• ७ वैशाख २०८१, शुक्रबार

डोल्पामा धान मेला सम्पन्न

blog

त्रिपुरासुन्दरी नगरपालिका-१ कोटगाउँस्थित श्रीवाला त्रिपुरासुन्दरी भगवती मन्दिरको गुठीजग्गा कोटसेरामा धान रोपाई गर्दै रोपाहार ।

विष्णुप्रसाद देवकोटा

डोल्पा, जेठ १९ गते । हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-१ स्थित भगवतीको कोटसेरामा बाजागाजाका साथ धान रोपाई मेला सम्पन्न भएको छ । विगतका वर्षहरुमा दलितले मन्दिरका रोलक्रमवाला पुजारी र भगवतीको गुठीपालाका पुजारी लगायत छडीदार र फुलहारालाई काँधमा चढाएर कोटसेराको बीच भागमा पुल्तीस्वरुपको झण्डा गाड्ने चलन थियो । तर दुई वर्षअघि दलित मुक्तिमोर्चाको नाममा जातीय विभेद विरुद्धका अभियान्ताको विरोधपछि दलितले पुजारी लगायत माथिल्लो जातका मानिसहरुलाई काँधमा चढाउने प्रचलनको अन्त्य भएको छ ।

तर परम्परालाई जिवित राख्न भने मन्दिरका पुजारीहरुले आफैं काँधमा चढाएर परम्परालाई जिवित राख्ने प्रयासको थालनी गरेका छन् । त्रिपुराकोटस्थित आद्यशक्ति श्रीवाला त्रिपुरासुन्दरी भगवतीको कोटखौलामा रहेको कोटसेरा नामक गुठीको जग्गामा धान रोपाईसँगै धान रोपाई मेला सम्पन्न भएको छ ।

रोपाहार र हलिहरु खेतमा धान रोप्नमै मस्त थिए । खेतका प्रत्येक कान्लामा धान रोपाई हेर्ने मानिसहरुको बाग्लो उपस्थिती थियो । उनीहरु सबैको ध्यान रोपाहाराले धान रोपाईसँगसँगै सुरिलो भाकामा गाइरहेका गीतमै केन्द्रित थियो । धान रोप्दै खेतमा रोपाहारा यसरी धान रोपाईको गीत गाउँदै रमाउँदै थिए ।

रोप,रोप रोप्नेरीऔ असारमा गोडौली,

आरु फुल्यो ड्यौटी दिम्ला माइत गई ओडौली ।

कोटसेरामा हुने धान रोपाईमा पुजारीहरु हलिकोको काँधमा लस्करै चढेर हिलो छ्यापाछ्याप गर्ने र हलि रोपाहारा र पुजारीहरुले हिलो खेल्ने गरेको हेर्न टाढाका गाउँहरुबाट मानिसहरु कोट सेरामा मेला भर्न आउने गर्छन् ।

जातीय विभेद विरुद्धको अभियानमा लागेका बमबहादुर सार्कीले पुजारीहरुले अझैपनि जातीय विभेद गरेर दलितको काँधमा चढेर हेपाहा प्रवृति देखाउने गरेकोमा अहिले यो प्रथाको अन्त्य गरिएको बताउनुभयो । अरु जातलाई काँधमा नचढ्ने दलितलाई मात्र काँध चढ्ने परम्पराको अन्त्य हुनुपर्ने थियो भयो ।

पुजारी देविकृष्ण उपाध्यायले दलित अभियान्ताहरुले उठाएको माग समयसापेक्ष भएपनि परापूर्वकालदेखि चलिआएको चलन रितिरिवाज पनि समाजको मुल कानुन हुने बताउनुभयो ।

उपाध्यायले भने परम्परालाई जीवन्तता दिन र संस्कृतिलाई बचाइ राख्न पुजारीहरुले नै पुजारी लगायतका मन्दिरका पुरोहितलाई खेतको बीच भागमा कपडाको पुतलीरुपी झण्डा रोप्नको लागि काँधमा चढ्ने र हिलो छयाप्ने कामलाई निरन्तरता दिइएको छ ।

