• १२ साउन २०८१, शनिबार

चलचित्रमा खोइ दर्शक ?

blog

काठमाडौँ, साउन ११ गते । गत साता चलचित्र ‘बगान’ चलिरहँदा हलभित्रको दर्शकको सङ्ख्या ज्यादै न्यून रहेको पाइयो । कुनै कुनै हलको सोमा त मुस्किलले १० जना दर्शकका लागि पनि चलचित्रका रिल घुमाउनु पर्ने बाध्यता हल सञ्चालकसँग रह्यो । पछिल्लो समय प्रायः अधिकांश चलचित्रको नियति यस्तै रहेको पाइन्छ । 

आखिर किन चलचित्र हेर्न दर्शक हलमा पुग्दैनन् वा चलचित्रले दर्शक तानिरहन सकेको छैन । एकाध फिल्मले मात्र ५१ दिन पूरा गरेको समाचार आउँछन् । यसै विषयमा दर्शक भने नेपाली चलचित्र पुरानै ढर्रामा चलेको, नयाँ र चाखलाग्दो विषयवस्तुमा नबन्ने, प्राविधिक पक्ष निकै फितलो भएका कारण हल धाउन मन मरेको बताउँछन् । निर्माता÷निर्देशकले आफ्नो चलचित्र फरक धारको बनेको दाबी गर्ने गरे पनि चलचित्रमा दर्शकले त्यो फरक धारलाई महसुस गर्न पाएका छैनन् ।

चलचित्र निर्माता र निर्देशकको विश्लेषण भने अलि फरक छ ।  निर्देशक दीपेन्द्र के खनाल देशमा देखिएको आर्थिक मन्दी कै कारण चलचित्रमा दर्शक कम भएको मान्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “मनोरञ्जन लिने भनेको व्यक्तिको अन्य सबै आवश्यकता पूरा भएपछि अन्तिम प्राथमिकतामा पर्ने विषय हो । पछिल्लो समय विश्वभरि नै आर्थिक मन्दी आएको प्रभाव चलचित्र क्षेत्रमा पनि परेको छ । त्यसमाथि अहिले दर्शकका लागि मनोरञ्जन लिने अनेकौँ विकल्प  पनि  छँदै छन् ।” 

उहाँले भारतीय चलचित्र बजारमा पनि दर्शकको कमी भएको बताउनुभयो । यस्तै अवस्था रहिरहे चाडबाडका समयमा पनि दर्शक बढ्लान् भन्ने अपेक्षा गर्न नसकिने उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, “चाडबाडमा पनि अति राम्रा चलचित्र भयो भने मात्र दर्शक हलसम्म पुग्छन् नत्र अहिलेकै अवस्था हुने हो ।” 

चलचित्रमा दर्शकको कमी हुनुको अर्को कारण भनेको प्रत्येक हप्ता तीनदेखि चार वटा चलचित्र प्रदर्शनमा आउनु पनि हो । चलचित्रको इतिहास हेर्ने हो भने अब यो क्षेत्र पाको भइसकेको छ । चलचित्रले आशाजनक कमाइ गर्न नसके पनि निर्माताहरू नयाँ कलाकार भिœयाउने र नयाँ चलचित्रको घोषणा गर्नमा नै व्यस्त देखिन्छन् । 

तर पनि चलचित्र उद्योगले नेपाली जनमानसमा प्रभाव भने पार्न सकेको छैन । निर्माता÷निर्देशकहरू चलचित्र निर्माणका लागि जुन रूपमा कथाको पक्षलाई सशक्त बनाउनुपर्ने हो त्यसमै चुकेका छन् । हतारमा कथा बनाउने छिटो र कम लागतमा चलचित्रको छायाङ्कन गर्ने तीन वटा गीत, एक-दुई वटा द्वन्द्वका दृश्य राखेपछि चलचित्र तयार हुन्छ भन्ने प्रवृत्तिमा सुधार हुन नसक्दा पनि दर्शक तानिन नसकेको चलचित्र विश्लेषकहरू बताउँछन् ।  

निर्देशक नवल नेपाल भने अहिले चलचित्रको अवस्था स्थिर रहेको धारणा व्यक्त गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “अघिल्लो वर्षको तुलनामा अहिले चलचित्रमा धेरै सुधार त आएको छ तर पनि कथा प्रस्तुति शैलीमा भने खासै परिवर्तन हुन सकेको छैन । दर्शक किन चलचित्र हलमा देखिएनन् भन्ने कुरामा भने हामीले अवश्य नै चलचित्र राम्रो बनाउन नसकेर होला ।” नेपाली चलचित्रमा  आत्मबोध वा आत्मसमीक्षा गर्नेहरू पनि छैनन् । चलचित्रको कथा राम्रो नहुनुमा कलाकार, निर्देशक, निर्माता र प्राविधिक सबैको उत्तिकै जिम्मेवारी रहने उहाँको भनाइ छ । उहाँका अनुसार कथाको विषयवस्तु र प्रस्तुतिले नै दर्शकलाई हलसम्म डो-याउने हो । एकाध चलचित्रबाहेक सबैले एउटै ‘फर्मुला’ को प्रयोग गर्ने गरेकाले पनि दर्शकलाई हलमा तान्न  नसकेका हुन् ।