• १२ वैशाख २०८१, बुधबार

काठमाडौँका विद्यालयमा ‘पुस्तकविहीन शुक्रबार’

blog

काठमाडौँ, वैशाख १३ गते । शुक्रबारदेखि काठमाडौँ महानगरपालिकाभित्रका सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीले पाठ्यपुस्तक नलिई विद्यालय जान पाउने भएका छन्। हरेक शुक्रबार विद्यार्थीले पाठ्यपुस्तकमा समेटिएकोभन्दा फरक विषय अध्ययन गर्न पाउनेछन्। नयाँ विषयको सिकाइले विद्यार्थीलाई दैनिक जीवनमा आइपर्ने घरायसी समस्या समाधान गर्न सक्षम बनाउनेछ। 

महानगरपालिकाले यसलाई ‘पढाइमा सीप’ कार्यक्रम नामाकरण गरेको छ। यस कार्यक्रमअन्तर्गत कक्षा ९–१२ मा अध्ययनरत विद्यार्थीलाई विभिन्न १० वटा विषयमा आधारित रहेर सीपमूलक शिक्षा प्रदान गरिनेछ। पहिलो वर्ष कक्षा ९ मा यस्तो तालिम सञ्चालन गरिनेछ। यस दिन अन्य कक्षाका विद्यार्थीलाई भने शिक्षकले पढाइको सट्टा विषयगत रूपमा रचनात्मक क्रियाकलापमा सहभागी गराउनुपर्नेछ। 

कक्षा ९ का विद्यार्थीलाई लक्षित गरेर ल्याइएको पढाइमा सीप कार्यक्रमअन्तर्गत ९० घण्टाको तालिम प्रदान गरिनेछ। कृषि, हाउस वायरिङ, सौन्दर्य, मोबाइल तथा इलेक्ट्रिोनिक्स, काठसम्बन्धी तालिम, अतिथि सत्कार, प्लम्बिङ, फेसन डिजाइनलगायतका तालिम उपलब्ध गराइनेछ। कामपाले यी विषयका प्रशिक्षक विद्यालयलाई उपलब्ध गराउनेछ। 

महानगरपालिकाभित्र माध्यमिक तहको पढाइ हुने ५९ वटा सामुदायिक विद्यालय छन्। जसमध्ये यस वर्ष ५६ वटा विद्यालयमा यो कार्यक्रम सञ्चालन हुनेछ। तीनवटा विद्यालय भने प्राविधिक समस्याका कारण छनोटमा पर्न नसकेको महानगरपालिकाका उपप्रमुख सुनीता डङ्गोलले बताउनुभयो। 

काठमाडौँ महानगरपालिकाका नगरप्रमुख बालेन्द्र साहले बजारमा अत्यधिक माग भएका र धेरैजसो नागरिकको घरमा प्रयोग हुने सीपलाई आधार मानेर यी विषय छनोट गरिएको जानकारी दिनुभयो। उक्त कार्यक्रमको घोषणा गर्न सोमबार आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, “यस्ता सीप सिकाउने विषय गुरुकुल शिक्षामा पनि थियो। तर हामीले त्यसलाई बिर्सेर विदेशी शिक्षाको अनुशरण ग¥यौँ। यसरी अनुशरण गर्दा आधा मात्रै सिक्यौँ, जसले यता न उताको बनायो।”

त्रिपुरेश्वरस्थित विश्वनिकेतन माध्यमिक विद्यालयका प्रधानाध्यापक हेरम्बराज कँडेलले महानगरपालिकाले सुरुवात गरेको यो कार्यक्रम उत्कृष्ट रहेको बताउनुभयो। उहाँले कार्यक्रममा भन्नुभयो, “घरमा धाराको टुटी वा पाइप भाँचियो भने पनि एक÷डेढ हजार रुपियाँ तिरेर बनाउनुपर्ने हुन्छ। यस्तो सीप विद्यार्थीलाई उपलब्ध गराउँदा आर्थिक बचत हुनुका साथै हातमा सीप हुने अवस्था रहन्छ।” बाफलस्थित ज्ञानोदय माध्यमिक विद्यालयका छात्रा रिजवी शर्माले महानगरपालिकाले सुरुवात गरेको यस कार्यक्रमबाट घरमा आइपर्ने सानो समस्या समाधानका लागि अरूको भर पर्नुपर्ने अवस्थाको अन्त्य हुने बताउनुभयो। 

यस कार्यक्रमका लागि दुई करोड रुपियाँ बजेट छुट्ट्याइएको महानगरपालिकाका शिक्षा सल्लाहकार रेशु अर्यालले बताउनुभयो। यो कार्यक्रम यस वर्ष यही आर्थिक वर्षभित्रमा सकिसक्नुपर्ने पनि महानगरपालिकाले जनाएको छ। तर, ढिलो सुरुवात भएको र छोटो समयमै सम्पन्न गर्नुपर्ने हुनाले कार्यक्रमको प्रभावकारिताको विषयमा भने विद्यालयले शङ्का व्यक्त गरेका छन्। 

  

Author
सूर्यप्रसाद पाण्डे

उहाँ शिक्षा र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।