• ४ जेठ २०८१, शुक्रबार

अनधिकृतरुपमा सालको गोलिया बिक्री

blog

सालको गोलियालाई टुक्रा पारेर बनाइएका दाउरा आकारको काठ । तस्बिर : यादवराज पुरी

यादवराज पुरी

रौतहट, वैशाख ६ गते । डिभिजन वन कार्यालय रौतहटका एक अधिकृतले रेलमार्गमा कटान भएको सालको गोलियालाई अनधिकृतरुपमा दाउरा आकारको काठ बनाई बिक्री गरेको खुलेको छ । सब-डिभिजन वन कार्यालय चेतनगरका सहायक वन अधिकृत बालकिशोर सिंहले आफूखुसी सो कार्य गर्नुभएको हो । 

उहाँले सालको चार फिट चार इन्च मोटाई र १८ फिट लम्बाई रहेको गोलियालाई तीन फिटको छ टुक्रा बनाई अनधिकृत लाभ लिएर बिक्री गरेको पाइएको छ । दुई दिनअघि वृन्दावन साझेदारी वन क्षेत्रस्थित रेलमार्गमा परेको सो सालको गोलिया रेलमार्गका ठेकेदारले घाटगद्दी गर्ने तयारी गर्दैगरेका थिए । 

सहायक वन अधिकृत सिंहले गोलियालाई दाउरा काठको आकारमा टुक्रा पार्न लगाएर वृन्दावन नगरपालिका हर्षाहामा रहेको चिरान मिलमा बिक्री गरेको कार्यालयले जनाएको छ  । काठ विक्रीको जानकारी पश्चात् वन प्रमुख सुनिलकुमार कर्णले फिर्ता ल्याउन निर्देशन दिनुभएको छ ।

छ थान काठमध्ये पाँच थान मात्रै फिर्ता भएको र एक थान गायब गरिएको सो कार्यालयले जनाएको छ । यद्यपि सहायक वन अधिकृत सिंहउपर अझै केही कारबाही भएको छैन । पूर्व– पश्चिम रेलमार्ग अन्तर्गत चन्द्रपुर नगरपालिका मरधरदेखि बागमतीसम्मको ११ किलोमिटर ट्र्याक खोल्नेक्रममा ट्र्याकमा परेका रुख कटान भइरहेको छ । 

काटिएका रुखका हाँगाप्रति ट्र्याक्टर तीन हजार रुपियाँ राजश्व लिएर विक्री हुँदैआएको छ । तर सहायक वन अधिकृत सिंहले ट्र्याक्टरमा ‘ओभरलोड’ गर्न लगाई प्रतिट्र्याक्टर १२ हजार रुपियाँसम्म असुलेको आरोप लागेको छ । कटान भएका गोलिया काठ सशस्त्र वन रक्षक कार्यालय परिसरमा र दाउरा भने सब-डिभिजन कार्यालय जुडिबेलामा घाटगद्दी गरिएको छ । 

घाटगद्दीका लागि लैजानुपर्ने काठ चिरान मिलमा लगिएको बताउँदै वन प्रमुख कर्णले भन्नुभयो, “सहायक वन अधिकृत सिंहले गर्नुभएको काम गैरकानुनी ठहरिएमा कारबाही गरिनेछ ।”