• ५ पुस २०८२, शनिबार

हलमा ‘झरीपछिको इन्द्रेणी’ र ‘अवतार–३’

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस ५ गते । शुक्रबारदेखि देशभरका हलमा नेपाली चलचित्र ‘झरीपछिको इन्द्रेणी’ र हलिउड चलचित्र ‘अवतार’ प्रदर्शनमा आएका छन् ।  

‘झरीपछिको इन्द्रेणी’ पारिवारिक कथावस्तु रहेको चलचित्र भ्रष्टाचारविरुद्ध लड्ने पात्रको कथावस्तुमा आधारित छ । अर्जुन घिमिरे (पाँडे) चलचित्रमा गणेश उप्रेती, रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, प्रियना आचार्य (मुन्नी), अंशु महर्जन र पाँडेलगायतका कलाकारको अभिनय रहेको छ । नागराज इन्टरटेनमेन्ट प्रालिले निर्माण गरेको चलचित्रको कथा निर्देशक स्वयंले लेख्नुभएको हो । पटकथा र संवादमा गणेश कार्की, विशाल घिमिरेको सहकार्य रहेको छ । 

त्यस्तै निर्देशक जेम्स क्यामरुनको ‘अवतार’ फ्रेन्चाइजीको तेस्रो संस्करण ‘अवतार ३’ अङ्ग्रेजी र हिन्दी भर्सनमा प्रदर्शनमा आएको हो । विज्ञान कथामा आधारित चलचित्र काल्पनिक पान्डोरा ग्रहको कथावस्तुमा आधारित छ । 

चलचित्रमा दर्शक पुनः ‘पान्डोरा’ को काल्पनिक संसारमा पुग्ने छन् । उक्त संसारका आदिवासीले आफ्नो भूगोल र संस्कृति जोगाउन गर्ने सङ्घर्ष, पृथ्वीबाट गएका मानिससँगको लडाइँको कथा यसमा छ । जोन लेन्डाउ निर्माता रहनुभएको चलचित्रमा साम वर्थिङ्टन, जोय साल्दाना, सिगौर्नी विभर, स्टिफन ल्याङ, केट विन्सलेटको अभिनय रहेको छ ।