गोरखापत्र अनलाइन
काठमाडौं, मंसिर ८ गते । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीको ११ औं महाधिवेशनले युवा पङ्तिलाई नेतृत्वमा ल्याउन स्पष्ट आरक्षणको व्यवस्था गर्न लागेको बताउनुभएको छ । पार्टी प्रचार तथा प्रकाशन विभागले आयोजना गरेको महाधिवेशन केन्द्रित प्रचार रणनीतिसम्बन्धी आजको बैठकमा महासचिव पोखरेलले सो कुरा बताउनुभएको हो ।
पोखरेलले मंसिर २७ गते प्रतिगामी कदमविरुद्धको ‘क्लाइमेक्स दिन’ का रुपमा रहने पनि दाबी गर्नुभयो । त्यस्तै, उहाँले आगामी महाधिवेशनले ५० प्रतिशत महिलालाई नेतृत्वमा ल्याउने नीतिसाथ अघि बढ्ने पनि बताउनुभयो । महाधिवेशनले लोकतन्त्रको सुनिश्चत्ताका लागि प्रतिगामी कदमलाई निस्तेज पार्न स्पष्ट सन्देश दिने पनि बताउनुभयो ।
पोखरेलका अनुसार एमालेले मंसिर २७ गते हुने उद्घाटन सत्रमा जनसहभागिता जुटाउनका लागि मुख्यतः बागमती, गण्डकी र मधेस प्रदेशमा व्यापक रुपमा जनपरिचालन गरिने बताउनुभयो।
एमालेले प्रतिनिधी चयनदेखि नेतृत्व चयनसम्म लोकतान्त्रिक विधि अपनाउने पोखरेलको भनाइ छ । ‘पार्टीले नीतिमा छलफल नगरी नेतृत्वमा मात्र छलफल गर्ने तयारी गरेको छ भनेर पार्टीभित्रकै केही साथीहरुले भनेको सुन्छु’ महासचिव पोखरेलले भन्नुभयो, ‘नीतिका बारेमा हामीले भदौ २० देखि २२ गतेसम्म आयोजना गरेको विधान महाधिवेशनमा पर्याप्त छलफल गरेका छौं । त्यसैले अहिले नेतृत्वको बारेमा मात्रै छलफल र निर्णय हुन्छ ।’
पार्टी तथा नेतृत्वलाई धेरैतिरबाट प्रहार भइरहेकाले त्यसलाई रोक्नका लागि सबै एकजुट हुन उहाँले आग्रह गर्नुभयो । महासचिव पोखरेलले नेतृत्वविरुद्ध हुन सक्ने जस्तोसुकै प्रहारको सामना गर्न पार्टी एक ढिक्का हुनुको विकल्प नरहेको बताउनुभयो ।
बैठकमा उपमहासचिव प्रदीप ज्ञवालीले आगामी महाधिवेशनले देश र जनताको पक्षमा स्पष्ट सन्देश दिनेगरी तयारी भइरहेको बताउनुभयो । महाधिवेशन सफल पार्न पार्टीका नेता कार्यकर्ता तथा शुभेच्छुुक सबैको हातेमालोको खाँचो उहाँले औल्याउनुभयो ।
स्थायी कमिटी सदस्य तथा प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले महाधिवेशनको प्रचार योजनाको खाका प्रष्तुत गर्नुभएको थियो । सो अवसरमा प्रचार कमिटीका सदस्य तथा प्रेस चौतारी नेपालमा आवद्ध पत्रकारको सहभागिता थियो ।