• १२ पुस २०८१, शुक्रबार

पढ्ने रहर

blog

प्रनिसा रेग्मी

कक्षाः ५

इपीएस स्कुल, मीनभवन

 म बाबाममीसँग शनिबारको दिन पशुपतिनाथको दर्शन गर्न गएको थिएँ । मेरो सानी बहिनी पनि हामीसँगै गएकी थिइन् । पशुपतिनाथ मन्दिरमा मानिसको भीड थियो । बाँदरहरू पनि धेरै थिए । प्रहरीदाइले लाइनमा लागेका मानिसलाई पालैपालो पूजा गर्ने व्यवस्था मिलाइदिनुभएको थियो । म पनि बाबाममीसँगै पशुपतिनाथको दर्शन गरेर फर्किएँ । पुरानो बानेश्वर चोक पुगेपछि मेरो बहिनीले जुस पिउने कुरा गरिन् । अनि बाबाले हामी सबैलाई चोकनजिकैको पसलमा लग्नुभयो । जुस पसलमा एउटा सानो भाइ पनि थियो । मेरो बाबाले ति भाइसँग कुराकानी गर्न थाल्नुभयो । 

म घर पुगेपछि पनि मैलेँ तिनलाई सम्झिरहेँ । बाबाले ति भाइसँग गरेको कुराकानीअनुसार तिनकोनाम गोलुकुमार रहेछ । तिनको उमेर १२ वर्षको रहेछ । गोलुकुमार तीन महिना अघि आफ्नो गाउँको दाइसँग मधेश प्रदेशबाट काठमाडौँ आएका रहेछन् । यता जुस पसलमा काम गरेर कमाएको पैसाबाट केही जोगाएर गाउँ पठाउने गर्दा रहेछन् । राति पनि पसलमै सुत्ने रहेछन् ।

गोलुकुमारले स्कुल जान पाएनछन् तर पैसाको हिसाबकिताब भने मजाले गर्ने रहेछन् । अलि ठूलो भएपछि उनको विदेश जाने सोच रहेछ । उस्तै 

उमेरकी मलाई आफ्नै कामसमेत गर्न आउँदैन तर स्कुल जाने, खेल्ने यति सानो उमेरमा गोलुकुमार भने पसलमा काम गरेर आफ्नो परिवारलाई समेत खर्च पठाइरहेका छन् । सायद यो सहरमा धेरै गोलुकुमार छन् होला । जसले स्कुल जान पाएका छैनन् ।

खेल्ने उमेरमा काम गर्न बाध्य छन् ।आफ्नो 

आमाबुवा र गाउँबाट टाढा छन् । उनीहरू गाह्रो काम गरिरहेका छन् । राम्रोसँग खान, बस्न पनि पाएका छैनन् । पढ्ने, लेख्ने उमेरमा यस्तो काम गर्न बाध्य बालबालिकाको भविष्य के होला ? यसबारे सबै चिन्तित हुनु पर्दछ । हामीले बाल अधिकारका बारे पनि कुरा गर्छौं । आजका बालबालिकाले सही अवसर पाए भने भोलिका दिनमा देशकै लागि योगदान दिन सक्दछन् । 

अहिले उपयुक्त वातावरण नपाएमा भोलि उनीहरूको भविष्य बिग्रन सक्दछ । यसबाट देशलाई समेत नोक्सानी हुन्छ । त्यसैले बालबालिकालाई पढ्न लेख्न, खान, बस्न र उनीहरूले चाहेको काम गर्न दिनु पर्दछ । यो उनीहरूको अधिकार पनि हो । बाल अधिकारमा चासो राख्न र उनीहरूलाई पढ्ने, लेख्ने वातावरण मिलाइदिन म सबैमा अनुरोध गर्दछु । á