• ५ जेठ २०८१, शनिबार

नेपालमा पहिलो पटक देखियो मङ्कीपक्स

blog

काठमाडौँ, असार ३ गते । नेपालमा पहिलो पटक मङ्कीपक्स देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले ६० वर्षीया एक जना महिलामा मङ्कीपक्स पुष्टि भएको जानकारी दिनुभयो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमुना परीक्षण गर्दा ती महिलामा मङ्कीपक्स भाइरसबाट हुने ‘एमपक्स’ देखिएको हो । 

मङ्कीपक्सको शङ्कास्पद लक्षण देखिएपछि ती महिलाको महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार भइरहेको छ । सङ्क्रमित महिलाको स्वास्थ्य अवस्था सामान्य छ ।

नेपालमा पहिलो पटक पुष्टि भएको मङ्कीपक्स १११ देशमा पुष्टि भइसकेको छ । एमपक्स रोग मङ्कीपक्स भाइरसबाट हुने एक किसिमको सरुवा रोग हो । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले एमपक्स रोग मानिसबाट मानिसमा वा जनावरबाट मानिसमा सर्ने बताउनुभयो । 

सन् १९८० मा बिफर उन्मूलन र विश्वव्यापी बिफर खोपको अन्त्यपछि मङ्कीपक्स मध्य, पूर्वी र पश्चिम अफ्रिकामा निरन्तर रूपमा देखा परिरहेको छ । अघिल्ला वर्षमा यसले विश्वव्यापी प्रकोपको रूप लिएको थियो । यस भाइरसको प्राकृतिक भण्डार अज्ञात छ तर लोखर्के, बाँदर, मुसा आदि यस रोगका लागि संवेदनशील हुने गर्छन् ।

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले एमफक्स रोग सङ्क्रमित व्यक्ति वा सङ्क्रमित पशुसँगको सम्पर्कमा आउँदा घाउ, खटिरा, बिमिराबाट फैलिने बताउनुभयो । उहाँले सङ्क्रमित जनावर र भाइरस रहेको ओछ्यान र लुगाबाट सर्ने बताउनुभयो ।

ज्वरो आउने, सामान्यतया ज्वरो सुरु भएको एकदेखि तीन दिनभित्रमा छाला, अनुहार, हत्केला र पैतालामा डाबर देखा पर्ने, डाबर परिवर्तन भई फोका हुँदै पाप्रा लागेर उप्किने, टाउको, ढाड र मांसपेशी दुख्ने तथा शरीरका ग्रन्थी बढ्ने लक्षण देखा पर्छ । आँखामा सङ्क्रमण भई दृष्टि गुम्ने, निमोनिया, मस्तिष्क ज्वरो, गर्भ खेर जाने र मृत्युसमेत हुन सक्छ ।

डा. पुनका अनुसार रोकथामका लागि एमपक्सको शङ्का वा पुष्टि भएका व्यक्तिसँग असुरक्षित सम्पर्कमा नजाने, सङ्क्रमित व्यक्तिलाई घर वा अस्पतालमा आइसोलेसनमा राख्ने, सङ्क्रमित व्यक्तिको हेरचाह गर्नेले पूर्ण रूपमा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने, घाउसँग प्रत्यक्ष सम्पर्क हुन सक्छ भन्ने जोखिम छ भने पन्जा लगाउने, नियमित रूपमा साबुनपानीले हात धुने वा सेनिटाइजरको प्रयोग गर्ने, सङ्क्रमित व्यक्तिका लुगा, तौलिया, ओछ्यान र भाँडा तातो पानी, साबुन वा डिटर्जेन्टले धुने, मङ्कीपक्सको सङ्क्रमण पुष्टि भई बिरामी भएका वा मरेका जनावरको सम्पर्कमा नजाने, सङ्क्रमितको सम्पर्कमा आएका व्यक्तिले परीक्षण गर्ने, सङ्क्रमितको सम्पर्कमा आएको स्थान वा कोठा डिटर्जेन्टले निसङ्क्रमण गर्ने, मासुजन्य खानेकुरा राम्ररी पकाएर मात्र खाने, फोहोरलाई उचित स्थानमा व्यवस्थापन गर्ने कार्य गर्नुपर्ने हुन्छ ।

मन्त्रालयका सहप्रवक्ता अधिकारीले कसैलाई एमपक्ससँग मिल्दोजुल्दो लक्षण भए अस्पताल गई चिकित्सकको उचित सल्लाह लिन र मन्त्रालयको कल सेन्टरमा सम्पर्क गरी परामर्श लिनुहुन अनुरोध गर्नुभयो । 

  

Author
सरोज ढुङ्गेल

उहाँ गोरखापत्रका लागि स्वास्थ्य क्षेत्रको रिपोर्टिङ गर्नुहुन्छ ।