• ९ मंसिर २०८२, मङ्गलबार

हुलाकी राजमार्गको खजुरा र गुलरिया खण्ड बन्ने

blog

बाँकेको खजुरामा आठ वर्षदेखि निर्माणाधीन चार लेन सडक । तस्बिरः गोविन्द शर्मा

गोविन्द शर्मा 

बाँके, मङ्सिर ९ गते । आठ वर्षअघि निर्माण सुरु भई अधुरो र जीर्ण अवस्थामा रहेको बाँकेको खजुरा बजारको एक हजार ८०० मिटर चार लेन सडक निर्माण हुने भएको छ । 

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगन्जका प्रमुख डिभिजनल इन्जिनियर लिलाबहादुर भण्डारीले पुरानो निर्माण व्यवसायीबाट काम सम्पन्न हुने अवस्था नदेखिएपछि स्थानीय बासिन्दा, जनप्रतिनिधी र गाउँपालिकाको मागको आधारमा नयाँ ठेक्का आह्वान गरिएको जानकारी दिनुभयो । 

सडक निर्माणका लागि योजना कार्यालयले यसअघि लागत स्टिमेटसहित निर्देशनालयमा पेस गरिएकोमा ठेक्का आव्हान भएको हो । खजुरा बजार छाडेर नेपालगन्ज–गुलरिया सडक विस्तार गरिएको र खजुरास्थित पेडारी नालामा चार लेनको पुल निर्माण प्रक्रिया अघि बढेपछि अलपत्र सडक निर्माणमा हुलाकी सडक आयोजनाले चासो देखाएको हो । 

खजुरा खण्डमा करिब १० करोडको लागतमा सडकको बाँकी रहेको काम सम्पन्न हुने गरी ठेक्का आह्वान भएको छ । भण्डारीले भन्नुभयो, “बाँकेको खजुरा बजार र बर्दियाको सदरमुकाम गुलरियामा अधुरो रहेको दुई हजार २०० मिटर सडक गरी दुबै सडक नयाँ प्रक्रियाबाट काम सम्पन्न गराउन लागिपरेका छौं, स्वीकृति हुनासाथ ठेक्का आह्वान भई ६ महिनाभित्र काम सम्पन्न हुने छ ।” 

हुलाकी राजमार्गले नेपालगन्ज–गुलरिया चार लेन सडकको काम गरिरहेकाले बिचमा अलपत्र रहेको सडक पनि निर्माण गर्ने प्रक्रिया अघि बढाएको हो । नयाँ ठेक्का अनुसार असार १५ भित्र काम सम्पन्न गरिसक्नु पर्ने छ । 

सडक डिभिजन कार्यालय नेपालगन्जका अनुसार २०७४ चैत २९ गते गजुरमुखी कन्स्ट्रक्सन कम्पनी प्रालि इलामसँग बाँकेको खजुरा बजारमा एक हजार ८०० मिटर र बर्दियाको गुलरीयामा दुई हजार २०० मिटर लम्बाइको सडक निर्माणका लागि २१ करोड ४९ लाख रुपियाँमा सम्झौता भएको हो ।  

सम्झौता सुरु हुँदा २०७७ चैतमा सम्पन्न हुनुपर्ने थियो । तर पटक–पटक म्याद थप गर्दा समेत काम सम्पन्न भएन । सडक डिभिजनले ठेक्का प्रक्रिया तोडेपछि निर्माण व्यवसायी अदालत गएकोमा अदालतबाट अन्तरिम आदेश जारी नभएपछि स्थानीयको मागअनुसार हुलाकी सडक आयोजनाले सडक निर्माण कार्य अघि बढाउने चासो लिएको हो । 

स्थानीय बासिन्दा समेत रहनुभएका लुम्बिनी प्रदेश सरकारका निवर्तमान सामाजिक विकासमन्त्री रत्न खत्रीले लामो समयसम्म अधुरो रहेको सडक निर्माण कार्य फेरि अघि बढ्नु सकारात्मक भएको भन्दै निर्धारित समयमै सम्पन्न गराउन सरोकारवाला सम्बद्ध निकायले सुरुदेखि नै तदारुकता देखाउन जरुरी भएको बताउनुभयो । सबै तहका जनप्रतिनिधी र स्थानीय बासिन्दाले समेत निर्माण कार्यमा चासो दिनुपर्ने उहाँको भनाइ छ ।