• १२ साउन २०८१, शनिबार

टम क्रुजको अदृश्य मिसन

blog

काठमाडौँ, साउन ६ गते । टम क्रुज एक्सन र भयानक मिसनको साथ फेरि ठुलो पर्दामा फर्किनुभएको छ। उहाँले एक पटक फेरि आफ्नो इथान हन्टको चरित्रलाई चलचित्र ‘मिसन इम्पोसिबल डेड रेकोनिङ पार्ट १’  मार्फत देखाउने मौका पाउनुभएको छ। टम मिसन इम्पोसिबल सिरिजको त्यस्तो अनुहार हो जसले असम्भव मिसनलाई सम्भव बनाउन जस्तो सुकै बाधा अड्चनसँग पनि लड्न तयार रहनुहुन्छ। 

अनेकन जोखिमको सामना गर्ने दृढताले टम आफ्नो टोलीसँग मिसनमा निस्कनुहुन्छ र सफलता हात पारेर फर्कनुहुन्छ। चलचित्रमा सिरिजको कथा र पात्रहरू लगभग पुरानै शैलीमा प्रस्तुत भएका छन्, केवल कलाकारको अभिनय शैली मात्र फरक छ। चलचित्र लगभग बिस वर्षदेखि चलिरहेको सिरिजको सातौँ शृङ्खला हो। पहिलो सिरिजको मिसनमा जाँदा टम त्यति परिपक्क देखिनुहुन्नथ्यो तर अहिले सातौँ मिसनसम्म आइपुग्दा उहाँको अभिनयदेखि लिएर सबै कुरामा परिपक्ता झल्किन्छ।  उहाँ जस्तोसुकै भूमिकामा पनि जम्न सक्ने कलाकार हुनुहुन्छ।  

यस पटक चलचित्रमा टमको लडाइँ एउटा अदृश्य चिजसँग हुन्छ। चलचित्र समुद्रको पानीजहाजबाट सुरु हुन्छ। जहाजमा एउटा साँचो छ, जसको पछाडि सबै समस्या अड्केर बसेका छन्। त्यही साँचो खोज्न हिँडेका हुन्छन्, इथान हन्ट (टम क्रुज)। इथानलाई जस्तोसुकै बाधा अड्चनमा पनि साँचो प्राप्त गर्नुपर्ने छ। त्यसमाथि साँचोको एउटा यस्तो रहस्य हुन्छ कि जो सँग साँचो हुन्छ, ऊ नै संसारको सबैभन्दा ठुलो शक्तिको मालिक हुने छ। टमको यो मिसन असम्भव र जोखिमपूर्ण छ। यही सङ्घर्षको समय, इथानले ग्रेसलाई भेट्नुहुन्छ। उहाँ ग्रेससँग जुध्न थालेपछि, गेब्रिएललाई उहाँको भयानक विगतले सताउँछ। चलचित्रमा इथानलाई सहयोग गर्ने उहाँका साझेदारका रूपमा बेन्जी र लुथर हुनुहुन्छ। चलचित्रमा एल्सा र इथानबिचको मायाप्रेमलाई पनि उजागर गर्न खोजिएको छ। इथान र उसको आइएमएफको टोली खतरनाक हतियार गलत व्यक्तिको हातमा नपरोस् भनेर रोक्ने मिसन वरपर चलचित्र घुमेको छ। चलचित्र हेरेपछि यस्तो लाग्छ कि निर्देशक क्रिस्टोफर म्याक्वेरीले एक्सन दृश्य रुचाउनेका लागि मात्र यो चलचित्र बनाउनुभएको हो। 

टम र निर्देशक म्याक्वेरीले फेरि एक पटक आआफ्नो क्षमतालाई चुनौतीका साथ चलचित्रमा प्रस्तुत गर्नुभएको छ। सिरिजलाई चलाउने लोकप्रियताको विषयवस्तुलाई ध्यानमा राख्दै यो जोडीले फेरि एउटा जोडदार एक्सनले भरिएको चलचित्र दर्शकमाझ पस्किएका छन्। चलचित्रको कथानकमा इथान र उनको टोलीका लागि यो समय पहिलेभन्दा बढी जोखिम छ। बेन्जी (साइमन पेग), लुथर (विङ रेम्स) र इल्सा (रेबेका फग्र्युसन) बाट दर्शक फेरि एक पटक दर्शकमाझ आफ्नो प्रभाव जमाउन सफल भएका छन्।  

अघिल्ला सिरिज जस्तै यो चलचित्र पनि टम क्रुजको काँधमा निर्भर छ। उहाँले चलचित्रमा अधिकांश एक्सनका दृश्य आफैँले गर्नुभएको छ। अन्य एक्सन चलचित्रमा भन्दा यसमा उहाँ फरक शैलीमा प्रस्तुत हुनुभएको छ। टम क्रुज र मिसन इम्पोसिबलको सबै सिरिज रुचाउने दर्शकका लागि चलचित्रले अवश्य नै राम्रो छाप छाड्ने छ।