भगवतीको कोटसेरामा ९ हल गोरु, ३२ रोपाहारा ३ जना विगारे –माटो सम्म्याउने) र २ जना कुनाकाप्चे गरेर ४१ जनशक्ति प्रयोग हुने गरेको र रोपाई मेलाको दिनमा सेरा ज्युलोबाट उब्जेको धानको खाना प्रत्येक घरधुरीलाई पुरी र सेलरोटी हलुवा प्रसादको रुपमा बाँड्ने चलन रहेको अर्का पुजारी लक्ष्मीप्रसाद उपाध्यायले बताउनुभयो । 

त्रिपुराकोटको टाँके डाँडामा अवस्थित श्रीवाला त्रिपुरासुन्दरी भगवती मन्दिर वि. सं १११४ सालामा स्थापना भइसकेपछि विसं १८७१ का पुजारीको नाममा प्राप्त लालमोहरमा उल्लेखित ८ मुरीको कोटसेरा, २० मुरीको गल्लीस्थित गुठी जगा गरेर २८ मुरी जग्गा गुठीको नाममा रहेको र १६ औं शताब्दी पुर्वदेखि मन्दिरका पुजारी उदयराम उपाध्यायाको पालाबाट कोटसेरामा धान रोपाई मेला लाग्ने गरेको ८५ वर्षीय रविप्रसाद न्यौपानेले बताउनुभयो ।

यतिखेर भगवतीको कोट सेरामात्र नभई डोल्पा जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका क्षेत्रमा पर्ने कोटज्युलोमा रोपाहाराहरुले खेतमा धान रोप्दै सुरिलो भाकामा गाइरहेको देख्न र सुन्न सकिन्छ ।

काठमाडौं लगायतका सहरी जिल्लामा असार पन्ध्रदेखि धान रोपाई हुने भएपनि विकट हिमाली जिल्ला डोल्पामा प्रत्येक वर्ष जेठ १ गतेबाट सर्वसाधारणको रोपाई सुरु भई जेठ १९ गते भगवतीको मन्दिर गुठी जग्गामा धान रोपाई गरेसँगै धान रोपाई मेला सम्पन्न हुनेगर्छ । मानो रोपेर मुरी फलाउने पर्वको रुपमा समेत धान रोपाईलाई लिने गरिन्छ । यत्तिखेर डोल्पाका त्रिपुराकोट, लिकु, खदाङ्ग, मोतिपुर र दुनै लगायतका गाउँहरुमा किसानहरुलाई धान रोपाईको चटाराले अन्तिम विट मार्न थालेको छ ।

आद्यशक्ति श्रीवाला त्रिपुरासुन्दरी भगवतीको गुठी जग्गा कोटसेरामा हुने धान रोपाई मेलामा सहभागी भएपछि गाउँमा सिद्दि हुने बालीनाली सप्रने र समयमा वर्षात भई उब्जनी राम्रो हुने जनविश्वास छ ।

रोपाईको दिनमा दहि चिउरा मासु तथा सेलरोटी पकाएर रोपाहारा हली कुनाकाप्चे र विगारेलाई खुवाउने र गीत चुट्किला एवं मागल गाएर रमाइलो गर्ने प्रचलन रहिआएको छ । आफ्नो उत्पादनले वर्षमा तीन महिना पनि भरपुर खान नपुग्ने डोल्पामा पाहुनालाई सत्कार गर्न, गाउँको परिचय दिन, कुलदेवतालाई अक्षताको रुपमा चढाउन र इष्टमित्रलाई कोसेली दिनको लागि भएपनि धान रोपाई नगरि नहुने त्रिपुरासुन्दरी नगरपालिका १ का निर्मलप्रसाद उपाध्यायले बताउनुभयो ।

डोल्पाको सबैभन्दा बढी धान रोपाई त्रिपुरासुन्दरी नगरपालिका १ कोट गाउँमा गरिन्छ । धान रोपाई खर्च धेरै उब्जनी कम भएपनि परम्परा धान्न र पहिचान दिनको लागि कालिकोटे कालो, रातो र मार्सी धानको रोपाई गर्ने प्रचलन डोल्पामा छ ।