १२ का अध्यक्ष शम्भुप्रसाद भट्टराईबिच तीनबुँदे सहमति भएपछि यज्ञमती र चखुँचाखोलाको अस्तित्व कायम हुने भएको हो । चार जनाको हस्ताक्षर भएको सहमतिपत्रमा धोबीखोलादेखि साततलेसम्मको बुढानीलकण्ठ–१० र काठमाडौँ–७ को सीमा भागमा नापजाँच भई पर्खाल लगाएकाले उक्त भागको सतहमा खोलामा राखिएको ह्युमपाइप निकाल्ने उल्लेख छ । 

साथै धोबीखोला किनार, पाथीभरा बस्ती, समता टोल जाने बाटो, साततलेको चोक जस्ताको तस्तै राख्ने वा आवश्यकता अनुसार काठमाडौँ महानगरले बेलिब्रिज निर्माण गर्ने सहमति भएको छ । 

त्यसै गरी साततले चोकदेखि उत्तरतर्फ बुढानीकण्ठ–१० र १२ तथा काठमाडौँ महानगरपालिका–६ मा दुवैतर्फका जग्गाधनीको नक्सा पुर्जाअनुसारको जग्गा छुट्याई बाँकी भएको जग्गा खहरे कायम गरी दुवै महानगर र नगरपालिकाको सिमाना र खोलाको भाग रेखाङ्कन गरी छुट्याउने सहमति पनि भएको छ ।  

नापजाँचबाट सीमा यकिन गरी खोलाको भाग छुट्याएपछि दीर्घकालीन समस्या समाधान हुने गरी योजना बनाएर खोला र बाटो व्यवस्थापन गर्ने सम्बन्धमा दुवै स्थानीय तहको सम्बन्धित वडाध्यक्षहरूको लिखित सहमतिमा दोस्रो चरणको काम सुरु गर्ने सहमति भएको छ । उहाँहरूबिच दुवैतर्फबाट काममा सहजीकरण गरी विवाद निरूपण गर्ने सहमति भएको छ ।

२०५० यता अव्यवस्थित बस्ती विस्तारका कारण खोला पुरिएको थियो । सरस्वतीनगर सुधार सङ्घका अध्यक्ष पेशल पहाडीका अनुसार २०६० पछि खोला अतिक्रमण झनै बढेको थियो । गोरखापत्र दैनिकमा २०७९ साउन १५ देखि १९ गतेसम्म ‘खोलामा पसेको बस्ती’ शृङ्खलामा यज्ञमती र चखुँचाखोला अतिक्रमणको विषयमा समाचार प्रकाशित गरिएको थियो । त्यसपछि सरकारी निकाय र सरोकारवालाहरू खोला खोल्नुपर्ने निष्कर्षमा पुगेका हुन् । पूर्वमन्त्री एवं जलस्रोतविज्ञ दीपक ज्ञवालीले यज्ञमती र चखुँचाखोला खोल्नु सकारात्मक भएको बताउनुभयो । उहाँले भन्नुभयो, “बेलैमा काठमाडौँ महानगर र बुढानीलकण्ठ नगरपालिकाले खोला खोल्न अग्रसर हुनु सकारात्मक हो । कुरा प्रस्टै छ, यदि अहिले खोला नखोल्ने हो भने खोलाले बस्ती नै खोलेर आफ्नो बाटो कायम गर्ने सम्भावना प्रबल थियो ।”