• १० मंसिर २०८२, बुधबार

‘नदेख्ने’ ले देखाइदिए संसारलाई

blog

विश्वकप जित्ने राम्रो अवसर थियो तर तयारी, स्रोतसाधनको अभाव र अन्य कारणले अन्तिम बाधा पार गर्न नसकेकोेमा केही दुःख लागेको छ ।

काठमाडौँ, मङ्सिर १० गते । प्रथम दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकप क्रिकेट प्रतियोगिताको उपविजेता बनेर नेपालले ठुलो उपलब्धि हासिल गरेको छ । यद्यपि नेपाली महिला दृष्टिविहीन टिम सन्तुष्ट छैन । नेपाली टिमकी कप्तान गीता पौडेललाई विश्वकप जितेर इतिहास बनाउन नसकेको छट्पटी छ ।

गत आइतबार श्रीलङ्काको कोलम्बोस्थित पी साराभानमुटु क्रिकेट रङ्गशालामा भएको फाइनलमा सहआयोजक भारतसँग फाइनलमा पराजित भएपछि नेपालले उपविजेतामा चित्त बुझाएको थियो । उपविजेता टिमलाई नेपाल क्रिकेट सङ्घ (क्यान) ले खेलाडीलाई सम्मान गर्नुका साथै नेपाल दृष्टिविहीन क्रिकेट सङ्घलाई १० लाख रुपियाँ पुरस्कार प्रदान ग¥यो । दुई दिनअघि अस्ट्रेलिया, पाकिस्तान, श्रीलङ्का र अमेरिकाको पनि सहभागिता रहेको यस विश्वकपमा भारतले अपराजित रहँदै उपाधि जितेको हो । नेपालले भने प्रतियोगितामा भारतसँग मात्र हार बेहो¥यो । नेपालले समूह चरणमा अस्ट्रेलिया, पाकिस्तान र श्रीलङ्कालाई हराएको थियो । त्यसपछि सेमिफाइनलमा पुनः पाकिस्तानलाई पराजित गरेको थियो ।

कप्तान गीता भन्नुहुन्छ, “विश्वकप जित्ने राम्रो अवसर थियो तर तयारी, स्रोतसाधनको अभाव र अन्य कारणले अन्तिम बाधा पार गर्न नसकेकोमा केही दुःख लागेको छ । हुन त स्रोतसाधनको कमी हुँदा पनि विश्वकप उपविजेता बन्नु ठूलो कुरा हो जस्तो लाग्छ तर अझै पनि सन्तुष्ट छैनौँ । हामीसँग भएको पूर्ण क्षमताको उपयोग हुन सकेन जस्तो लाग्छ ।”

दुई वर्षअघि मूलपानी क्रिकेट मैदानमा भएको पाँच खेलको शृङ्खलामा नेपाली महिला टिमले विजेता भारतलाई ४–१ ले हराएको थियो । त्यसैले पनि कप्तान गीताले विश्वकप च्याम्पियनको अवसर गुमाएको प्रतिक्रिया दिनुभएको हो । नेपाल दृष्टिविहीन क्रिकेट सङ्घका अध्यक्ष पवन घिमिरे पनि भारतविरुद्धको शृङ्खला सजिलै जितेकाले विश्वकप पनि जित्छौँ भन्ने विश्वास थियो भन्नुहुन्छ । “तर, भारतले दृष्टिविहीन क्रिकेटमा लगानी गरेर लामो समयसम्म तयारी गरेको रहेछ । सायद तयारी राम्रो हुन सकेको भए पक्कै हामी विश्वविजेता बन्ने थियौँ,” उहाँको भनाइ छ ।

नेपाली महिला दृष्टिविहीन टिम विश्वकप खेल्न जाँदा खासै चर्चा पनि भएको थिएन । सो टिमलाई अभ्यास गर्न मैदानका लागि पनि भौँतारिनु परेको थियो । कप्तान गीताका अनुसार काठमाडौँमा मैदान नपाउँदा नै पोखरासम्म गएर अभ्यास गर्नुप¥यो । सो टिमले सानो क्रिकेट एकेडेमीमा अभ्यास गरेको थियो ।

कप्तान गीताका अनुसार विश्वकपमा खेल्न जानुअघि कमै साथसहयोग थियो । टिममा रहेका १६ खेलाडीलाई अभ्यास जर्सी आफैँले जुटाउनु परेको अवस्था थियो । उहाँले आफूहरूको ठुलो चाहना नभएको तर केही आधारभूत सुविधा मात्र प्राप्त भएमा पनि खुसी हुने बताउनुभएको छ । “खेलको समयमा मात्र पारिश्रमिक उपलब्ध भएमा पनि खुसी हुने छौँ । छुट्टै रङ्गशाला चाहियो भन्दैनौँ तर खेल्न चाहेका बेला सहज रूपमा मैदान उपलब्ध हुनु प¥यो । स्रोतसाधन चाहियो । समग्रमा खेलाडीलाई चाहिने आवश्यक बल, ब्याट, जर्सी, जुत्ता र मैदान भएमा पनि हामी सन्तुष्ट हुन्छौँ,” उहाँले भन्नुभयो । एनपिएल भइरहेका बेला त्रिवि मैदानमा सम्मानित हुन पाएकोमा धेरै खुसी लागेको बताउने कप्तान गीताले यो सुरुवात होस् भन्ने चाहना राख्नुभएको छ । उहाँले भन्नुभयो, “यस सम्मानले आगामी दिनमा हामीलाई एक्लो अनुभव हुन दिने छैन भन्ने अनुभूति भएको छ ।”

यसै गरी अध्यक्ष घिमिरेले नदेख्नेले संसारलाई देखाउन सक्छ भन्ने सन्देश आफ्नो टिमले दिएको बताउँदै भन्नुभयो, “दोस्रो दर्जा होइन, पहिलो दर्जाको नागरिक हौँ भन्ने अनुभूति भइरहेको छ ।” घिमिरे स्वयम् दृष्टिविहीन हुनुहुन्छ । अध्यक्ष घिमिरेले एक दिनअघि प्रधानमन्त्री सुशीला कार्कीसमक्ष दृष्टिविहीन क्रिकेटबारे धारणा राख्न पाउँदा पनि खुसी भएको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रधानमन्त्रीले पनि सहयोग गर्ने वचन दिनुभएको छ ।” प्रधानमन्त्री कार्कीले प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर सो टिमलाई बधाई दिनुभएको हो ।