काठमाडौँ, असोज २७ गते । नेपालले आइतबार संयुक्त अरब इमिरेट्स (युएई) लाई एक रनले हराएर सन् २०२६ मा हुने आइसिसी टी–२० विश्वकपमा चयनतर्फ एक पाइला सारेको छ । चालु प्रतियोगितामा नेपाल अपराजित छ ।
आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्स अन्तर्गत आफ्नो पहिलो खेलबाट दुई अङ्क प्राप्त गरेपछि नेपालले चार अङ्कसहित अङ्क तालिकामा दोस्रो स्थान बनाएको छ । समूह चरणमा विजेता बनेर दुई अङ्कसहित नेपालले सुपर सिक्समा प्रवेश गरेको हो । नेपाल सरह चार अङ्क बनाएको ओमान रनरेटका आधारमा शीर्ष स्थानमा छ । सुपर सिक्समा शीर्ष तीन स्थानमा रहने टिम विश्वकपमा खेल्न योग्य हुने छन् । नेपालले अब सोमबार कतार, बुधबार सामोआ र शुक्रबार ओमानसँग खेल्ने छ । नेपालको लगातार दोस्रो पटक र समग्रमा तेस्रो पटक विश्वकप खेल्ने अभियानमा रहेको छ ।
यस नतिजाले नेपालले हेड टु हेडमा पनि युएईलाई पछाडि पारेको छ । यसअघि यी दुईले एकअर्काविरुद्ध खेलको १० टी–२० अन्तर्राष्ट्रियमा समान पाँच–पाँच खेल जितेका थिए ।
ऐरीको बलिङ, फिल्डिङ निर्णायक
ओमानको अल अमिरातस्थित ओमान क्रिकेट एकेडेमी टर्फ १ मा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा छ विकेटको क्षतिमा १४० रनको सामान्य स्कोर तयार पारेको थियो । युएईले जवाफमा नौ विकेटको क्षतिमा १३९ रन मात्र बनाउन सक्यो । अलिसन सराफुको अर्धशतकले युएई लक्ष्य पछ्याउने क्रममा सहज जिततर्फ अग्रसर थियो । कप्तान मोहम्मद वासिम एक रनमा सोमपाल कामीको सिकार बनेपछि सराफु र जोनाथन फिगीले दोस्रो विकेटका लागि ८१ रनको साझेदारी गरी युएईलाई जित नजिक पु¥याउनुभएको थियो ।
दीपेन्द्रसिंह ऐरीले फिगीलाई १९ रनमा स्टम्प्ड आउट गरी सो साझेदारी तोड्नुभयोे । दुई ओभरपछि दीपेन्द्रले नै सराफुलाई बोल्ड गरेपछि नेपाल खेलमा फर्कियो । कप्तान रोहितले खेलपछि सराफु आउट भएपछि आफूहरूमा खेल जित्न सक्छु भन्ने विश्वास आएको बताउनुभयो । सराफुले क्रिज छोड्नुअघि ४० बलमा तीन चौका र पाँच छक्कासहित ५८ रन बनाउनुभयो । त्यसपछि ऐरीले अन्तिम ओभरमा युएईलाई जितनजिक पु¥याउने धु्रव परासर (१८ बलमा ३२ रन) को पनि विकेट लिनुभयो । दीपेन्द्रले अन्तिम ओभरमा १० रन रक्षा गर्नुभएको हो । दीपेन्द्रले चार ओभरमा २२ रन खर्चेर सर्वाधिक तीन विकेट लिनुभयो । दीपेन्द्रको अन्तिम ओभरमा जाहिद अली (११ रन) र हैदर अली (०) रनआउट पनि हुनुभएको थियो । यसै गरी दीपेन्द्रले राहुल चोपारा (७ रन) लाई पनि रनआउट गरी पवेलियन फर्काउनुभएको थियो । ब्याट्बाट मात्र एक रन बनाए पनि दीपेन्द्र आफ्नो सानदार बलिङ र फिल्डिङले म्यान अफ दी म्याचको हकदार बन्नुभयो । नेपालका लागि सोमपाल कामी, गुल्सन झा र सन्दीप लामिछानेले पनि विकेट लिएर युएईलाई लक्ष्यबाट रोक्न भूमिका खेल्नुभयो ।
आसिफको अर्धशतक
यसअघि प्रारम्भिक ब्याट्सम्यान आसिफ शेखको ४७ बलमा ५१ रन बनाएर नेपालको पालि समाल्नुभएको थियो । आसिफको पालिमा चार चौका र एक छक्का सामेल थियो । आसिफले कुशल भुर्तेलसँग मिलेर पहिलो विकेटका लागि ७.५ ओभरमा ५६ रनको साझेदारी निर्वाह गर्नुभयो । भुर्तेल दुई चौका र दुई छक्कासहित २६ बलमा २८ रन बनाएर आउट हुनुभयो । त्यसपछि नेपालले सुरुको १० ओभरमा एक विकेटको क्षतिमा ७३ रन बनाएर राम्रो स्थितिमा थियो । त्यसपछि युएईले खेलमा पुनरागमन ग¥यो । कप्तान रोहित पौडेल १९ बलमा एक चौकासहित २० रन बनाएर आउट हुनुभयो । कुशल मल्लले ११ बलमा १० रनको सुस्त पालि खेल्नुभयो । उहाँले एक पटक पनि बललाई सीमारेखा कटाउन सक्नुभएन । दीपेन्द्रसिंह ऐरी छक्का प्रहार गर्ने क्रममा आउट हुनुभयो । गुल्सनले भने पाँच बलमा १४ रनको सङ्क्षिप्त तर आकर्षक पालि खेल्नुभयो । युएईका प्रमुख बलर जुनेद सिद्दिकीले फालेको १८ औँ ओभरमा गुल्सनले लगातार तीन बलमा चौका, छक्का र चौका प्रहार गर्नुभएको थियो । यद्यपि सोही ओभरमा गुल्सन आउट हुनुभयो । सन्दीप जोरा चार र सोमपाल कामी छ रनमा अविजित रहनुभयो । युएईका लागि जुनेद सिद्दिकी, मोहम्मद रोहिद, जाहिद अली, ध्रुव पराशर, हर्षित कौशिक र हेदर अलीले एक–एक विकेट लिनुभयो ।
‘दबाबमा राम्रो बलिङ ग¥यौँ’
नेपालका कप्तान रोहितले १४० रन पर्याप्त थिएन तर पनि खेल जित्ने विश्वास थियो, भन्नुभएको छ । हामीले युएईको पालिको अन्तिम केही ओभरमा गरेको सानदार बलिङ ग¥यौँ । दबाबमा राम्रो बलिङ भयो र युएईका ब्याट्सम्यानले गल्ती गरे, त्यसैले खेल जित्न सफल भयौँ, कप्तान रोहितले भन्नुभयो ।
युएईका कप्तान वासिमले खेलको परिस्थिति अनुसार आफ्ना ब्याट्सम्यानले ब्याटिङ नगर्दा सजिलै जित्ने खेलमा पनि हार बेहोर्नु परेको प्रतिक्रिया दिनुभयो ।