राजकुमार भट्टराई
खोटाङ, कात्तिक २२ गते । जेनजी आन्दोलनको क्रममा हिरासतबाट फरार भएका एक व्यक्ति खोटाङमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा खोटाङको जन्तेढुङ्गा गाउँपालिका–६, केराबारीका २३ वर्षीय प्रबिन मगर रहेका छन् ।
जबरजस्ती करणीको मुद्दामा अनुसन्धानमा रहेका मगर भदौ २४ गतेको जेनजी आन्दोलनको क्रममा काभ्रे जिल्लास्थित बनेपा इलाका प्रहरी कार्यालयको हिरासतबाट फरार भएका थिए । फरार भएको करिब २ महिनापछि प्रहरीले पक्राउ गरेको हो ।
काभ्रे हिरासतबाट फरार भएका मगर आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा इलाका प्रहरी कार्यालय चिसापानीले कात्तिक २० गते पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
मगरलाई थप कारबाहीका लागि बनेपा इलाका प्रहरी कार्यालयबाट आएको प्रहरी टोलीलाई कात्तिक २२ गते जिम्मा लगाएर पठाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख (डिएसपी) प्रकाश बुढाथोकीले बताउनुभयो ।