• २९ असोज २०८२, बुधबार

नेपाल टी–२० विश्वकपको सँघारमा

blog

काठमाडौँ, असोज २९ गते । आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा बुधबार घरेलु टिम ओमानविरुद्ध हुने खेलले नेपाली क्रिकेटमा ठुलो महत्व राख्छ । ओमानलाई हराएमा नेपालको आगामी टी–२० विश्वकपमा चयन लगभग पक्का हुने मात्र होइन, नेपाल उपाधिकै नजिक पुग्ने छ । नेपाल समग्रमा तेस्रो र लगातार दोस्रो पल्ट टी–२० विश्वकप खेल्ने अभियानमा छ ।

नेपाल र ओमानबिचको खेल चालु प्रतियोगितामा दुई उत्कृष्ट टिमबिचको भिडन्त पनि हो । बुधबार यी दुईमध्ये एकको अपराजित यात्रा तोडिने छ । अहिले ओमान र नेपाल समान छ अङ्कमा छन् यद्यपि ओमान रन अन्तरले शीर्ष स्थानमा छ ।

ओमानलाई घरेलु मैदान र वातावरणको फाइदा छ तर अल अमिरातस्थित ओमान क्रिकेट एकेडेमीमा खेल हुँदा समर्थक नेपालकै बढी हुने पक्का छ । त्यसैले ओमानविरुद्ध खेल्दा पनि नेपाललाई घरमै खेलको अनुभव हुने छ भन्दा फरक पर्दैन । 

इतिहास हेर्ने हो भने हेड टु हेडमा ओमानभन्दा नेपाल धेरै अगाडि छ । यी दुई टिमबिच अहिलेसम्म भएका सात खेलमा नेपालले पाँच र ओमानले दुई खेल जितेको छ । यद्यपि ओमानको लयलाई हेर्ने हो भने विगतका नतिजाले सायदै यी दुवै टिमलाई फरक पार्ने छ । यस प्रतियोगितामा ओमानले युएईसँग बाहेक प्रायः खेल सहजै जितेको छ । नेपालले भने प्रायः खेल जित्न सङ्घर्ष गर्नु परेको छ । यद्यपि अन्तिम समयसम्म हार नमान्ने नेपालले यस प्रतियोगितामा प्रायः खेलमा हारको स्थितिबाट नतिजा उल्ट्याएको छ । यही विशेषताले नेपाललाई खतरनाक टिमका रूपमा प्रस्तुत गरेको छ ।

नेपालको सफलतामा प्रायः जितमा फरक फरक खेलाडी नायक बनेका छन् । त्यसैले ओमानविरुद्धको खेलमा स्टार लेग स्पिनर सन्दीप लामिछाने, कुशल भुर्तेल, कप्तान रोहित पौडेल, गुल्सन झा, आसिफ शेखमा नेपालको विशेष अपेक्षा हुने छ । ओमानको जितमा भने प्रायः खेलमा समूहगत योगदान रहेको छ । यद्यपि कप्तान जितेन्दर सिंह ओमानका हेर्नलायक खेलाडी हुनुहुन्छ ।

कतारविरुद्ध पाँच रनको जित

सन्दीप लामिछानेले पाँच विकेट लिएपछि नेपालले सोमबार राति कतारलाई पाँच रनले हरायो । नेपालले पहिले ब्याटिङ गर्दै नौ विकेटको क्षतिमा १४७ रनको चुनौतीपूर्ण स्कोर तयार पारेको थियो । कतार जवाफमा एक बल बाँकी छँदै १४२ रनमा अलआउट भयो । 

प्रारम्भिक ब्याट्सम्यानद्वय इमाल लियानागेले ३५ बलमा पाँच चौका र तीन छक्कासहित ५५ र जुबेर अलीले दुई चौका र एक छक्कासहित ५२ रन बनाएपछि कतार सहज जिततर्फ अग्रसर थियो । सन्दीपले भने ३.५ ओभरमा १८ रन खर्चेर पाँच विकेट लिई नेपाललाई अकल्पनीय जित दिलाउनुभयो । सन्दीपले दोस्रो पटक टी–२० मा पाँच विकेटको कोसेढुङ्गा छुनुभएको हो । यस क्रममा उहाँले अन्तर्राष्ट्रिय क्रिकेटमा २५० विकेटको कोसेढुङ्गा पनि पार गर्नुभएको छ । सन्दीप नै प्लेअर अफ दी म्याच बन्नुभयो ।

नन्दन यादवले पनि नेपाल समस्यामा छँदा दुई विकेट लिनुभयो । दीपेन्द्रसिंह ऐरीको खातामा पनि एक विकेट प¥यो । कतारका दुई प्रारम्भिक ब्याट्सम्यानबाहेक मोहम्मद असिम लियाकत अली (१० रन) ले मात्र दोहोरो अङ्कमा रन बनाउन सक्नुभएन ।

यसअघि नेपालका लागि कप्तान रोहित पौडेलले ४१ बलमा सर्वाधिक ५८ रन बनाउनुभएको थियो । उहाँको पालिमा सात चौका र एक छक्का सामेल थियो । रोहितले चौथो विकेटका लागि दीपेन्द्रसिंह ऐरीसँग गरेको ६२ रनको साझेदारीले नेपालको पालि राम्रो भएको हो । दीपेन्द्रले २२ बलमा एक चौकासहित २६ रनको पालि खेल्नुभयो । यी दुईबाहेक गुल्सन झा (आठ बलमा १६ रन) र सोमपाल कामी (नौ बलमा १४ रन) ले उपयोगी पालि खेल्नुभयो । अन्य ब्याट्सम्यानमा कुशल भुर्तेल छ, आसिफ शेख ११, कुशल मल्ल आठ, आदिल अन्सारी दुई, सन्दीप जोरा एक रनमा आउट हुनुभयो । नन्दन यादव एक रनमा अविजित रहनुभयो ।

कतारका लागि मिर्जा मोहम्मद बेग र डेनियल आर्चर मारिया लुइसले तीन/तीन विकेट तथा मोहम्मद आसिम, लियाकत अली र ओवासिस अहमदले एक/एक विकेट लिनुभयो ।