• २८ पुस २०८१, आइतबार

वर्षाले बाली भित्र्याउन कठिन

blog

प्रेमराज सिम्खडा

कालीकोट, जेठ ९ गते । बेलुकाको ३ बजेपछि सधैँजसो हुने छिटफुट वर्षाले किसानलाई निकै समस्यामा पारेको छ । गहुँ बाली पाकेर पहेँलै भएका बेला साझँपख सधैँजसो पर्ने पानीले किसानलाई समस्यामा पारेको हो । हिउँदभरि पानी नपरेर गहुँ बाली उत्पादनमा कमी आएको नै छ । त्यसैमा केही भएका दानालाई भित्र्याउन नदिएर थप दुःख दिन थालेपछि किसान चिन्तित भएका छन् । 

रास्कोट नगरपालिका–२ का पृथ्वीबहादुर खड्काले जहिले पनि प्रकृतिले किसानलाई दुःख दिइरहेको बताउनुभयो । हिउँदमा पानी परेन । सुक्खा जमिनमा राम्रो उत्पादन हुने कुरै भएन । अलि सिँचाइ गरिएको ठाउँमा फलेका गहुँका दाना पनि घरमा लिन नदिने भए पनि मौसमदेखि निकै रिस उठ्न थालेको सुनाउनुभयो । 

विरक्तिँदै खड्काले मान्छे भए नगर भनेर हात जोड्न हुने, पशु भए बाँधेर राख्नु, यो आकाशको कुरा जहिले पनि दिनको ३ बजेयता पानी पर्ने, हावा चल्ने गरेकाले खेतबाट ल्याउँदै गरेका गहुँका मुठासमेत उडाउने गरेको गुनासो गर्नुभयो ।

“धेरै पनि पानी पर्दैन, हल्का पानी अनि जोरले चल्ने हावाले दुःख दिइरहेको किसानको गुनासो छ,” रास्कोट–८ का देवमनि धमलाले भन्नुभयो, “खुला (आँगन) मा सुकाउन राखिएका गहुँलाई ओसिलो बनाउँछ । दाइँ (गहुँ झार्न) हाल्ने समयको पनि यकिन छैन । बिहान भिजेका गहुँ सुकाउन ठिकै हुन्छ ।” सुक्नेबित्तिकै गोरु लगाएर दाइँ (गहुँ झार्न) हाल्न थाल्यो, उति नै बेला पर्ने पानी र चल्ने हावाले अधुरै राख्ने गरेकाले गहुँ भित्र्याउन कठिन भइरहेको धमलाको गुनासो छ । 

रास्कोट–४ का गोकर्ण सज्यालले असिनाको डरले जतिसक्दो छिटो गहुँ काटेर थुपार्ने काम भइरहेको सुनाउनुभयो । उहाँले खेतमा पाकेको गहुँ दैनिक आउने पानीले बिगार्ने र कहिले असिना परेको खण्डमा पूरै झार्ने भएकाले काट्न हतार भइरहेको बताउनुभयो । जिल्ला कृषि विकास कार्यालय कालीकोटका चन्द्रबहादुर शाहीले जलवायु परिवर्तनको नकारात्मक असरको प्रभावले गर्दा गहुँ बाली भित्र्याउने समयमा छिटफुट वर्षा हुन थालेको बताउनुभयो ।