• ७ जेठ २०८१, सोमबार

मनसुन : डेढ महिनामा ५० जनाको मृत्यु , नौ अर्बभन्दा बढी क्षति

blog

काठमाडौं,साउन १६ गते । नेपालमा मनसुन भित्रिएको डेढ महिना पुगेको छ । जेठ ३१ गते भित्रिएको मनसुनले नेपालमा जनधनको क्षति गरेको छ । मनसुनजन्य बाढी, पहिरो तथा चट्याङबाट अहिलेसम्म ५० जनाको मृत्यु भएको छ । यो अवधिमा २५ जना बेपत्ता भएका छन् । मनसुनका कारण साढे नौ अर्बभन्दा बढीको क्षति भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काका अनुसार सबैभन्दा बढी मृत्यु पहिरोको कारणले भएको छ । पहिरोमा परेर २४ जनाको ज्यान गएको छ । यस्तै चट्याङ्ले १९ जनाको मृत्यु हुँदा बाढीले सात जनाको ज्यान गएको छ । सबैभन्दा बढी घाइते चट्याङका कारण भएका छन् । जसबाट ४२ जना घाइते भएका छन् । यस्तै पहिरोबाट २३ जना घाइते हुँदा बाढीबाट पाँच जना घाइते छन् । 

सबैभन्दा बढी बेपत्ता बाढीबाट भएका छन् । बाढीबाट २० जना बेपत्ता हुँदा पहिरोबाट पाँच बेपत्ता छन् । मनसुन भित्रिएसँगै पूर्वमा ठुलो पानी परेकाले त्यो क्षेत्रमा धेरै क्षति भएको छ । उहाँले भन्नुभयो, ‘‘यसपालिको मनसुनको डेढ महिनाको क्षतिलाई विश्लेषण गर्दा सबैभन्दा बढी मानवीय क्षति पहिरोबाट भएको छ । बाढी र पहिरोले पूर्वी भागमा क्षति पनि बढी भएको छ ।’’ 

 साढे आठ करोड निजी सम्पत्ति क्षति 

मनसुनजन्य गतिविधिका कारण अहिलेसम्म साढे आठ करोड बढीको निजी सम्पत्ति क्षति भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन  प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काका अनुसार अहिलेसम्म आठ करोड ५५ लाखभन्दा बढीको निजी सम्पत्ति क्षति भएको छ । जसअन्तर्गत बाढीबाट चार करोड ८५ लाख ५० हजार बराबरको क्षति भएको तथ्याङ्क छ । पहिरोबाट तीन करोड ४८ लाख सात हजार बराबरको निजी सम्पत्ति क्षति हुँदा चट्याङबाट २२ लाख ४४ हजारको क्षति भएको उहाँको भनाइ छ ।


सडकमा ४० करोड बढी क्षति 

प्राधिकरणका प्रवक्ता खड्काका अनुसार मनसुन सुरु भएदेखि अहिलेसम्म ४० करोड बढीको क्षति भएको छ । यो तथ्याङ्क देशका मुख्य–मुख्य सडकको हो । बाढीपहिरोले भित्री सडकमा पनि क्षति पुर्याएको छ । यो सबै विवरण आइनसकेको खड्काको भनाइ छ । पहिरोसँगै आएको बाढीले बगाएको सडकलाई तत्काल अस्थायी संरचना बनाएर सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘‘मनसुन सुरु भएसँगै देशका मुख्य सडकमा ४० करोडभन्दा बढी क्षति भएको छ । सहायक राजमार्गमा भएको क्षतिको विवरण आइसकेको छैन ।’’ उक्त क्षेत्रमा भएको क्षतिको विवरण जोड्ने हो भने सडकमा मात्र ५० करोड जतिको क्षति भएको छ । यस्तै १२ वटा मोटरेबल पुलमा बगाउँदा  १२ करोडको क्षति भएको छ । २२ वटा झोलुङ्गेपुलमा क्षति हुँदा २२ करोडको क्षति भएको उहाँको भनाइ छ  । सङ्घीय आयोजना अन्तर्गतका २८ वटा खानेपानी आयोजनामा क्षति हुँदा नौ करोड बराबरको क्षति भएको तथ्याङ्क छ । 

विद्युत् आयोजनामा नौ अर्बको क्षति 

प्राधिकरणका प्रवक्ता खड्काका अनुसार पहिरो तथा बाढीका कारण ४७० मेगावाटका ६१ जलविद्युत् आयोजनामा नौ अर्बको क्षति भएको छ । निर्माणाधीन ३२७.८३ मेगावाट आयोजनाका १७ आयोजनामा दुई अर्ब ६२ करोडको क्षति भएको छ । यस्तै सञ्चालनमा रहेका १३२.७४ मेगावाटका १३ वटा आयोजनामा पाँच अर्ब ९२ करोड बराबरको क्षति भएको उहाँको भनाइ छ। लघुजलविद्युत् ४९६.५ किलोवाटका २१ वटा आयोजनामा ४५ करोडको क्षति भएको छ ।



Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।