काठमाडौँ, कात्तिक २२ गते । लागुऔषधको कुलतमा फस्नेमा १५ देखि २५ वर्ष उमेर समूहका युवा रहेको पाइएको छ । लागुऔषध कुलतले परिवार र समाजलाई नै आक्रान्त पार्न थालेपछि रोकथामका लागि सामूहिक प्रयास आवश्यक देखिएको हो ।
पछिल्लो पाँच वर्षमा लागुऔषध कारोबार, ओसारपसार र प्रयोग गुणात्मक रूपमा वृद्धि भएको पाइएको छ । आव २०७६/७७ मा लागुऔषध कारोबार र ओसारपसारमा संलग्न चार हजार ५४६ जना पक्राउ परेकामा १४९ जना विदेशी रहेका थिए । उनीहरूको साथबाट गाँजा, चरेस, हेरोइन, अफिम, कोकिनलगायत तीन लाख ३५ हजार ७१० थान फर्मास्युटिकल ड्रग्स बरामद गरेको थियो ।
गत आव २०८१/८२ मा लागुऔषध कारोबारमा संलग्न पक्राउ पर्नेका सङ्ख्या करिब सात हजार र ४० लाख थान फर्मास्युटिकल ड्रग्स बरामद भएको थियो ।
लागुऔषध कारोबार बढ्दै जाँदा अधिकांश युवा पुस्ता नै दुव्र्यसनको सिकार बनिरहेको विभिन्न अध्ययन र अनुसन्धानले देखाएको छ । सरकारी तथ्याङ्क अनुसार नेपालमा लागुऔषधको प्रयोगकर्ताको सङ्ख्या एक लाख ३४ हजार रहेको देखिए पनि सात लाखभन्दा बढी नेपाली लागुऔषधको प्रयोगकर्ता रहेको दाबी विभिन्न गैरसरकारी संस्थाले गर्दै आएका छन् ।
लागुऔषध नियन्त्रण प्रभावकारी बनाऔँ : गृहमन्त्री
गृहमन्त्री ओमप्रकाश अर्यालले लागुऔषधको प्रयोग, ओसारपसार र कारोबार नियन्त्रणका लागि अझै प्रभावकारी ढङ्गले काम गर्न निर्देशन दिनुभएको छ ।
लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको शुक्रबार अनुगमनका क्रममा मन्त्री अर्यालले लागुऔषधको बढ्दो ओसारपसार, कारोबार तथा प्रयोगलाई निरुत्साहित गर्ने गरी थप प्रभावकारिता अपनाउन आग्रह गर्नुभएको हो । उहाँले लागुऔषध कारोबार र ओसारपसारमा विभिन्न गिरोहले सङ्गठित रूपमा तस्करीको सञ्जाल विस्तार गर्ने भएकाले त्यसको प्रभावलाई नै रोकथाम गर्ने गरी आवश्यक सुरक्षा रणनीति बनाउनुपर्ने बताउनुभयो । मन्त्री अर्यालले भन्नुभयो, “लागुऔषध मुलुकको समस्याकै रूपमा देखा परेको छ । यसको रोकथामका लागि भइरहेको प्रयास सकारात्मक छन् । यसलाई अझ प्रभावकारी बनाउने गरी अघि बढ्नु जरुरी छ ।”
मन्त्री अर्यालले लागुऔषध ओसारपसार र कारोबार नियन्त्रणका लागि आवश्यक स्रोतसाधन सीमित रहेको अनुभव आफूले गरेको बताउँदै गृह मन्त्रालयले आवश्यक सबै स्रोतसाधान र प्रविधि उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सो अवसरमा लागुऔषध नियन्त्रण ब्युरोका प्रमुख कृष्णप्रसाद कोइरालाले लागुऔषधको प्रयोग वृद्धि हुँदा कारोबार र ओसारपसार बढ्दै गएको र नियन्त्रणको प्रयास भइरहेको जानकारी दिनुभयो । उहाँले लागुऔषध नियन्त्रण ब्युरोसँग आवश्यक जनशक्ति र स्रोतसाधनसमेत सीमित रहेको बताउनुभयो ।