• ९ कात्तिक २०८२, आइतबार

आइसिसी क्रिकेट विश्वकप लिग २

पुनरागमनको दबाबमा नेपाल

blog

काठमाडौँ, कात्तिक ९ गते । पछिल्ला केही समय क्रिकेटको छोटो संरचना टी–२० मा रमाएको नेपाली टिम अब अर्को संरचना एकदिवसीय क्रिकेटमा फर्किंदै छ । नेपाल आइसिसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत हुन लागेको त्रिदेशीय शृङ्खलामा अमेरिका र घरेलु टिम संयुक्त अरब इमिरेट्स (युएई) सँग प्रतिस्पर्धा गर्न दुबईमा छ ।

नेपालले सोमबार अमेरिकासँग खेलेर प्रतियोगिताको सुरुवात गर्दै छ । त्यसपछि नेपालले अक्टोबर ३० मा युएई, नोभेम्बर १ मा अमेरिका र नोभेम्बर ५ मा युएईको सामना गर्ने छ ।

करिब चार वर्षसम्म चल्ने लिग २ अहिले आधा बाटोमा छ । यो एकदिवसीय मान्यता प्राप्त हुने र विश्वकप ग्लोबल छनोटमा स्वतः चयन हुनका लागि महत्वपूर्ण प्रतियोगिता हो । आठ टिम सहभागी लिग २ बाट चार टिमले स्वतः क्रिकेट विश्वकप क्वालिफायरमा स्थान बनाउने छ ।

यस प्रतियोगितामा अपेक्षित प्रदर्शन गर्न नसकेमा नेपालको शीर्ष चारको लक्ष्य कठिन हुने छ । स्टुवार्ट लको प्रशिक्षकत्वमा पछिल्लो शृङ्खलामा नेदरल्यान्ड्सलाई दुई र स्कटल्यान्डलाई एक खेलमा हराएको नेपाली टिमले यस प्रतियोगितामा पनि सोही लय देखाउनु जरुरी छ । किनभने शीर्ष चारको अभियानमा नेपालको सुरुवात अहिले कमजोर छ । नेपाल १६ खेलमा १२ अङ्क बनाएर सातौँ स्थानमा छ । नेपालले पाँच जित, नौ हार र दुई अनिर्णीत नतिजामा खेलेको छ । पछिल्लो शृङ्खला खेल्नुअघि नेपाल अङ्कतालिकाको पुछारमा थियो । यद्यपि नेपालले चार महिनाअघि घरेलु टिम स्कटल्यान्ड र नेदरल्यान्ड्स सामेल त्रिदेशीय शृङ्खलामा चारमध्ये तीन खेल जितेर पुनरागमन गर्ने छाँट देखाएको छ ।

नेपाली क्रिकेट टिम अहिले उच्च मनोबलमा पनि छ । यसै महिना ओमानमा भएको आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटमा दुई खेलअघि नै नेपाल सन् २०२६ मा हुने विश्वकपमा चयन भएको थियो । नेपालले समग्रमा तेस्रो पटक र लगातार दोस्रो पटक आइसिसी टी–२० विश्वकपमा खेल्दै छ । नेपाल प्रतियोगितामा अपराजित एक मात्र टिमका रूपमा रहेको थियो । समूह चरणमा जापान र कुवेतलाई हराएपछि नेपालले सुपर सिक्समा घरेलु टिम ओमान, युएई, कतार, सामोआलाई पनि घुँडा टेकाएको थियो । सो प्रतियोगिताअघि नेपालले वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक टी–२० शृङ्खला पनि २–१ ले जितेर इतिहास बनाएको थियो । त्यसैले नेपालबाट ठुलै अपेक्षा गर्न सकिन्छ ।

यद्यपि यस शृङ्खलामा सफलता प्राप्त गर्न नेपाललाई त्यति सहज हुने छैन । पछिल्ला चार महिना एकदिवसीय क्रिकेट नखेलेकाले नेपाली टिमलाई एकै चोटि यस संरचनाका महत्वपूर्ण खेल खेल्न कठिन हुन सक्छ । लगातार टी–२० खेलिरहेकाले खेलाडीलाई नयाँ संरचनामा फटाफट अभ्यस्त हुनुपर्ने हुन्छ । जुन सजिलो काम होइन ।

यसबाहेक अमेरिका र युएई कठिन प्रतिस्पर्धी हुन् । हालै नेपाल जस्तै टी–२० शृङ्खलामा युएईले पनि सानदार लय देखाएको छ । नेपालसँगै युएई पनि टी–२० विश्वकपमा चयन भइसकेको छ । युएईले सो प्रतियोगिताअघि बङ्गलादेश जस्तो सशक्त टिमलाई टी–२० शृङ्खलामा हराएको थियो । यसबाहेक युएई घरेलु वातावरणमा खेल्दै छ । अङ्कतालिकामा पुछारमा रहेको युएई पनि पुनरागमनको लक्ष्यमा छ । युएईविरुद्ध नेपाल पछिल्ला पाँच खेलमा अपराजित छ । एकदिवसीय संरचनामा नेपाल र युएई १५ पटक आमनेसामने भएका छन् । नेपालले नौ र युएईले छ खेल जितेका छन् ।

अर्को प्रतिद्वन्द्वी अमेरिका २० खेलमा १४ जित र छ हारसहित अङ्क तालिकाको शीर्ष स्थानमा छ । अमेरिकाका मोनाङ्क पटेल, मिलिन्द कुमार र साई मुकामल्ला ब्याटबाट सानदार लयमा हुनुहुन्छ । यसै गरी मिलिन्द (२० विकेट), नोसथुस केनिगे (२७ विकेट) र हरमित सिंह (२२ विकेट) को उपस्थितिमा अमेरिकाको स्पिन पक्ष पनि सशक्त छ । तेज बलर सौरभ नेट्रावल्करले पनि चालु प्रतियोगितामा २७ विकेट लिइसक्नुभएको छ । अमेरिका पछिल्ला छ खेलमा अपराजित छ । यसै गरी नेपालले अमेरिकासँग भएका आठमध्ये चार खेल जितेको छ । एक खेल ‘टाइ’ भएको थियो ।

यस प्रतियोगिताका लागि विश्वकप छनोटमा खेलेको टोलीबाट आदिल आलम, सन्दीप जोरा र लोकेश बमको स्थानमा अनिल साह, भीम सार्की र साहब आलमलाई टिममा समावेश गरिएको छ ।

नेपाली टोली : रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ सेख, कुशल मल्ल, सन्दीप लामिछाने, करण केसी, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी, अनिल साह, आरिफ शेख, भीम सार्की, गुल्सन झा र साहब आलम ।