एकिन्द्र तिमिल्सेना
टीकापुर, मङ्सिर ८ गते । ‘शौचालय भरिएको छ, हामीलाई शौच गर्न गाह्रो हुन्छ, शौचालय कहिल्यै सफा हुँदैन । ढोकामा प्वाल परेको छ । चुकुल छैन, केटाहरु छात्रा शौचालयमा पसेर जे पायो त्यही लेख्छन् । शिक्षकलाई भने पनि समस्या समाधान हुँदैन’ टीकापुर नगरपालिकाका जनप्रतिनिधिका अगाडि विद्यालयको बारेमा एक बालिकाले यो गुनासो पोख्नुभयो ।
नगरप्रमुख रामलाल डगौरा थारुले विद्यालयका सबै आवश्यकता पूरा गर्न आफू तयार रहेको भए पनि यस्ता समस्या विद्यालय प्रशासनले हेर्नुपर्ने बताउनुभयो । विद्यालयमा यस्ता समस्याहरु बालबालिकाले दैनिक रुपमा आफ्ना शिक्षक र अभिभावकलाई सुनाइरहन्छन् ।
शिक्षक अभिभावकहरु यस्ता गुनासालाई सामान्य रुपमा लिन्छन् । सामान्य रुपमा लिइने यी विषयहरुले बालबालिकाको दैनिकीलाई नराम्ररी प्रभावित गरिरहेको अभिभावकको भनाइ छ । विद्यालयमा शिक्षक र बालबालिकाका छुट्टै शौचालय छन्, त्यसैले शिक्षक कहिल्यै बालबालिकाको शौचालय हेर्दैनन् ।
बालबालिकाको सङ्ख्याअनुसार खानेपानीका धारा हुँदैनन् । ‘विद्यार्थी हिँड्ने सडकमा खाल्डो परेर पानी जमेको हुन्छ, चालकले च्यापेरै हिँड्दा हिलो छ्यापेर जान्छ लुगा फोहोर भएपछि घर फर्किनुपर्छ’ कर्णाली माविका कक्षा १२ का छात्रा रुपा चौधरी भन्नुहुन्छ, ‘केटीहरु पेट दुखेर बेहोस हुन्छन्, कक्षा कोठा खाली छन् छुट्टै आराम गर्ने कक्ष बनाएको छैन ।’
बालिकाहरुका समस्याबारे शिक्षकहरु पनि जानकार छन् । राष्ट्रिय आधारभूत विद्यालय सूर्यपुरका शिक्षक बुधनी चौधरी पुग्दो शौचालय नभएको र नल्काबाट पानी तान्दा बालुवा आउनेगरेको बताउनुभयो । शौचालय सरसफाइ अभावमा सङ्क्रमण हुने, महिलाको पेट दुख्ने समस्या छ, राष्ट्रिय मावि मनिकापुरका शिक्षक यशोदा तिमिल्सिना भन्नुहुन्छ, ‘शौचालयसँगै स्यानिटरी प्याड विसर्जन गर्ने व्यवस्था नहुँदा कि त टाढा जानुपर्छ कि साँझ घरै गएर फेर्नुपर्छ ।’
बालबालिका समस्यालाई समयमै निराकरण गरिएन भने बालिकाको दैनिकी बिथोलिने र असल कुरा नसिकाए बालकहरु बिस्तारै हिंस्रक स्वभावको हुनेगरेका छन् । साना हुँदा ख्याल नगरिने यस्ता विषयपछि बालबालिका, अभिभावक र समाजका लागि ठुलो असर गर्न सक्छ, सुदूरपश्चिम विश्वविद्यालयका पाठ्यक्रम तथा मनोविज्ञान विषयमा सहप्राध्यापक डा. नाथुराम चौधरी भन्नुहुन्छ, ‘बालबिझ्याँइ गर्ने बालकका अभिभावकले समयमै असल व्यवहार सिकाउनुपर्छ, प्रधानाध्यापक र शिक्षकले विद्यालयमा आएका समस्यालाई प्राथमिकतामा राखी सूक्ष्म रुपले विश्लेषण गरी आवश्यक परे मनोपरामर्श दिनुपर्छ, यस्तो समस्या देशका धेरैजसो विद्यालयमा हुनसक्छ ।’
टीकापुर नगरपालिकाको महिला बालबालिका तथा समाजकल्याण उपशाखा प्रमुख सङ्गीता शाह नगरपालिकामा लैङ्गिकमैत्री नीति बनिसकेकाले लैङ्गिकमैत्री संरचना बनाउन जोड दिइएको र विद्यालयमा पनि जेसी फोकल पर्सन राख्ने तयारी भइरहेको बताउनुहुन्छ ।