• २४ वैशाख २०८१, सोमबार

सूर्तीजन्य प्रदार्थको कर बढाउन पहल गर्छु : स्वास्थ्यमन्त्री

blog

पत्रकार सम्मेलनमा धारणा राख्नुहुँदै स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत । तस्बिर : स्वास्थ्य मन्त्रीको निजी सचिवालय

काठमाडौं, वैशाख २७ गते। स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले सूर्तीजन्य प्रदार्थको कर बढाउन पहल गर्ने बताउनुभयो।  स्वास्थ्य पत्रकारसँगको अन्तक्रिया कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले नेपालमा अर्थतन्त्र बिग्रिएको बेला सूर्तीजनय पदार्थ कर बढाएर क्यान्सरका बिरामीको उपचारमा राहत पुग्ने बताउनुभयो। 

सूर्तीजन्य प्रदार्थको कर नेपालमा एसियाको सबैभन्दा थोरै रहेको छ। विश्व स्वास्थ्य संगठनले सूर्तीजन्य प्रदार्थको कर ७५ प्रतिशतसम्म बढाउनुपर्ने सुझाव दिर्दै आएको छ।   

उहाँले भन्नुभयो, “नेपालमा सूर्तीजन्य पदार्थको कर न्यून छ। नेपालमा अर्थतन्त्र बिग्रिएको बेला कर बढाएमा क्यान्सर रोगको उपचारमा सहज हुनुका साथै सूर्तीजन्य प्रदार्थको सेवनमा पनि कमी आउछ।”

सूर्तीजन्य पदार्थ नखाएर स्वास्थ्य जोगिने र खाए राज्यको कर बढ्ने उहाँको भनाइ छ। साथै मन्त्री बस्नेतले स्वास्थ्य बिमालाई प्रभावकारी बनाउँदै लैजाने बताउनुभयो। उहाँले भन्नुभयो, “स्वास्थ्य बिमामा एकरुपता छैन। बिमा गरेकालाई दोस्रो दर्जाका रुपमा हेरिएको गुनासो सुनिएको छ। यसलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर सम्बन्धित निकायसँग छलफल गरिरहेको छु।”

मन्त्री बस्नेतले स्वास्थ्यको बजेटको सिलिङ ४० प्रतिशत बजेट घटेको बताउँदै आफू मन्त्रालय आएदेखि बजेट बढाउन पहल गरेको दाबी गर्नुभयो। 

उहाँले भन्नुभयो, “सरुवा रोगमा विदेशी संस्थाले पनि सहयोग गर्दै आएको छ। तर, नसर्ने रोगको लागि आफ्नै बजेट मिलाउनुपर्ने भएपछि स्वास्थ्यको बजेट घट्दा कार्यक्रमम संचालन गर्न गाह्रो हुन्छ।”  

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।