• ८ वैशाख २०८१, शनिबार

पर्सामा गर्मी बढेपछि बिरामी पनि बढे

blog

पर्सा,  जेठ १७ गते । लगातार बढ्दै गएको तापक्रमले पर्सावासीको जनजीवनलाई नराम्ररी प्रभावित गरेको छ । लामो समयदेखि वर्षा नहुँदा दिउँसोको तापक्रम ४४ डिग्री पुग्न थालेपछि त्यसकारण बिरामी हुनेको सङ्ख्या बढ्दै गएको छ ।

गर्मी बढेसँगै वीरगञ्जको नारायणी अस्पतालमा पखाला, निमोनिया, ज्वरोका बिरामीको सङ्ख्या बढेको चिकित्सकले बताएका छन् । गर्मीबाट सबैभन्दा बढी बालबालिका  तथा वृद्धवृद्धा बढी प्रभावित भएको नारायणी अस्पतालका वरिष्ठ फिजिसियन तथा आकस्मिक औषधि विशेषज्ञ डा उदयनारायण सिंहले जानकारी दिनुभयो । गर्मी बढेसँगै पर्सामा ‘हिट स्ट्रोक’ अर्थात् ‘लू’ लाग्ने जोखिमसमेत बढ्दै गएको उहाँले बताउनुभयो ।

दिउँसोको समयमा तापक्रम उच्च भएका बेला चल्ने गरम हावाले दैनिक ज्यालादारी तथा कडा श्रम गर्ने व्यक्तिलाई लु लाग्ने जोखिम बढेको चिकित्सक सिंहको भनाइ छ । बढ्दो गर्मीबाट जोगिन फलफूलको जुस, पानी लगायतका तरल पर्दाथको सेवनलाई बढाउनाका साथै काम नभए दिउँसोको समयमा घरबाहिर नस्किन उहाँले सर्वसाधारणलाई सुझाव दिनुभयो ।

नारायणी अस्पतालको बहिरङ्ग विभागमा दैनिक छ सयको हाराहारीका बिरामी उपचारका लागि आउने गरेकामा हाल आठ सयभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् भने अस्पतालको आकस्मिक विभाग पूर्ण क्षमतामा सञ्चालन भइरहेको चिकित्सकहरूले बताएका छन् । रासस