• १५ मंसिर २०८१, शनिबार

सामुदायिक वनमा कागती खेती

blog

नेपालगन्ज समाचारदाता

नेपालगन्ज, साउन २३ गते । बाँकेको एक सामुदायिक वनले कागती खेती गर्न सुरु गरेपछि त्यसबाट सो वनका उपभोक्तालाई राम्रो आम्दानी हुन थालेको छ । 

जिल्लाको कोहलपुर नगरपालिका–१२ मा रहेको सिर्जना सामुदायिक वनले गरेको सामूहिक कागती खेतीबाट समूहले मनग्गे आम्दानी गरिरहेको सामुदायिक वनका उपभोक्ताले जनाएका छन् ।

सिर्जना सामुदायिक वनका अध्यक्ष सुमन पौडेलले वनको खाली एक हेक्टर जग्गामा विभिन्न प्रजातिका कागती लगाई सुरु गरिएको सामूहिक खेतीबाट १३७ जना उपभोक्ता लाभान्वित हुँदै आएको बताउनुभयो ।  उहाँले सो वनमा लगाइएका एक हजार कागतीका बिरुवाबाट राम्रो उत्पादन भइरहेको बताउनुभयो । अध्यक्ष पौडेलका अनुसार यस सिजनमा मात्र सो वनमा करिब दुई हजार आठ सय किलो कागती फलेको जनाउँदै उपभोक्तालाई सोको बाँडफाँट सुरु गरिएको बताउनुभयो । 

हालसम्म करिब एक हजार किलो कागती टिपेर वनका १३७ जना उपभोक्तालाई जनही सात किलोका दरले वितरण गरिएको छ । हालसम्म एक तिहाइ मात्र कागती टिपिएको र अझै दुई तिहाइ कागती टिप्न बाँकी रहेकाले हरेक उपभोक्तालाई २० किलो कागती वितरण हुने सिर्जना सामुदायिक वनले जनाएको छ । 

आफ्नो भागमा परेको कागती बिक्री गरेर घर खर्च चलाउने गरेको उपभोक्ताले जनाएका छन् । सो वनका उपभोक्ता विनोद थापाले आफ्नो भागमा परेको कागती बेचेर बालबालिकाको पढाइ खर्च निकाल्ने गरेको बताउनुभयो । 

उहाँले अन्य बाली जस्तो सधैँ हेरविचार गोडमेलसमेत गर्नु नपर्ने र बँदेल, बाँदर जस्ता जनावरले पनि कागती बालीलाई नोक्सानी नपु¥याउने हुँदा थप वनको खाली जग्गामा पनि कागती खेती विस्तार गर्ने तयारी भइरहेको बताउनुभयो । 

आगामी वर्षबाट कागती खेती विस्तार हुँदै गएपछि एक जना उपभोक्तालाई करिब ४० किलोसम्म कागती वितरण हुने हुँदा आम्दानी पनि बढ्ने उपभोक्ताको भनाइ छ ।  

कृषि ज्ञान केन्द्र बाँकेले सामुदायिक वनमा गरिएको कागती खेतीबाट राम्रो आम्दानी हुन थालेपछि सो खेती गर्ने उपभोक्तालाई प्राविधिक ज्ञान दिनुका साथै अन्य सहयोग गरिने जनाएको छ । 

कृषि ज्ञान केन्द्र नेपालगन्जका प्रमुख सकिल अहमदले सिर्जना सामुदायिक वनका उपभोक्ताले गरेको कागती खेती निकै सराहनीय रहेको बताउनुभयो ।