• १५ वैशाख २०८१, शनिबार

नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग : छिचोलियो आपतकालीन सुरुङ

blog

सिस्नेखोला (धादिङ), साउन २३ गते । नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग आयोजना अन्तर्गतको आपत्कालीन उद्धार सुरुङ छिचोलिएको छ । सोमबार अन्तिम विस्फोट गराएर सो सुरुङ मार्ग छिचोलिएको हो । विस्फोटसँगै छिचोल्न बाँकी रहेको एक मिटर भाग भत्केर सुरुङ वारपार भएको थियो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले ‘स्विच’ थिचेर अन्तिम विस्फोट गराउनुभएको थियो । यो सुरुङ मार्गको कुल लम्बाइ दुई हजार ५५७ मिटर छ ।

छिचोलिएपछि सुरुङको एक किलोमिटरभित्र आयोजना गरिएको कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री ज्वाला, राज्यमन्त्री नन्दा चपाईं, नेपालका लागि जापानका राजदूत किकुता युताका, निर्माण कम्पनी हाज्मा आन्दोका नेपाल प्रमुख केनिएची इनोइलगायतले नेपाली र जापानी संस्कृति अनुसार फलफूल, नारिवल, चामल, नुन र वाइनले संयुक्त पूजाआजा गरी सुरुङ ‘ब्रेक थ्रु’ भएको घोषणा गर्नुभयो । २०७६ कात्तिक ४ गते सुरुङ मार्गको शिलान्यास गरिएको थियो ।

‘ब्रेक थ्रु’ सँगै मुलुक यातायात क्षेत्रमा आधुनिक सुरुङ युगमा प्रवेश गरेको र सुरुङ मार्गको शुभारम्भ भएको बताउँदै मन्त्री ज्वालाले मुलुकको समृद्धिका लागि आजको यो क्षण ऐतिहासिक र गौरवपूर्ण छ । उहाँले सुरुङको ‘ब्रेक थ्रु’ का लागि गरिएको विस्फोटकको ध्वनिले अब मुलुक यातायातको क्षेत्रमा सुरुङ युगमा प्रवेश गरेको सन्देश दिएको छ भन्नुभयो । हाम्रै पालामा मुलुक सुरुङ मार्ग युगमा प्रवेश गरेकोमा  गौरव महसुस भइरहेको बताउँदै उहाँले सुरुङ मार्गले मुलुकको सङ्घीय राजधानी आवतजावतका लागि ढोकाका रूपमा काम गर्ने र छिट्टै नै मुख्य सुरुङको ‘ब्रेक थ्रु’ हुने विश्वास व्यक्त गर्नुभयो । सुरुङ मार्ग निर्माणलाई समयमा सम्पन्न गर्न अनुगमन तथा निरीक्षण कार्यलाई थप तीव्रता दिने बताउनुभयो ।

जापानको प्रविधि, सामग्री र उपकरणले निर्माण भइरहेको यो सुरुङ मार्ग जापानमा रहेका सुरुङहरूकै स्तरको हुने उहाँले बताउनुभयो । चालु आर्थिक वर्षमा नै सुरुङभित्र यातायात सञ्चालन गर्ने गरी कामलाई तीव्रता दिएको बताउँदै उहाँले निर्धारित समयमा गुणस्तरीय किसिमले सुरुङ निर्माण सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो । जापानका राजदूत किकुताले जापानको प्रविधिले निर्माण नेपालको पहिलो आधुनिक सुरुङ मार्ग निर्माण भइरहेकोमा खुसी व्यक्त गर्दै यसको निर्माणसँगै यातायातको क्षेत्रमा नेपाल सुरुङ युगमा प्रवेश गरेको बताउनुभयो ।

मुख्य सुरुङ खन्न पाँच सय मिटर बाँकी

आयोजनाको मुख्य सुरुङ खन्न अब पाँच सय मिटर बाँकी छ । मुख्य सुरुङमार्गको दुई हजार ६८८ मिटरमध्ये दुई हजार १८८ मिटर खन्ने काम सम्पन्न भइसकेको छ । अहिले धादिङ र काठमाडौँ दुवैतिरबाट तीव्र गतिमा सुरुङ खन्ने काम भइरहेको आयोजनाका प्रवक्ता रमेश कोइरालाले जानकारी दिनुभयो । आयोजनाको सुरुङ खन्ने काम ९१ प्रतिशत सम्पन्न भइसकेको छ भने आयोजनाको समग्र भौतिक प्रगति ८० प्रतिशत छ । 

उहाँका अनुसार खनिएको सुरुङको ‘फिनिसिङ’ (कङ्क्रिट लाइनिङ) को काम अहिलेसम्म ४३ प्रतिशत पूरा भइसकेको छ । यस आयोजना अन्तर्गत निर्माण गर्नुपर्ने कुल १२ संरचनामध्ये अहिलेसम्म तीन वटा अन्डर पास, चार वटा कल्भर्ट, तीन वटा पुल र एउटा ओभरपास निर्माण सम्पन्न भइसकेको छ । अब फ्लाइओभरको निर्माण मात्र बाँकी छ । 

आयोजनाको कुल लागत २० अर्ब ६० करोड रुपियाँ रहेकोमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का तर्फबाट १५ अर्ब ८० करोड र नेपाल सरकारका तर्फबाट चार अर्ब ८० करोड रुपियाँ खर्च गरिने छ । सुरुङ मार्ग निर्माणका लागि जाइकाले सन् २०१५ मा प्रारम्भिक अध्ययन गरेको थियो । जाइकासँग शून्य दशमलब १ प्रतिशत ब्याजदरमा ४० वर्षभित्र फिर्ता गर्नेगरी सो ऋण सम्झौता भएको हो ।

भिडियो : मनोजरत्न शाही