नविीवेदी
सुर्खेत, साउन १८ गते । सङ्घीय सरकार मातहतमा रहेको पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतका लागि आवश्यक बजेटको व्यवस्था गर्न कर्णाली प्रदेश सरकारले पहल थालेको छ । बुधबार कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भीम प्रकाश शर्माले कृषि तथा पशुपन्छी विकास मन्त्री बेदुराम भुसालसँग प्रयोगशाला सञ्चालान तथा लम्पी रोग महामारी नियन्त्रणका लागि ध्यानाकर्षणसहित छलफल गर्नुभएको हो ।
लम्पी स्किन रोग कर्णालीमा नियन्त्रण बाहिर जान थालेको समयमा प्रयोगशाला बन्द हुनुमा प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै मन्त्री शर्माले कृषि मन्त्री भुसालसँग प्रयोगशाला सञ्चालनमा गम्भीर हुन अनुरोध गर्नुभएको थियो ।
सङ्घीय सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको पशुसेवा विभाग अन्तर्गत केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा सञ्चालन सम्बन्धमा सरोकारवाला निकायसँग कुनै पनि छलफल नगरी अर्थमन्त्री महतले सार्वजनिक गर्नुभएको बजेट वक्तव्यका क्रममा प्रयोगशालाका लागि आवश्यक बजेट विनियोजन नभएको बताइएको छ ।
अर्थ मन्त्रालयले समेत प्रयोगशालामा कुनैपनि किसिमको आर्थिक क्रियाकलाप नगर्न परिपत्र जारी गरे लगतै त्यस अन्तर्गत विराटनगर, जनकपुर, पोखरा, सुर्खेत र धनगढीमा पशुपन्छी रोग अन्वेषण प्रयोगशालाले सूचना जारी गर्दै साउन १५ गतेदेखि सेवा प्रवाह गर्न नसकिने सूचना जारी गरेका थिए ।