• २७ वैशाख २०८१, बिहिबार

नेपाली चेसका पुरुषोत्तम

blog

भाइबहिनीहरू तिमीहरूलाई थाहा छ, विश्वमा करोडौँ मानिसले नियमित रूपमा चेस खेल्छन् रे । चेस सजिलै खेल्न सकिने खेल हो । घर घर, स्कुल स्कुल अझ जहाँ पनि खेल्न सकिन्छ । मात्र एउटा बोर्ड, गोटी र खेल्ने व्यक्ति भए पुगिहाल्यो । अहिले त अनलाइन चेस खेल्नेहरूको जमात पनि लाखौँमा छ । चेस खेल्यो भने मानसिक र बौद्धिक क्षमता अभिवृद्धि हुन्छ । त्यसैले पनि चेस खेल्नेको सङ्ख्या बढी भएको हुनु पर्छ ।

त्यसैले विश्वमा चेस खेल लोकप्रिय छ । चेसका खेलाडीहरूले राम्रो कमाइ पनि गर्छ तर नेपालमा यो खेल व्यावसायिक बन्न सकेको छैन । यो खेल नेपालमा फुटबल, क्रिकेट, भलिबल जस्तो लोकप्रिय पनि छैन । त्यसैले त खेलकुदमा रुचि भएका भाइबहिनीहरूलाई सोध्दा, म फुटबल खेलाडी बन्छु, क्रिकेटर बन्छु भन्छ । चेस खेलाडी बन्छु भन्ने विरलै हुन्छ तर पुरुषोत्तम सिलवालले सानो उमेरमै म चेस खेलाडी बन्छु भन्ने सपना देखेका छन् । पुरुषोत्तम अहिले मात्र १४ वर्षका भए ।

पुरुषोत्तमको चर्चा गत महिना नेपालमै भएको दक्षिण एसियाली चेस प्रतियोगितामा नेपालको तर्फबाट खेल्न चयन भएका चार खेलाडीमध्ये परेपछि भएको हो । सो प्रतियोगितामा आयोजक नेपालसहित भारत, बङ्गलादेश, पाकिस्तान, माल्दिभ्स, श्रीलङ्का र भुटान प्रतियोगितामा सहभागिता रहेको थियो । अफगानिस्तानले अन्तिम समयमा सहभागी नहुने निर्णय भएप्छि साउथ एसियन चेस काउन्सिलका अध्यक्षको परामर्शमा थप एक÷एक नेपाली खेलाडीले उक्त च्याम्पियनसिपमा सहभागिता जनाउन पाउने भयो । जसले पुरुषोत्तमले प्रतिष्ठित अन्तर्राष्ट्रिय चेस प्रतियोगिता खेल्ने मौका पाए । पुरुषोत्तमले सो अवसरलाई राम्रोसँग पनि प्रयोग गरे । सो प्रतियोगिता भर्खर किशोर उमेरमा पुगेका पुरुषोत्तमले सातौँ चरणमा बङ्गलादेशका २२१२ रेटेड फिडेमास्टर हसन पराग मेहन्दीलाई हराएर सनसनीपूर्ण नतिजा निकाले । उनले नेपालका पूर्वच्याम्पियन सुरवीर लामा र भुटानका अनरेटेड खेलाडी डिक्चेन दोर्जीलाई पनि हराए । हुनतः पुरुषोत्तमले पहिले नै भारतमा भएको इन्दोर ग्रान्डस्लाम चेस प्रतियोगितामा भाग लिएर अन्तर्राष्ट्रिय अनुभव लिइसकेका थिए ।

