• २८ मङ्सिर २०८२, आइतबार

गाउँघरमा हराए ढिकीजाँतो

blog

खलङ्गा समाचारदाता 

जाजरकोट, असार ४ गते । जाजरकोटका दुर्गम गाउँबस्तीमा देखिने ढिकीजाँतो लोप हुन थालेका छन्। आधुनिक प्रविधिको विकास भएसँगै परम्परागत कुटानी पिसानीका लागि प्रयोग हुने ढिकीजाँतो हराउन थालेका हुन्। 

ग्रामीण भेगका गाउँबस्तीमा सोलार र बिजुली बत्तीबाट चल्ने आधुनिक प्रविधिका कुटानी पिसानीका मिल प्रयोगमा आएपछि परम्परागत ढिकीजाँतो हराउँदै गएको बताइन्छ। रातभर जाँतोमा गहुँ, मकै, कोदो पिस्ने, ढिकीमा धान कुट्ने अनि रमाइलो गर्ने, एकअर्कासँग मायाप्रेम साट्ने काम ढिकीजाँतोकै बेला हुने गरेको अगुवा बताउँछन्। 

आधुनिक प्रविधिको विकास भित्रिएसँगै ढिकीजाँतोमा कुट्ने पिस्ने अन्न मिलमा लगेर कुट्न पिस्न थालेपछि हिउँदमा चल्ने ढिकीजाँतो पूर्ण रूपमा बन्द भएका छन्। भेरी नगरपालिका–१३ की ७० वर्षीया देवी आचार्यले घरमा अहिले ढिकी भए पनि फुकालेर राखिएको बताउनुभयो। 

रातभरि ढिकीले पिस्ने अन्नभन्दा मिलले एक घण्टामा धेरै कुटानी पिसानी गर्ने भएपछि ढिकी लोप भएको उहाँले बताउनुभयो। विद्युत्बाट चल्ने मिलले गर्दा गाउँघरमा भएका परम्परागत अन्न कुटानी पिसानीका साधन हराउन थालेको भेरी नगरपालिका–१३ की ६५ वर्षीया नदी वर बताउनुहुन्छ। 

सोही ठाउँकै कृष्णप्रसाद न्यौपानेले सानो छँदा आमाले सुताएर रातभरि ढिकीजाँतो चलाउने गरेको स्मरण गर्दै अहिले मिलले गर्दा ढिकीजाँतो लोप भएको जनाउनुभयो। ढिकीजाँतोमा कुटानी पिसानी गरेका अन्न स्वास्थ्यवर्धक र स्वादिलो हुने गर्छ। नयाँ पुस्ताले ढिकीजाँतो कस्तो हुन्छ भन्ने अवस्थाको सिर्जना हुन नदिन भेरी नगरपालिकाले सार्वजनिक स्थलमा अनुदान सहयोगमा ढिकी निर्माण गर्न थालेको छ।