• ११ मंसिर २०८१, मङ्गलबार

पिताको पुन्यतिथिमा राहुलद्वारा भावपूर्ण श्रद्धाञ्जलि

blog

फाइल तस्बिर ।

नयाँदिल्ली, जेठ  ७ गते । कांग्रेस नेता राहुल गान्धीले आफ्ना दिवङ्गत पिताको पुण्यतिथिमा भावुक हुँदै श्रद्धाञ्जलिका शब्द लेख्नुभएको छ । पूर्व प्रधानमन्त्री राजीव गान्धीको ३२ औँ पुण्यतिथिमा उहाँका सुपुत्र राहुलले पिताजीलाई सम्झँदै भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्नुभएको हो । 

“बाबा, तपाईँ सधैँ मेरो सम्झनामा हुनुहुन्छ, मेरो साथमा प्रेरणाको रूपमा हुनुहुन्छ,” राहुल गान्धीले हिन्दीमा ट्विट गर्दै लेख्नुभएको छ । साथै उहाँले आफ्नो पिताको जीवनकालका विभिन्न क्षणका भिडियो पनि सार्वजनिक गर्नुभएको छ ।

त्यसअघि राहुल गान्धी र उहाँकी बहिनी प्रियङ्का गान्धी वाड्राले राष्ट्रिय राजधानीको वीर भूमिमा पूर्व प्रधानमन्त्री राजीव गान्धीप्रति उहाँको ३२ औँ पुण्यतिथिमा पुष्पगुच्छासहित श्रद्धाञ्जली  अर्पण गर्नुभएको थियो । काङ्ग्रेस संसदीय दलकी अध्यक्ष सोनिया गान्धी र पार्टी अध्यक्ष मल्लिकार्जुन खर्गेले पनि पूर्व प्रधानमन्त्री राजीव गान्धीप्रति श्रद्धाञ्जली  अर्पण गर्नुभयो ।

राजीव गान्धीले आफ्नी आमा तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीको हत्यापछि सन् १९८४ मा काङ्ग्रेसको नेतृत्व सम्हाल्नु भएको थियो । अक्टोबर १९८४ मा ४० वर्षको उमेरमा प्रधानमन्त्रीको पदभार ग्रहण गरेर उहाँ भारतको सबैभन्दा कान्छो  प्रधानमन्त्री बन्नुभएको थियो । उहाँले डिसेम्बर २ १९८९ सम्म प्रधानमन्त्रीका रूपमा भारतको सेवा गर्नुभएको थियो । 

सन् १९४४ को अगस्ट २० मा जन्मनुभएका राजीव गान्धीलाई मे २१, १९९१ मा तमिलनाडुको श्रीपेरुम्बदुरमा चुनावी र्‍यालीमा लिबरेशन टाइगर अफ तमिल इलम (लिट्टे) की एक किशोरीले आत्मघाती बम हमलामा मारेकी थिइन् । उक्त आक्रमणमा नेता गान्धीसहित १४ जनाको ज्यान गएको थियो  भने ४३ जना गम्भीर घाइते भएका थिए ।   रासस / एएनआई