पुरुषोत्तम बालुवाटारस्थित मेन्डेरियन स्कुलमा कक्षा १० मा अध्ययनरत छन् तर स्कुल जीवनमै उहाँ नेपालका अन्तर्राष्ट्रिय चेस खेलाडी बनिसकेका छन् । पुरुषोत्तमले चेस खेल्न थालेको मात्र तीन वर्ष भएको छ । आफ्नो मामा प्रमोद भट्टराईले चेस बोर्ड किनेर उहाँलाई दिनुभएको थियो । सो बेलादेखि चेसमा उनको रुचि बढेको हो । घरमा कोही पनि चेस खेलाडी छैनन् । अहिलेसम्म उहाँले औपचारिक रूपमा कहीँबाट चेस सिकेका पनि छैनन् तर पुरुषोत्तममा चेस खेल्ने गजबको प्रतिभा छ । विशेषतः लकडाउनमा घरमै दाइहरूसँग र अनलाइन खेलेर चेस खेल्ने क्षमता विकास गरे । पुरुषोत्तम पनि भन्छन्, मैले अहिलेसम्म कसैबाट चेसको प्रशिक्षण लिएको छैन । अनलाइनबाटै धेरै सिकेँ । अनलाइनमा विभिन्न रेटिङका खेलाडीहरूसँग खेल्न सकिन्छ । तिनीहरूसँग खेलेर नै मेरो चेस खेल्ने क्षमता बढ्दै गयो तर पुरुषोत्तमलाई थाहा छ, राम्रो चेस खेलाडी बन्न गुरुको साथ पनि अत्यावश्यक हुन्छ । त्यसैले अब चेस प्रशिक्षकबाटै औपचारिक क्लास लिने योजनामा छन् ।

पुरुषोत्तमले चेस सिकेको केही समयपछि नै यु–१२ राष्ट्रिय च्याम्पियनसिप जितेका थिए । त्यसपछि उनले १४ वर्ष मुनिको राष्ट्रिय च्याम्पियन पनि जिते । यसै गरी, पुरुषोत्तमले यति सानो उमेरमा नै नेकोस फिडे रेटिङ प्रतियोगिता, चितवन ड्रिस्ट्रिक्ट च्याम्पियनसिप, नेसनल इन्टर स्कुल चेस च्याम्पियनसिपमा उपाधि जितिसकेका छन् । उनी पुल्चोक नेसनल कलेज टिम च्याम्पियनसिपमा बेस्ट प्लेयर घोषित भए । यसै गरी हेटौँडा राष्ट्रिय ओपन च्याम्पियसिपमा उपविजेता, राजेश हरि जोशी स्मृति राष्ट्रिय अनलाइन ब्लिजमा उपविजेता पनि उनको चेस जीवनको महìवपूर्ण उपलब्धिहरू हुन् । सो अनलाइन ब्लिजमा सुरवीर, पुरुषोत्तम चौलागाईं, रुपेश जैसवाल, केशव श्रेष्ठ जस्ता नेपालका दिग्गज खेलाडीलाई हराएर पुरुषोत्तमले अब नेपालको चेसको भविष्य आफू हो है भन्ने जनाउ दिएभन्दा फरक पर्दैन । पुरषोत्तम आफूले खेलेको पहिलो राष्ट्रिय च्याम्पियनसिपमा नै चौथो भएका थिए ।

विश्व चेस महासङ्घले प्रदान गर्ने वरीयतामा पुरुषोत्तम अहिले १८३४ रेटेट छन् । विश्व चेस महासङ्घ फिडेले खेलाडीहरूको प्रदर्शन र वरीयताको आधारमा दिने चेस टाइटलहरू दिने गर्दछ । जस्तै क्यान्डिडेट मास्टर (सिएम), इन्टरनेसनल मास्टस (आइएम), फिडे मास्टर (एफएम), ग्रान्डमास्टर (जिएम) । विश्व च्याम्पियनपछि ग्रान्डमास्टर चेस खेलाडीले प्राप्त गर्न सक्ने सबभन्दा ठूलो उपाधि हो । ग्रान्डमास्टर हुनलाई कम्तीमा २५०० रेटिङ हुनै पर्छ । पुरुषोत्तमले अहिले नेपालका पहिलो ग्रान्डमास्टर बन्ने सपना देखेका छन् । आफ्नो सपना पूरा हुनेमा उनी ढुक्क पनि छन् । म मेहनत गर्ने छु र ग्रान्डमास्टर बन्नेछु, पुरुषोत्तम भन्छन् । हुनतः सानो उमेरमा नै ग्रान्डमास्टरहरूसँग प्रतिस्पर्धात्मक खेल खेलिसकेकाले पनि पुरुषोत्तमको मनोबल उच्च भएको हुनु पर्छ ।