• २३ वैशाख २०८३, बुधबार

गल्याङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

blog

पूर्ण खोप सुनिश्चित पालिका बनाएपछि कर्मचारीलाई सम्मान गर्नुहुँदै नगर प्रमुख गुरुप्रसाद भट्टराईलगायत । तस्बिर : राधाकृष्ण डुम्रे

राधाकृष्ण डुम्रे
वालिङ (स्याङ्जा), वैशाख २३ गते ।
स्याङ्जाको गल्याङ नगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ ।

गल्याङ नगरपालिकाका तीन सय पाँच बालबालिकालाई सम्पूर्ण खोप दिएपछि पालिकालाई पूर्णखोप पालिका घोषणा गरिएको नगरप्रमुख गुरुप्रसाद भट्टराईले जानकारी दिनुभयो । बालबालिकालाई खोप सेवा प्रदान गर्न पालिकाका ३३ वटै खोप केन्द्रहरु हरेक महिना सञ्चालन गरेर यो कार्यक्रम सम्पन्न गरिँदै आएको भट्टराईको भनाइ छ ।

‘स्थानीय स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ पालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको हो ।

पालिकालाई पूर्णखोप सुनिश्चितता घोषणा गरेसँगै स्वास्थ्यकर्मी लगायतलाई सम्मान गरिएको प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीले जानकारी दिनुभयो ।

नगरभित्रका सबै बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार पूर्णखोप प्राप्त गरेको सुनिश्चित गर्दै खोप कार्यक्रमलाई दिगो, प्रभावकारी र निरन्तर बनाउने पालिकाको योजना रहेको छ । समुदायमा खोप सम्वन्धीको जनचेतना अभिवृद्धि गर्ने काम भइरहेको भन्दै नगरप्रमुख भट्टराईले बालबालिका खोपबाट वञ्चित हुन नपरोस् भन्नेमा आफूहरु प्रतिबद्ध रहेको बताउनुभयो ।

स्थानीय तह, स्वास्थ्यकर्मी तथा सरोकारवालाबिच समन्वय र जिम्मेवारी बढाउने र भविष्यमा पनि पूर्ण खोपको अवस्था कायम राख्ने दीर्घकालिन योजना रहेको पालिकाले जनाएको छ ।