सन्तोष सुबेदी
कास्की, पुस ४ गते । गुरुङ गीत संगीतका युग नायक धनबहादुर गुरुङको सांगीतिक साँझ पोखरामा हुने भएको छ । एक व्यक्तिको सम्मान मात्र नभई तमु (गुरुङ) समुदायको मौलिक कला, संस्कृति, भाषा र संगीतको प्रवद्र्धन गर्दै सांगीतिक क्षेत्रको गरिमा अभिवृद्धि गर्ने उद्धेश्यले उक्त साँझ आयोजना गर्न लागिएको हो ।
तमु (गुरुङ) कलाकार सङ्घ नेपाल, गण्डकीको आयोजनामा आगामी फागुन ३ गते पोखरा रङ्गशालामा सांगीतिक साँझ हुने जनाइएको छ । कार्यक्रमका संयोजक समेत रहेका गण्डकी प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति गोरे गुरुङका अनुसार वरिष्ठ कलाकार गुरुङको सम्मान र ‘तमु कलाकार कल्याणकारी कोष’ स्थापना गर्ने उद्देश्यले विशेष साँगीतिक कार्यक्रम आयोजना गर्न लागिएको हो । कार्यक्रमको तयारी सुरु भएको उहाँले जनाउनुभयो ।
श्रष्टा धनबहादुर गुरुङले उक्त कार्यक्रममा २०४५ सालदेखि हालसम्मका सुप्रसिद्ध गीतहरु गाउनुहुनेछ । गुरुङका ‘बर्खे खजे, क्युदे थुलेन दुख मुना, ख्वालबै माया, खो रिमै थुमै, छ्याँवाहनी ङोल्स्यो नी, माया पिरती, आयादो ठागु, ताङतिङैको मेलैमा लगायतका गीतहरु चर्चित छन् । उहाँले हालसम्म ५ हजारको हाराहारीमा गीत संगीत सिर्जना गर्नुभएको छ ।
श्रष्टा धनबहादुर गुरुङ कार्यक्रमप्रति उत्साहित बनेको बताउनुभयो । उहाँले सबैले साथले कार्यक्रम भव्य र सव्य बन्ने बताउनुभयो । उक्त कार्यक्रमबाट करिब १७ लाख ५० हजार रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखिएको छ भने कार्यक्रमबाट ११ लाख ७५ हजार रुपियाँ बचत गर्ने लक्ष्य रहेको राखिएको आयोजकले जनाएको छ ।
कार्यक्रम हेर्नको लागि प्रवेश शुल्क ३ सय रुपियाँ तोकिएको छ । आयोजकका अनुसार कार्यक्रममा करिब ८ हजार दर्शकको सहभागिता रहने अपेक्षा गरिएको छ । दर्शकहरूको आवतजावतलाई सहज बनाउन पोखराका मुख्य चोक क्षेत्रहरूबाट बस सेवाको व्यवस्था गरिने कार्यक्रम संयोजक गोरे गुरुङले जानकारी दिनुभयो ।