• ११ मंसिर २०८१, मङ्गलबार

विश्व सङ्गीत दिवस

सङ्गीत नबिगार्न नयाँ पुस्तालाई आग्रह

blog

काठमाडौँ, असार ७ गते । गायन, वादन र नृत्यको त्रिसंयोग सङ्गीतलार्ई मानिन्छ । वर्षको सबैभन्दा लामो दिन जुन २१ तारिखका दिन विश्वभर एकसाथ ‘विश्व सङ्गीत दिवस’ मनाउने गरिन्छ । यसै सन्दर्भमा नेपालका सङ्गीतप्रेमीहरूले बुधबार विभिन्न कार्यक्रम गरी विश्व सङ्गीत दिवस मनाएका छन् । 

गायक तथा सङ्गीतकार रामकृष्ण दुवालले भन्नुभयो, “विश्व सङ्गीत दिवसमा सङ्गीतसँगै मेरो बिहानी सुरु भयो । योग दिवस पनि परेको हुनाले बिहानी मधुर धुनसँगै योग गरेँ ।” उहाँले भन्नुभयो, “म र गीत/सङ्गीतको पर्यायवाची जस्तै भएका छौँ । मेरो जीवन नै सङ्गीतका लागि भएकाले हरेक दिन सङ्गीत दिवस हो ।” सङ्गीतको शक्ति अतुलनीय छ । त्यसैले त सङ्गीतले मानिसलाई धरधरी रुवाउन सक्छ । पेट मिचुन्जेल हँसाउन सक्छ । एक तमासले आफ्नो काममा सक्रिय पाँच इन्द्रियलाई समेत चलाएमान बनाउन सक्छ । 

उहाँले सङ्गीत शक्तिको वर्णन गरिसाध्य नभएको बताउँदै सङ्गीतले बालकदेखि वृद्धासम्म, सामान्य व्यक्तिदेखि उच्च ओहदाका व्यक्तिसम्म सबैलाई समेटिएको बताउनुभयो । दुवाल सङ्गीत सबैका लागि लोकप्रिय विधा भएकाले यसलाई नबिग्रार्न अहिलेका युवापुस्तालाई आग्रह गर्नुहुन्छ । सङ्गीत दिवस एक दिन मनाएर नहुने, हरेक दिन मनाउनु पर्ने उहाँको भनाइ छ । उहाँले लोप हुन लागेको गीत/सङ्गीत तथा वाद्यवादकको संरक्षण गर्नुपर्नेमा जोड दिँदै भन्नुभयो, “सङ्गीतको संरक्षणका साथै कलाकारलाई पनि उचित सम्मान गर्नु पर्छ ।” विश्वभरको सरल र सहज भाषाका रूपमा सङ्गीतलाई लिने गरिएको नेपाल साङ्गीतिक सङ्घका अध्यक्ष तथा सङ्गीत विद्यालय साधना कला केन्द्रका संस्थापक मिलन मोक्तानले बताउनुभयो । उहाँले सङ्गीतको कुनै भाषा, जाति तथा धर्म नहुने धारणा व्यक्त गर्नुभयो । सङ्गीतप्रेमीहरूले सामाजिक सञ्जालमार्फत विश्व सङ्गीत दिवसको शुभकामना दिनुभएको छ । सङ्गीत दिवसको सुरुवात सन् १९८२ मा फ्रान्सबाट भएको मानिन्छ । त्यसयता सङ्गीत सिक्दै गरेका र व्यावसायिक सङ्गीतकारलाई एकै ठाउँमा ल्याउन र सङ्गीतलाई जनमानसमा फैलाउने उद्देश्यले विश्वका विभिन्न ११० भन्दा बढी देशमा सङ्गीत दिवसको औपचारिक कार्यक्रम हुँदै आएको छ ।

अमेरिकी नागरिक जोन कोहल्गीले गरेको विश्व सङ्गीत दिवसको परिकल्पनालाई फ्रेन्च नागरिक सङ्गीतकार तथा नृत्य निर्देशक मोरिसा ल्केरनलको अथक् प्रयासपछि साकार गरेको इतिहासमा उल्लेख छ । नेपालमा भने यो दिवस विसं २०५४ सालबाट मनाउन थालिएको हो । फ्रेन्च कल्चर सेन्टरको सहयोगमा सांस्कृतिक संस्थानले काठमाडौँमा पहिलो पटक विश्व सङ्गीत दिवस मनाउन शुभारम्भ गरेको हो ।