• २० असोज २०८१, आइतबार

भविष्यका लागि बाल बचत गर्दै वडा कार्यालय

blog

आर्थिक वर्ष २०७९–८० मा वडामा जन्मिएका शिशुहरुको बैंक खाता खोलेपछि चेक हस्तान्तरण गरिंदै । तस्बिर : कोकिला ढकाल

कोकिला ढकाल 

इलाम, असार २८ गते । इलाम नगरपालिका –४ ले यो वर्ष जन्मिएका नवजात शिशुहरुको नाममा बैंक खाता खोलेर रकम जम्मा गर्न सुरु गरेको छ । वडाले आर्थिक वर्ष २०७९–८० मा गएको साउन १ गते यता जन्मिएका ३२ नवजात शिशुहरुको नाममा बैंक खाता खोलेको हो । 

वडाले खाता खोलेसँगै प्रतिशिशु एक हजार रुपियाँका दरले रकम पनि जम्मा गरेको जनाएको छ । भविष्यमा त्यो बच्चालाई पढनपाठनदेखि अन्य आर्थिक गतिविधि गर्न सहज होस् भनेर बाल बचतको कार्यक्रम सुरु गरिएको वडाध्यक्ष नुतनदेव दुलालले बताउनुभयो । 

‘नगरपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममै बाल बचतको कार्यक्रम ल्याएको थियो । त्यही कार्यक्रम अन्तर्गत बाल बचत सुरु गरिएको छ’ वडाध्यक्ष दुलालले भन्नुभयो, ‘वडा कार्यालयले नै आफ्ना वडाभित्र जन्मिएका शिशुको अभिभावकत्व ग्रहण गरेको हो । यसले हरेक बालबालिककाका परिवारले पनि आफ्ना नानीहरुका लागि बचत गर्ने बानी विकास गराउँछ ।’ 

वडा कार्यालयले विल्याँटे बजारमा रहेको प्राइम कमर्सियल बैंकमा सबै बालबालिकाको नाममा खाता खोलेको जनाइएको छ । खाता खोलेसँगै अभिभावकलाई वित्तीय परामर्श तथा वित्तीय शिक्षासम्बन्धी अन्तरक्रिया गरिएको छ । 

नगरपालिकाको यो वडाले बाल बचतको कार्यक्रमसँगै आफ्नो वडामा बसाइँ सरीआउने १२ घर परिवारलाई सम्मान तथा स्वास्थ्य बीमा समेत गरेको जनाएको छ । यता, नगरपालिकाले चालु आर्थिक वर्षभित्रै सञ्चालन गर्ने गरी ल्याएको बाल बचतको कार्यक्रम अन्य वडाहरुले भने सञ्चालन गरेको छैन ।