• ११ मंसिर २०८१, मङ्गलबार

भोजपुरी चित्रकलामा रमाएका अन्सारी

blog

काठमाडौँ, जेठ १८ गते । वीरगन्ज निवासी अजमद अली अन्सारी पेसाले कलाकार हुनुहुन्छ । उहाँ चित्रमा रङ कोर्ने काम गर्नुहुन्छ । उहाँले बनाउनुभएका चित्रकला अहिले नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको प्राङ्गणमा चलिरहेको ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८०’ र नेपाल आर्ट काउन्सिलमा प्रदर्शनीमा राखिएको छ । 

उहाँ आफ्नो चित्रकला मधेशको सांस्कृतिक परिवेश झल्काउने किसिमको रहेको बताउनुहुन्छ । चित्रकलामा तीन जना दृष्टिविहीन साधुको फोटो अङ्कित चित्रकला राखिएको छ, जुन वाटर कलर पेन्टिङ हो । मधेशमा दृष्टिविहीन साधुहरू कसरी जीवनयापन गरिरहेका छन् भन्ने कुरा उहाँको चित्रकलामा देखिन्छ । उनीहरूको दुःख पीडा विशेष गरी सहरमा कति गाह्रो हुन्छ भन्ने कुरा चित्रकलामा झल्किन्छ ।  

उहाँको अर्को पेन्टिङ ‘भोजपुरी नाच ठकरा’  नेपाल आर्ट काउन्सिलमा प्रदर्शनीमा राखिएको छ । भोजपुरी नाच ठकरा अहिले लोप हुँदै गइरहेकोमा उहाँको गुनासो छ । यसलाई हामीले भोजपुरी पेन्टिङ पनि भन्न सकिने उहाँको भनाइ छ । विशेष गरी काठमाडौँमा भोजपुरी चित्रकलाका बारेमा खासै सुनिएको रहेन छ तर वीरगन्जमा भने यसले केही हदमा भए पनि बाटो समात्न लागेको अन्सारीको भनाइ छ । 

बाल्यकालदेखि नै कलामा रमाउँदै आउनुभएका अन्सारीलाई मैथली, पौवा, थाङ्का आर्टका बारे सबैलाई थाहा भएको तर भोजपुरी आर्टका बारे कसैलाई पनि थाहा नहुँदा केही खल्लो लागेको थियो । आफूलाई यही कारणले पनि गाउँमा नै बसेर अनुसन्धान गरेर भोजपुरी आर्टमै काम गर्न थालेको उहाँको भनाइ छ । उहाँले आफ्नो पेन्टिङ बिक्रीमा पनि राख्नुभएको छ । उहाँले एउटा चित्रको एक लाख रुपियाँ पर्ने बताउनुभयो । यस्ता खालको प्रदर्शनीले भोजपुरी चित्रकलालाई चिनाउने अवसर पाइएको उहाँको भनाइ छ । यसले हामी कलाकारलाई फाइदा नै गरेको छ । अर्को कुरा यस्तो खालको प्रदर्शनीको कुरा मधेशतिर खासै थाहा हुँदैनथ्यो । कार्यक्रमहरू जति पनि हुन्थे ती काठमाडौँमा मात्र सीमित हुन्थे तर अहिले समय बदलिएको छ । यस्ता खालके प्रदर्शनीले सबैतिर हाम्रो चित्रकलालाई चिनाउन सहयोग गरेको छ । यस्ता खालका प्रदर्शनीले खुम्चिएर बसेका कलाकारको कलालाई बाहिर उजागर गर्न धेरै मद्दत गर्ने उहाँको भनाइ थियो । 

यो पेसामा लागेको २७ वर्ष भएको बताउने उहाँ वीरगन्जका विद्यालयमा कला पनि सिकाउनु पर्छ भन्ने अगुवा शिक्षक पनि हुनुहुन्छ । वीरगन्जमा कला सिक्ने कुनै माहोल नै नभएको र आफूले यसको कुनै संस्थामा प्रशिक्षण पनि नलिएको उहाँ बताउनुहन्छ । त्यो समय वीरगन्जमा आर्ट पढाउने न विद्यालय थियो, न क्याम्पस नै । वीरगन्जमा लोककलाका बारे खासै कसैलाई थाहा नभएको अन्सारी दाबी गर्नु हुन्छ । 

वीरगन्जमा कलामा रुचि राख्ने कलाकार नभएका होइनन् तर कला प्रदर्शनी गर्ने, कलासम्बन्धी सिकाउनेमा यहाँ खासै कसैलाई रुचि देखिएन । यसको मुख्य कारण आर्थिक अवस्था पनि हो । अहिले काठमाडौँमा भएका यस्ता खालका प्रदर्शनीले कलाकारलाई आफ्नो ठाउँमा पनि यस्तो प्रदर्शनी गर्नु पर्छ भनेर जागरुक बनाएको उहाँको तर्क छ ।   अब उहाँको एउटै उद्देश्य छ, देशव्यापी रूपमा ‘भोजपुरी चित्रकला’ लाई चिनाउने र वीरगन्जमा कलामा रुचि राख्ने कलाकारलाई कला पढाउने ।