• १२ साउन २०८१, शनिबार

मायाप्रेमको उतारचढाव चलचित्र ‘बवाल’

blog

काठमाडौँ, साउन १२ गते । विश्वयुद्ध–२ को पृष्ठभूमिमा बनेको बलिउड चलचित्र ‘बवाल’ अमेजन प्राइम भिडियोमा प्रदर्शन भएको छ । श्रीमान् श्रीमतीबिच आउने उतारचढावको कथामा आधारित चलचित्रमा पहिलो पटक कलाकार वरुण धवन र जान्ह्वी कपुरको जोडीलाई हेर्न पाइन्छ । चलचित्रमा हिटलर र दोस्रो विश्वयुद्धको सन्दर्भ देखाइएको छ जसले दर्शकलाई केही मात्रामा भए पनि दुवै विषयमा जानकार बनाउन मद्दत गर्छ । 

चलचित्रको कथा अज्जु (वरुण धवन) र निशा दीक्षित (जान्ह्वी कपुर) को वैवाहिक सम्बन्धमा आउने उतारचढाव वरपर घुमेको छ । अज्जु लखनउको हाइस्कुल इतिहास शिक्षक हुनुहुन्छ जो देखावटी जीवन गुजारा गर्नमा विश्वास गर्नुहुन्छ । आफ्नो वरपरका मान्छेसँग राम्रो सम्बन्ध कायम गर्न उहाँले अनेकन झुट बोल्नुभएको हुन्छ । उहाँ सबैलाई ज्ञान बाँड्नु त हुन्छ तर आफैँले पढाउने स्कुलका बच्चालाई ज्ञान बाँड्न सक्नुहुन्न । आफ्नो छरछिमेकका मानिस उहाँबाट प्रभावित त छन् तर वास्तविकतामा अज्जु आफैँबाट निकै निराश देखिनुहुन्छ । आफ्ना साथी विपिन (प्रतीक पचौरी) सँग उहाँ आफ्नो समस्या धेरै पटक सुनाउनुहुन्छ तर त्यसको हल केही निस्कँदैन । निशा र अज्जुबिच श्रीमान् श्रीमतीजस्तो सम्बन्ध हुँदैन । त्यसको पनि कारण छ । प्रायः दुईबिच झगडा हुने गरेको छ । एकदिन पारिवारिक तनावबिच अज्जुले विद्यालयमा एक विद्यार्थीलाई थप्पड हान्छन् । जो त्यहीँका स्थानीय विधायक (मुकेश तिवारी) का छोरा हुन्छन् । उहाँको यस्तो व्यवहारले उहाँलाई जागिरबाट निलम्बन गरिन्छ । त्यसपछि अज्जुले कसरी निशासँग मिलेर आफ्ना विद्यार्थीलाई दोस्रो विश्वयुद्धका बारेमा ज्ञान दिनुहुन्छ भन्ने कुरा नै चलचित्रको मुख्य कथा हो । उहाँ आफ्नो जागिर बचाउन र परिवारलाई खुसी बनाउन युरोप जाने योजना पनि बनाउनुहुन्छ । त्यसपछि चलचित्रको कथा अनेकन मोडमा मोडिन्छ । 

चलचित्रमा कलाकार वरुण धवनले आफ्नो अभिनयमा उत्कृष्टता झल्काउनुभएको छ । उहाँको अभिनय शैलीबाट जो कोही पनि प्रभावित हुन सक्छ । वरुणले आफ्नो अभिनयमा पूरा न्याय गर्नुभएको छ र साथै चलचित्रमा नयाँपन पनि दिन खोज्नुभएको छ । जान्ह्वी कपुरको अभिनय पनि प्रशंसायोग्य छ । वरुणसँगको उहाँको जोडी सुहाएको छ र दर्शकले चलचित्रमा अवश्य नै यो जोडीको कामलाई मन पराउनुहुने छ । नायिका कपुर प्रेमिल दृश्यसँगै भावनात्मक दृश्यमा पनि जम्नुभएको छ । 

नितेश तिवारीले लेख्नुभएको चलचित्रलाई उहाँ आफैँले निर्देशन गर्नुभएको हो । निर्देशक तिवारीले आफूले सोचेजस्तै कथालाई चलचित्रको पर्दामा प्रस्ट रूपमा उतार्न सफल देखिनुभएको छ । उहाँ एक अनुभवी निर्देशक हुनुहुन्छ जसलाई आफ्नो काम सँगसँगै चलचित्रमा कलाकारबाट कसरी राम्रो काम निकाल्न सकिन्छ भन्ने कुरा प्रस्ट रूपमा थाहा छ । चलचित्रमा उहाँले दोस्रो विश्वयुद्धका दृश्यलाई पृष्ठभूमिमा जसरी देखाउनुभएको छ जहाँ उहाँको निर्देशकीय पक्ष उच्च श्रेणीमा देखिन्छ । तनिष्क बागची र मिथुनले दिनुभएको सङ्गीत र अरजित सिंह र विशाल मिश्राले गाउनुभएका गीतले पनि अवश्य नै दर्शकलाई मन्त्रमुग्ध बनाउँछ ।