• ६ कात्तिक २०८१, मङ्गलबार

नख्खु–भैँसेपाटी–चुनीखेल सडकखण्ड : जेठभित्र काम सक्न निर्देशन

blog

भैँसेपाटी (ललितपुर), जेठ ९ गते । सम्बन्धित निकाय र निर्माण कम्पनीको लापरबाहीका कारण वर्षौंदेखि अलपत्र बनेका सडकको उदाहरण खोज्न अन्त जानै पर्दैन। उपत्यकाका अति विशिष्ट व्यक्ति दिनहुँजसो ओहोरदोहोर गर्ने केही सडकको अवस्था हेरे पुग्छ । 

ललितपुरको नख्खु–भैँसेपाटी–चुनीखेल साढे तीन किलोमिटरको सडकखण्ड चौडा र कालोपत्रे गर्ने गरी सम्झौता भएको छ वर्ष पुग्न लाग्दा पनि अहिलेसम्म काम सम्पन्न हुन सकेको छैन । 

तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी यो सडकको ठेक्का सम्झौता २०७४ वैशाखमा भएको थियो । काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाअन्तर्गत ठेक्कामार्फत सडकको निर्माण कार्य सुरु गरिएको थियो । आशिष/बिरुवा/सिएम (संयुक्त) निर्माण कम्पनीले ३० करोड रुपियाँको लागतमा सडक निर्माणको जिम्मा पाएको थियो । 

आयोजना प्रमुख कृष्ण ओझाले मुआब्जा तथा सडक विस्तारमा स्थानीयको अवरोधका कारण काम गर्न नपाउँदा सम्झौता अनुसार निर्धारित समयमा काम सम्पन्न हुन नसकेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “अब सात सय मिटर मात्र कालोपत्रे गर्न बाँकी छ । कालोपत्रे गर्न आवश्यक सबै तयारी पूरा भइसकेको छ । यसै महिनाभित्र कालोपत्रेसहित सडकको सम्पूर्ण काम पूरा हुन्छ ।”

मन्त्रीको निर्देशन  

भौतिक, पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सोमबार सो सडकखण्डको निरीक्षण गरी जेठभित्र नै काम सम्पन्न गर्ने गरी सम्बन्धित निकाय र ठेकेदार कम्पनीलाई निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “अहिले सो सडकखण्डमा राम्रो प्रगति देखिएको छ । मैले स्थलगत निरीक्षणका क्रममा  दिएको निर्देशनबमोजिम यसै महिनाभित्र काम सम्पन्न गर्ने गरी सम्बन्धित निकाय र निर्माण कम्पनीबाट प्रतिबद्धता व्यक्त भएको छ ।”

आफू मन्त्री हुँदा यस सडकखण्डको विशेष चर्चा भइरहेको र आफूले चर्चा कम गर्न काम गरेर देखाउन निर्देशन दिएको बताउँदै उहाँले अब नख्खु–भैँसेपाटी क्षेत्रका बासिन्दाले धुलोको सास्ती बेहोर्नु नपर्ने उल्लेख गर्नुभयो । यसअघि सम्बन्धित निकायहरूबिच समन्वय हुन नसक्दा कामले गति पाउन नसकेको बताउँदै उहाँले आफूले समन्वय र सहजीकरणमा कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेको बताउनुभयो ।