• २२ कात्तिक २०८२, शनिबार

त्रिवि सुधारको योजना : पाठ्यक्रम परिमार्जन पहिलो प्राथमिकता

blog

काठमाडौँ, कात्तिक २२ गते । त्रिभुवन विश्वविद्यालयले विश्वविद्यालयको समग्र शैक्षिक, प्रशासनिक तथा आर्थिक अवस्था सुधारका लागि गृहकार्य सुरु गरेको छ । मुलुकको बदलिँदो राजनीतिक परिस्थिति र समयानुकूल त्रिवि सुधार गर्नुपर्ने बजारको मागलाई समेत ध्यानमा राखेर विश्वविद्यालयले तयारी गरेको हो । विश्वविद्यालयले  स्नातक तहको पाठ्यक्रम सुधारलाई पहिलो प्राथमिकता दिएको छ । कम्तीमा स्नातक तह उत्तीर्ण हुँदा विद्यार्थी रोजगार बजारमा बिक्न सक्ने गरी पाठ्यक्रम परिमार्जन गर्न लागिएको त्रिविले जनाएको छ । 

विश्वविद्यालयका उपकुलपति प्राडा दीपक अर्यालले भन्नुभयो, “कम्तीमा पनि भारतको उत्कृष्ट विश्वविद्यालय सरहको पाठ्यक्रम बनाउने गरी अघि बढेका छौँ ।” अब बन्ने पाठ्यक्रम एक वर्षभित्रमा कार्यान्वयनमा ल्याउने गरी योजना बनाइएको उपकुलपति अर्यालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अबको केही दिनमा कम्तीमा पनि चार/पाँच दिन भूमिगत रूपमै बसेर कोर्स डिजाइनमा लाग्छौँ । हेरौँ, कति सकिन्छ ।” त्रिविले नयाँ पाठ्यक्रम निर्माणसँगै स्नातक तहका सम्पूर्ण सङ्काय तथा विषयलाई सेमेस्टर प्रणालीबाट पढाइ सञ्चालन गर्ने तयारी गरेको छ । 

अहिले स्नातकोत्तर तहका अधिकांश पढाइ सेमेस्टर प्रणालीबाट हुँदै आएको छ ।  स्नातक तहमा भने केही सङ्काय र विषयका पढाइ मात्रै सेमेस्टर प्रणालीबाट हुँदै आएको छ । “अब हाम्रो जोड स्नातक तहका सबै पढाइ सेमेस्टर प्रणालीमा लैजानेतर्फ रहेको छ,” उपकुलपति अर्यालले भन्नुभयो, “तर हाल चारबर्से रहेको स्नातक तहलाई तीन वर्षमा झार्ने विषयमा भने कुनै योजना नबनाएको त्रिविले जनाएको छ । 

पछिल्लो समय नेपालका विश्वविद्यालयबाट उत्तीर्ण विद्यार्थीमा बेरोजगार दर बढेपछि कक्षा १२ उत्तीर्ण हुनेबित्तिकै बिदेसिने क्रम बढेको छ । अझ स्नातक तहलाई चारबर्से बनाइएपछि झन् विद्यार्थी थप मर्कामा परेका छन् । समयमै पढाइ, परीक्षा सञ्चालन र नतिजा प्रकाशन हुन नसक्दा कहिलेकाहीँ चारबर्से स्नातक तह पूरा गर्न पाँच वर्षसम्म लाग्ने गरेको छ । मुलुकको बदलिँदो पस्थिति अनुसार यी सबै विषयलाई ध्यानमा राखेर त्रिविले पाठ्यक्रम परिमार्जनलाई प्राथमिकता दिएको हो । 

विश्वविद्यालय सुधारको विषयमा पदाधिकारीले सहकुलपतिसमेत रहनुभएका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनसँग समेत छलफल गरिसकेका छन् । शिक्षामन्त्रीमा नियुक्त भएपछि मन्त्री पुनले पनि त्रिविलाई सुधारका लागि गर्नुपर्ने योजना तत्काल ल्याउन विश्वविद्यालयका पदाधिकारीलाई निर्देशन दिनुभएको थियो । मन्त्री पुनले विश्वविद्यालयमा अनुसन्धानलाई  प्राथमिकता दिन जोड दिनुभएको छ । 

मुलुककको सबैभन्दा ठुलो र पुरानो भएको हुनाले मुलुकभरका सबै विश्वविद्यालयमा उच्च शिक्षामा अध्ययन गर्न भर्ना भएकामध्ये ८० प्रतिशतभन्दा बढी विद्यार्थीको भार त्रिविले धानिरहेको छ । 

त्रिवि सभा मङ्सिर १० मा त्रिभुवन विश्वविद्यालयले आगामी मङ्सिर १० गते विश्वविद्यालय सभा (सिनेट) को बैठक आयोजना गरेको छ । सभा सञ्चालनका लागि विश्वविद्यालयका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री सुशीला कार्कीसँग अनुमति लिइसकिएको छ । सभाले विश्वविद्यालयसँग सम्बन्धित नीति तथा कार्यक्रम पारित गर्ने बताइएको छ । जेनजी आन्दोलनको बलमा सरकार गठन भएपछि पहिलो पटक सिनेटको आयोजना गरिएको हो । सिनेटले बदलिँदो परिस्थित अनुसार विश्वविद्यालयसँग सम्बन्धित महत्वपूर्ण नीतिगत निर्णय गर्ने अनुमान गरिएको छ ।

  

Author
सूर्यप्रसाद पाण्डे

उहाँ शिक्षा र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।