• ८ मंसिर २०८२, सोमबार

छात्रवृत्ति नपाउँदा मुक्त कमलरीको पढाइ सङ्कटमा

blog

लमही नगरपालिका–३, नर्तीस्थित लावाजुनी छात्रावासमा अध्ययनरत मुक्त कमलरीहरू । तस्बिरः सन्तोष दहित

सन्तोष दहित
दाङ, मङ्सिर ८ गते ।
सरकारले मुक्त कमलरीका लागि दिँदै आएको सेवा सुविधा कटौती गरेपछि छात्रावासमा बसेर अध्ययन गर्दै आएका मुक्त कमलरीहरू अहिले बिचल्लीमा परेका छन् । अभिभावकविहीन र अतिविपन्न परिवारका मुक्त कमलरीहरू लमही नगरपालिका–३, नर्तीस्थित लावाजुनी छात्रावासमा बसेर अध्ययन गर्दै आएका छन्, तर सरकारले प्रदान गर्दै आएको सेवा सुविधा कटौती गरेपछि त्यहाँ बस्ने मुक्त कमलरीहरूलाई पढ्न र खान गाह्रो भएको मुक्त कमलरी विकास मञ्चकी केन्द्रीय अध्यक्ष हीरामोती चौधरीले जानकारी दिनुभयो ।

“छात्रावासमा रहेका बहिनीहरूलाई धेरै समस्या छ,” अध्यक्ष चौधरीले भन्नुभयो, “हाम्रो संस्थासँग स्रोत छैन, केही दातृ निकायले न्यानो कपडा र शैक्षिक सामग्री सहयोग गरे पनि रासनपानीको समस्या छ ।” उहाँको अनुसार मुक्त कम्लरीहरुले आफन्तको सहयोगमा चामल, दाल ल्याएर भए पनि छात्रावासमा बसेर अध्ययन गर्दै आएका छन् ।

विगत तीन वर्षदेखि सरकारले मुक्त कमलरीका लागि दिँदै आएको छात्रवृत्ति र छात्रावासमा बस्नेहरूको सेवा सुविधा बन्द गरेको उहाँले बताउनुभयो । यस अघि सरकारले आधारभूत तहका लागि १५०० रुपियाँ, माध्यमिक तहका लागि १८०० रुपियाँ, प्लस टुका लागि ५ हजार रुपियाँ र स्नातक तहसम्मका लागि १० हजार रुपियाँसम्म छात्रवृत्ति उपलब्ध गराउँदै आएको थियो । त्यस्तै, छात्रावासमा बस्नेका लागि मासिक चार हजार रुपियाँ सहयोग दिइन्थ्यो, तर अहिले सबै कटौती गरिएको उहाँको भनाइ छ ।

लावाजुनी छात्रावासमा बसेर अध्ययन गर्दै आएकी तुलसीपुर उपमहानगरपालिका–११, सुकौरालकी कृति चौधरी लमहीस्थित देउखुरी बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययन गर्दै आउनुभएको छ ।  “प्लस टुसम्म छात्रवृत्ति पाइयो, अहिले भने पाइँदैन,” उहाँले भन्नुभयो, “छात्रवृत्ति रोकिएपछि पढाइलाई निरन्तरता दिन कठिन भएको छ। बस्नका लागि छात्रावास भए पनि अन्य सबै खर्च आफैंले जोहो गर्नुपर्छ ।”

त्यस्तै, तुलसीपुरकी आशा चौधरीको उनी उस्तै पीडा छ ।  बीबीएस चौथो सेमेस्टरमा अध्ययनरत आशाले भन्नुभयो “सरकारले छात्रवृत्ति र छात्रावास सुविधा रोकेपछि पढाइमा समस्या परेको छ ।” उहाँको अनुसार हाल लावाजुनी छात्रावासमा १० जना मात्र बसिरहेका छन् । “चार वर्षअघिसम्म यहाँ १३१ जना विद्यार्थी अध्ययन गर्थ्याैं,’’ उहाँले भन्नुभयो, ‘‘अहिले १० जना मात्र भएका छौं ।”  

अभिभावकविहीन र आर्थिक रूपमा कमजोर मुक्त कमलरीका लागि २०६८ सालमा यो छात्रावास स्थापना गरिएको हो । तत्कालीन जिल्ला विकास समिति, प्लान नेपाल र नायफ नेपाल संस्थाको सहयोगमा दुईतले भवन निर्माण गरिएको थियो । भवनमा १४ कोठा छन् र पश्चिम तराईका मुक्त कमलरीलाई राखेर पढ्ने व्यवस्था हुँदै आएको छ । मुक्त कमलरी विकास मञ्चका अनुसार २०८० सालसम्म ६८ जना मुक्त कमलरी छात्रावासमा बस्दै आएका थिए ।

यतामुक्त कमलरीलगायत अतिविपन्न तथा सीमान्तकृत समुदायका बालबालिकाको पढाइका लागि सात करोड ५० लाख रुपियाँ बजेट छुट्याइएको लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सनाले जानकारी दिनुभयो । “म मन्त्री भएर आएपछि मुक्त कम्लरी, अतिविपन्न तथा सीमान्तकृत समुदायका बालबालिका र छात्रावासका लागि छात्रवृत्ति  छुट्याएको छु,” मन्त्री तिमिल्सनाले भन्नुभयो, “यदि मुक्त कमलरीले पाएका छैनन् भने म बुझेर पठाउने व्यवस्था गर्छु ।”

मुक्त कमलरी विकास मञ्चका अनुसार लुम्बिनी प्रदेशमा मात्र स्नातकदेखि स्नातकोत्तर तहसम्म ८५ जना मुक्त कमलरी अध्ययनरत छन् । सुदूरपश्चिम प्रदेशमा ४२ जना स्नातक तहमा अध्ययनरत छन् । यीसहित देशभर एक हजार २७४ जना मुक्त कमलरी विद्यालय तथा क्याम्पसमा अध्ययनरत छन् । लुम्बिनी प्रदेशका दाङ, बाँके, बर्दिया र सुदूरपश्चिमका कैलाली, कञ्चनपुर गरी पाँच जिल्लामा करिब १२ हजार ७६९ जना मुक्त कमलरी रहेको मञ्चले जनाएको छ ।