अमरराज नहर्की
तनहुँ, मङ्सिर ९ गते । ऐतिहासिक र पर्यटकीय सहर बन्दीपुरमा पर्यटकको घुइँचो लागेको छ । दैनिक हजारौं आन्तरिक पर्यटकको आगमनले यहाँका होटल, होमस्टे र बजार क्षेत्र खचाखच भरिएको छ ।
बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाका अनुसार दर्जनौँ शैक्षिक भ्रमण टोली आइरहेका छन् । थापाले भन्नुभयो, ‘‘होटल र होमस्टेहरू भरिएका छन्, स्थानीय व्यापारी र पर्यटन व्यवसायी उत्साहित छन् ।”
तनहुँ उद्योग वाणिज्य सङ्घ, बन्दीपुर बजार एकाइका सभापति घनश्याम उपाध्यायले पर्यटकको आगमनले व्यवसायीमा नयाँ उत्साह थपेको बताउनुभयो । उपाध्यायले “विद्यार्थी र घुम्न आएका स्वदेशी तथा विदेशी पर्यटकले यहाँका सबै होटल भरिएका छन् ।’’
पोखरा, चितवन, काठमाडौँ, गोरखा, लमजुङ र बुटवलका विद्यालय र कलेजहरूले बन्दीपुरलाई शैक्षिक भ्रमणको प्रमुख गन्तव्यका रूपमा रोज्न थालेका छन् । यहाँको ऐतिहासिक बजार, पुराना घर–आवास, सांस्कृतिक परम्परा र प्राकृतिक सौन्दर्यले आगन्तुकलाई मौलिक अनुभव प्रदान गर्दछ ।
बन्दीपुरको होमस्टे, रेस्टुरेन्ट, हस्तकला पसल, पदमार्ग र पर्व–उत्सवले पर्यटकलाई थप आकर्षित गरेको छ । हिमशृङ्खला, दक्षिण एसियाकै ठुलो सिद्ध गुफा, भक्तपुर शैलीका पुराना घर, टुँडिखेल, थानीमाई, रानीवन, रामकोट, सुनखरी, खड्देवी, विन्ध्यवासिनी र महालक्ष्मी मन्दिर, प्याराग्लाइडिङ र चट्टान आरोहणजस्ता पर्यटकीय आकर्षणले बन्दीपुरको लोकप्रियता बढाएको छ ।